
नेपालका पूर्वनम्बर एक गल्फर शुक्रबहादुर राईले मंगलबार सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन एकल अग्रता लिएका छन् । शुक्रले समग्रमा ६ अन्डर १३० स्कोर गर्दै दिनेश प्रजापतिलाई १ स्ट्रोकले पछि पारे । ५ अन्डर १३१ स्कोरका साथ दिनेश दोस्रो स्थानमा उक्लिए । भेट्रान प्रो रामे मगर र पहिलो दिन शीर्ष स्थानमा रहेका भुवनकुमार रोका ३ अन्डर १३३ स्कोरका साथ तेस्रो स्थानमा छन् । भुवनले खराब प्रदर्शन गर्दै ४ ओभर ७२ स्कोर गरी दोस्रो दिनको खेल सकाए ।
समग्रमा १ अन्डर १३५ को स्कोर गरेका सञ्जय लामा, नीरज तामाङ र प्रदीपकुमार लामाले पाँचौँ स्थान बाँडे । शुक्रले प्रतियोगिताको दोस्रो दिन आफ्नो लयलाई निरन्तरता दिन सकेनन् । उनले नवौँ होलको बोगीका साथ फ्रन्ट नाइन इभन–पार ३४ मा सकाए । यसपछि १३औँ होलमा एक सट बचाएका उनले १५औँ र १८औँ होलमा बोगीको सामना गरे । उनी ब्याक नाइन १ ओभर ३५ स्कोरमा सीमित भए । दिनेशले तेस्रो होलमा एक सट खेर फाले । छैटौँ होलको बर्डीले उनले फ्रन्टनाइन इभन पार ३४ खेले । यसपछि १०औँ र १३औँ होलमा बर्डी प्रहार गरेका उनले अन्तिम होलको बोगीको सहायताले ब्याक नाइन १ अन्डर ३३ स्कोर गरे ।
एमेच्योरमा राहुल शीर्ष स्थानमा
एमेच्योरतर्फ राहुल विश्वकर्मा समग्रमा १ ओभर १३७ स्कोरका साथ शीर्ष स्थानमा रहेका छन् । उनले दोस्रो दिन १ ओभर ६९ स्कोर गरी निश्चयजंग रायमाझीलाई १ स्ट्रोकले पछि पारेका छन् । निश्चयले समग्रमा २ ओभर १३८ स्कोर बनाएका छन् । ३६ होलको समाप्तिमा ९ ओभर १४५ सम्म स्कोर गरेका २३ प्रोफेसनल र दुई एमेच्योर गरी २५ गल्फरले कट बनाएका छन् । प्रोफेसनलतर्फ जयराम श्रेष्ठ, भुवन नगरकोटी, रामकृष्ण श्रेष्ठ, राजेन्द्र श्रेष्ठ प्रधान, रमेश अधिकारी, दीपक मगर, धनबहादुर थापा, सुनील केसी, टंकबहादुर कार्की, किसन कालीराज सुनार, शिवराम पौडेल, राजेन राई र सुमन परियारले कट बनाएका छन् ।