१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 23 May, 2025
नयाँ दिल्ली
Invalid date format o९:१o:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

भारतीय माओवादीका महासचिव मारिएको पुष्टि

आन्ध्र प्रदेशमा जन्मिएका रावको टाउकोमा एक करोड भारुको इनाम राखिएको थियो

Read Time : > 1 मिनेट
नयाँ दिल्ली
नयाँ पत्रिका
Invalid date format o९:१o:oo

तीन तहका सशस्त्र कार्यकर्ताको घेराले रावलाई जंगलमा सुरक्षा दिन्थ्यो

भारतीय कम्युनिस्ट पार्टी(माओवादी)का महासचिव नम्बाला केशव राव उर्फ वसवराजु छत्तीसगढको घना जंगलभित्र सेनासँग भएको मुठभेडमा मारिएको सरकारले बुधबार घोषणा गरेको छ । यसलाई माओवादी विद्रोहविरुद्ध भारत सरकारले वर्षौंयता हासिल गरेको सबैभन्दा महत्वपूर्ण विजय भएकाे बताइएको छ । इन्जिनियरिङ अध्ययन गरेका रावलाई मध्य भारतमा जारी विद्रोहको मेरुदण्ड मानिन्थ्यो । उनले सुरक्षा बलमाथि भएका कैयौँ ठुला आक्रमणको योजना बनाएको विश्वास गरिन्छ । तिनमा सन् २०१० मा ७६ जना सुरक्षाकर्मी मारिएका चिलतानार एम्बुस पनि समावेश छ ।

‘नक्सलवाद उन्मूलनको लडाइँमा एउटा ऐतिहासिक उपलब्धि । छत्तीसगढको नारायणपुरमा भएको एक अप्रेसनमा हाम्रा सुरक्षा बलले २७ जना खतरनाक माओवादीलाई मारेका छन्, जसमा सिपिआई–माओवादीका सबैभन्दा शीर्ष नेता तथा नक्सल आन्दोलनका मेरुदण्ड नम्बाला केशव राव उर्फ ​वसवराजु पनि समावेश छन्,’ भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले समाजिक सञ्जाल एक्समा भनेका छन् ।

‘नक्सलवादविरुद्धको लडाइँमा तीन दशकमा पहिलोपटक हाम्रो सेनाले महासचिव तहका नेतालाई मारेका हुन् । म यो ठुलो सफलताका लागि हाम्रा बहादुर सुरक्षा बल र एजेन्सीको प्रशंसा गर्छु,’ शाहले अगाडि लेखेका छन् ।  भारतका प्रधानमन्त्रीले पनि रावको हत्यापछि समाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, ‘यो उल्लेखनीय सफलताका लागि हाम्रो फौजप्रति गर्व छ । हाम्रो सरकार माओवादको खतरालाई निर्मूल गर्न र जनताको शान्ति र प्रगतिको जीवन सुनिश्चित गर्न प्रतिबद्ध छ ।’

आन्ध्र प्रदेशमा जन्मिएका रावको टाउकोमा एक करोड भारुको इनाम राखिएको थियो । उनी वारंगलको क्षेत्रीय इन्जिनियरिङ कलेजमा स्नातकोत्तर तह पढ्दै गर्दा माओवादीमा सामेल भएका थिए । सात वर्षअघि उनी सो समूहको शीर्ष पद महासचिव बनेका थिए ।

सन् २०१८ मा प्रतिबन्धित भाकपा (माओवादी)को महासचिवको रूपमा पदभार ग्रहण गरेका ७१ वर्षीय रावलाई छापामार युद्धमा विशेषज्ञ मानिन्थ्यो । तत्कालीन महासचिव ७१ वर्षीय मुप्पला लक्ष्मण राव उर्फ ​​गणपतिले आफ्नो बिग्रँदो स्वास्थ्य अवस्थाका कारण पद त्यागेपछि उनी महासचिव चुनिएका थिए । सैन्य तालिम दिने र विस्फोटक पदार्थ र बारुदी सुरुङका विशेषज्ञ मानिने रावले आफ्नो टोलीलाई परिष्कृत हतियारले सुसज्जित गरेका थिए । तीन तहका सशस्त्र कार्यकर्ताको घेराले उनलाई जंगलमा सुरक्षा दिन्थ्यो । 

रावको हत्यालाई माओवादविरुद्धको महिनौँ लामो सैन्य अभियानमा सेनाले प्राप्त गरेको सबैभन्दा ठुलो सफलताको रूपमा हेरिएको छ । यो वर्ष माओवादी र सेनाबिच भएका भिडन्तमा २०० विद्रोही मारिइसके । पछिल्लो मुठभेड नारायणपुर–बिजापुर–दन्तेवाडा जिल्ला जोडिएको बोटेर गाउँको घना जंगलमा भएको थियो, जसलाई माओवादी विद्रोहीको केन्द्र मानिन्छ । पछिल्लो समय भारत सरकारले ‘रेड करिडोर’ भनेर चिनिने माओवादीको प्रभाव रहेको क्षेत्रमा लड्न हजारौँ सेना तैनाथ गरेको छ ।

सैन्य अभियानबाहेक सरकारले माओवादी प्रभावित जिल्ला र क्षेत्रमा सडक सञ्जाल विस्तार गर्ने र शिविरहरू स्थापना गर्ने अभियान पनि सँगसँगै चलाइरहेको छ । पछिल्ला सैन्य अभियान छत्तीसगढ प्रहरीको ‘जिल्ला रिजर्भ गार्ड (डिआरजी)’ र आत्मसमर्पण गरेका पूर्वमाओवादी सदस्यले संयुक्त रूपमा सञ्चालन गरेका थिए ।