Skip This
प्रेरक प्रसंग : टल्सटोय र युवक
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ९ शुक्रबार
  • Friday, 23 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ ९ शुक्रबार o५:४७:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग

प्रेरक प्रसंग : टल्सटोय र युवक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ ९ शुक्रबार o५:४७:oo

एकपटक रुसी लेखक टल्सटोयसामु एक युवक आए र भने, ‘महाशय, तपाईं मलाई सहायता गर्नुस् । म धेरै चिन्तित छु । मसँग यतिवेला फुटेको कौडी पनि छैन ।’ टल्सटोयले उनको समस्या सुनेपछि गम्भीर हुँदै भने, ‘तिमी चिन्ता नलेऊ युवक, मेरो एउटा निकै मिल्ने साथी व्यापारी छ । उसले तिमीलाई पक्कै सहयोग गर्नेछ । ऊ मानिसको आँखा किन्ने गर्छ । तिम्रो आँखाको मूल्य उसले २० हजार दिनेछ आफ्ना आँखा बेचिहाल र राम्रो पैसा कमाऊ ।’

‘हैन, म आफ्नो आँखा बेच्न सक्दिनँ,’ सो युवकले डराउँदै भन्यो । टल्सटोयले उस्तै गम्भीर स्वरमा फेरि भने, ‘आँखा नबेच्ने भए पनि केही छैन । उसले हात पनि किन्छ । तिम्रो हातको मूल्य उसले १५ हजार त अवश्यै दिनेछ ।’ उनको भनाइ सुनेपछि सो युवकले डराउँदै टाउको अस्वीकृतिमा हल्लायो र अलि आवेशमा आउँदै भन्यो, ‘अहँ, मलाई तपाईंबाट यस्तो जवाफको आशा थिएन । मैले त तपाईंबाट निकै ठुलो सहयोगको अपेक्षा गरेर पो आएको थिएँ ।’ त्यो युवक रिसाएको देखेर पनि विचलित नभई टल्सटोयले भने, ‘मलाई तिम्रो समस्याको अनुभूति छ, यसैले म भन्दै छु तिम्रा लागि यस्तो सौदा धेरै राम्रो हुनेछ । यदि तिमीलाई सम्पन्न बन्नु छ भने एक लाख रुपैयाँ लिएर आफ्नो सारा शरीर बेचिदेऊ । सधैँका लागि समस्याबाट छुट्कारा मिल्नेछ ।’

‘एक लाख त के म एक करोडमा पनि आफ्नो अमूल्य शरीर बेच्दिनँ,’ सो युवकले चिच्याउँदै भन्यो । टल्सटोयले मुस्कुराउँदै भने, ‘जुन मानिसले आफ्नो शरीर एक करोडमा पनि बेच्न सक्दैन, त्यो मानिस आफूसँग केही छैन भन्दै छ । यो सम्पूर्ण शरीर नै त हो हाम्रो सम्पत्ति । मिहिनेतले सुनचाँदी त के चन्द्रसूर्य नै तिम्रो हातमा आउन सक्छ ।’ त्यो युवकले बल्ल टल्सटोयको भनाइको रहस्य बुझ्यो र भन्यो, ‘म तपाईंप्रति आभारी छु । आज तपाईंले मेरा आँखा खोलिदिनुभयो ।’