
कपिलवस्तुका १० स्थानीय तहबाट १८७ हजयात्री हजयात्राका लागि प्रस्थान गरेका छन् । कपिलवस्तुको सदरमुकाम तौलिहवा, पकडी, चन्द्रौटा र कृष्णनगरलगायतका विभिन्न ठाउँबाट साउदी अरबको मक्कामदिना जानका लागि उनीहरू काठमाडौं लागेका छन् ।
गत वर्ष जिल्लाबाट १९१ जना हजयात्रामा गएका थिए भने यस वर्ष गत वर्षभन्दा चारजना कम गएका छन् । मुस्लिमहरूको धार्मिक तीर्थस्थल साउदी अरबकाे मक्कामदिना जानका लागि कपिलवस्तुबाट हजयात्री प्रस्थान गरेका हुन् ।
हजयात्रीलाई बिदाइ गर्न उनीहरूका आफन्त तथा गाउँलेहरू जिल्लाका विभिन्न स्थानमा पुगी छुट्टाछुट्टै स्थानबाट बिदाइ तथा शुभकामना दिएका थिए । नेपालभरबाट यस वर्ष एक हजार १७१ जना हजयात्रामा जान लागेको हज समितिले जनाएको छ । गत वर्ष यो संख्या एक हजार ११९ रहेको थियो ।
मुस्लिम समुदायका हरेक व्यक्ति आफ्नो जीवनकालमा कम्तीमा एकपटक हज गर्न जानुपर्छ भन्ने मान्यता छ । मक्कामदिना यात्रा गर्नेलाई अल्लाहको दृष्टि प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । काठमाडौंबाट जेठ ८ गतेसम्म ११ समूहमा उनीहरू यात्रामा जानेछन् । हजयात्रीहरूलाई एयर अरेबियाका ११ वटा विभिन्न फ्लाइटमार्फत साउदी पुर्याइनेछ ।