Skip This
नेपालमा चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ६ मंगलबार
  • Tuesday, 20 May, 2025
२o८२ जेठ ६ मंगलबार १३:o८:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

नेपालमा चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ६ मंगलबार १३:o८:oo

नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट २३७ जनाको मृत्यु भएको छ भने ९०८ जना घाइते भएका छन् । कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेशको धनुषासम्म चट्याङको जोखिम रहेको छ । 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठले नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको जोखिममा रहेकाे जानकारी दिइन् । 

उनका अनुसार ०७८ साउन १ देखि ०८२ जेठ ५ गतेसम्ममा चट्याङका एक हजार ११८ वटा घटना भएका छन् भने एक हजार ६०७ परिवार प्रभावित बनेका छन् । विश्वमा चट्याङबाट हुने विपत् जोखिमका आधारमा नेपाल पाँचौँ स्थानमा पर्ने उनले उल्लेख गरिन् । 

‘घर, गोठ र अग्ला टावर चट्याङको निशानामा पर्दछन् । बर्खायाममा कृषिमा काम गर्ने सर्वसाधारण चट्याङबाट बढी प्रभावित हुने गरेका छन् । चट्याङका घटना कोशी प्रदेशमा बढी हुने गरेका छन् भने मानवीय तथा भौतिक क्षति लुम्बिनी प्रदेशमा बढी भएका छन्,’ प्राधिकरणकी सहसचिव श्रेष्ठले भनिन् ।  

विगत चार वर्षमा कोशी प्रदेशमा चट्याङका २९५ वटा घटना हुँदा ३६६ घर यसबाट प्रभावित बनेका, ५१ जनाको मृत्यु र ८४ जना घाइते भएका उनले जानकारी दिइन् । कोशीमा चट्याङका कारण रु. एक करोड ६० लाख ४५ हजार पाँच सयबराबरको धनमालको क्षति भएको छ भने ४२० वटा चौपाया मरेका छन् । 


प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशमा चार वर्षमा १८० वटा चट्याङका घटना हुँदा ५४ जनाको मृत्यु भएको छ भने रु. तीन करोड ४९ हजार मूल्यबराबरको भौतिक क्षति भएको छ । लुम्बिनीमा २७६ परिवार चट्याङबाट प्रभावित, १६५ जना घाइते र ९८ वटा पशुचौपाया मरेका प्राधिकरणकी सहसचिव श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार सुदूरपश्चिममा ३५, मधेश २७, बागमतीमा २५, गण्डकीमा २४ र कर्णालीमा २१ जनाले ज्यान गुमाएका छन् । प्राधिकरणका अनुसार कर्णालीमा २०७, सुदूरपश्चिममा १५८, गण्डकीमा ८४, बागमतीमा ८२ र मधेशमा २८ जना मानिस घाइते भएका छन् ।

नेपालमा विपतबाट जनधनको बढी क्षति हुने दोस्रो ठुलो कारण चट्याङ रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलले जानकारी दिए । गत चैतदेखि असारसम्मको प्रि–मनसुन र मनसुन अवधिमा चट्याङका घटना बढी हुने उनले बताए ।

सहप्राध्यापक सिग्देलका अनुसार उक्त अवधिमा वायुमण्डल अस्थिर भएर चट्याङ बन्ने प्रक्रिया बढ्छ । हिमाल, पहाड र तराईको भौगोलिक अवस्थाका कारण नेपालमा बढी चट्याङ पर्ने गरेको उनले उल्लेख गरे ।

चट्याङलाई रोक्न नसकिने, तर यसबाट हुन सक्ने क्षति ८० प्रतिशतसम्म न्यूनीकरण गर्न सकिने सहप्राध्यापक सिग्देलको भनाइ छ । सचेतना नै चट्याङबाट हुन सक्ने क्षति न्यूनीकरणको सबैभन्दा प्रभावकारी उपाय भएको उनले बताए । 

‘विकसित मुलुकको तुलनामा नेपालमा बढी मानवीय तथा भौतिक क्षति हुनुका कारण चेतना र प्रविधिको अभाव हो,’ जलवायुविज्ञ सिग्देलले भने, ‘हामीले गरेको सर्वेक्षणले ८० प्रतिशत मानवीय क्षति कामकाजी मानिस खुला स्थानमा जाँदा भएको पाएका छौँ । त्यस्तो क्षतिलाई रोक्न सकिने सम्भावना छ ।’

मनसुनका समयमा मध्याह्नपछि बढी चट्याङ पर्ने गरेको अध्ययनले देखाएको जनाउँदै उनले सोही समयमा खेतमा काम गर्ने, घाँस–दाउरा गर्ने र गाईवस्तु चराउने कार्य हुने गरेकाले बढी मानवीय क्षति भएको बताए । त्यस्ता कामहरू मध्याह्नअगावै गरिसक्ने र मेघगर्जन भएका वेला खुला स्थानमा नजाने हो भने मानवीय क्षति स्वत: न्यूनीकरण हुने उनको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागले उदयपुर, पाल्पा र सुर्खेत जिल्लामा चट्याङ पर्दै छ भनेर एक घण्टाअघि जानकारी दिने राडार उपकरण जडान गरे पनि तीनवटै राडार हाल बिग्रिएर थन्किएका छन् । ती राडार मर्मतसम्भार गरेर सञ्चालनमा ल्याएमा आधा घण्टादेखि एक घण्टाअघि चट्याङ पर्ने क्षेत्रबारे जानकारी पाउन सकिने जलवायुविज्ञ सिग्देलले जानकारी दिए । उक्त राडारले बादल बन्ने प्रक्रिया मोनिटरिङ गरेर चट्याङ पर्ने स्थानको विश्लेषण गर्ने उनले बताए । 

घर तथा ठुला भौतिक संरचना निर्माण गर्दा चट्याङको प्रभाव पर्न नदिने वैज्ञानिक उपकरण जडान अनिवार्य गर्ने हो भने यसबाट हुन सक्ने जोखिमबाट बच्न सकिने उनले बताए । स्रोतसाधनमा सक्षम रहेका स्थानीय तहले चट्याङबाट जोगिने उपायबारे वडा र टोलसम्म पर्याप्त मात्रामा सचेतना पुर्‍याउनुपर्नेमा उनले जोड दिए । रासस