१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 17 May, 2025
Invalid date format १९:o२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

सीमामा शंकास्पद गतिविधि गरेको आरोपमा एसएसबीद्वारा दुई नेपालीसहित चिनियाँ नागरिक पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:o२:oo

सिराहाको दक्षिणी सीमावर्ती बरियारपट्टी गाउँपालिका–३, बरियारपट्टिस्थित नेपाल–भारत सीमाको दसगजानजिकै नेपाली भूमिबाट शंकास्पद गतिविधि गरेको आरोपमा सीमा सुरक्षामा खटिएको भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले दुई नेपाली र चिनियाँ नागरिकसहित तीनजनालाई पक्राउ गरेको छ। 

नेपाल घुम्न आएका चिनियाँ नागरिक ४० वर्षीय यु सिचाओ, सुखीपुर नगरपालिका–३ स्थायी घर भई काठमाडौंमा कार्यरत करिब ४५ वर्षीय डा. सञ्जित दास र बरियारपट्टी गाउँपालिकामा सबइन्जिनियर पदमा कार्यरत ३५ वर्षीय मुकेश दास शुक्रबार दिउँसो पक्राउ परेका हुन्।

सीमा क्षेत्रबाट दुई नेपालीसहित चिनियाँ नागरिक एसएसबीद्वारा पक्राउ गरेको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपालका अधिकारीहरूले भारतीय समकक्षीसँग कुराकानी गरी दुई नेपालीलाई भारतको लदनियाँस्थित एसएसबीको चेकपोस्टबाट रिहा गरिएको जनाइएको छ। 

चेकपोस्टमै राखिएका चिनियाँ नागरिकको हकमा भने उनको मोबाइलको फरेन्सिक जाँच गरी आवश्यक अनुसन्धानपछि मात्र दूतावासमार्फत छोड्न सकिने भारतीय पक्षले बताएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

‘नेपालीको सहयोगमा चिनियाँ नागरिकले सीमा क्षेत्रमा शंकास्पद गतिविधि गरेको भन्दै रिहा गर्न मानेकै थिएनन्,’ स्रोतले भन्यो, ‘सशस्त्र प्रहरी बलको डिआइजीसहित टोलीले भारतीय पक्षसँग करिब पाँच घण्टा कुराकानी गरेपछि भारतीय पक्षले डा. दासलाई उनका बाबु र सब–इन्जिनियरलाई आमाको जिम्मामा रिहा गरेको हो।’
सिराहाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले आफू काम विशेषले कार्यालयबाहिर रहेकाले घटनाबारे सुने पनि विस्तृत रूपमा नबुझेको जानकारी दिँदै फर्किएपछि विस्तृत रूपमा बुझेर बताउन सक्ने उल्लेख गरे। 

सीमामा भएको के थियो?
चीनमा एमबिबिएस र एमडी अध्ययन पूरा गरेका डा. दाससँग चीनमै साथीको रूपमा चिनजान भएका यू सिचाओ तीन महिनाको भिसामा नेपाल घुम्न आएका थिए। काठमाडौंमा कार्यरत रहेका डा. दासले पुर्ख्याैली गाउँ घुमाउन सुखीपुर ल्याएको बताइएको छ। 

चिनियाँ साथी, बाबुआमासहित आफन्त पर्ने सब–इन्जिनियर र आफूसमेत गरी पाँचजना शुक्रबार दिउँसो बरियारपट्टी पुगेपछि बाबु आमालाई चोकमै छोडेर तीनजना नेपाल–भारत सीमा क्षेत्र पुगेका थिए।

बरियारपट्टीस्थित सशस्त्र प्रहरी बलको बोर्डरआउट पोस्ट रहेको मुख्य नाकामा छोडेर करिब ५० मिटर पश्चिम खेतको आलीको बाटो हुँदै नेपाल–भारतबिचको २५६ नम्बर सीमास्तम्भ रहेको दसगजाको उत्तरपट्टि पुगेका चिनियाँसहित तीनजना त्यहीँ उभिएका थिए। त्यसपछि सीमास्तम्भलाई पृष्ठभूमि बनाएर चिनियाँको मोबाइलमा डा. दास देखिने गरी भिडियो खिचिरहेका वेला गस्तीमा आएको एसएसबीले सोधखोज गरी दसगजा पारी पुर्‍याएर नियन्त्रणमा लिई चेकपोस्ट पुर्‍याएको स्थानीयसमेत रहेका प्रत्यक्षदर्शी जीवछ साहले बताए। 

सशस्त्र प्रहरी स्रोतका अनुसार नेपाल घुम्न आएका वेला सम्झनाका लागि चिनियाँ नागरिकको मोबाइलमा खिचिएको भिडियोलाई भारतीय पक्षले अन्यथा रूपमा लिएकाले तीनजनालाई नै नियन्त्रणमा लिएको हो। चेकपोस्ट पुर्‍याएर चेकजाँच गर्दा खाली झोला, पासपोर्ट र नेपाल बस्ने तीन महिनाको भिसाबाहेक केही नभेटिएको जनाइएको छ। एसएसबीले नियन्त्रणमा लिएका चिनियाँ नागरिकलाई अहिलेसम्म लदनियाँ चेकपोस्टमै राखिएको बताइएको छ। 

भारतीय संचारमाध्यम जागरणको अनलाइन संस्करणले भने दुई नेपालीसहित एक चिनियाँ नागरिक लदनिया बोर्डरबाट भारतीय सीमा प्रवेश गरिरहेको अवस्थामा पक्राउ परेको उल्लेख छ । समाचारअनुसार चिनियाँसहित तीनजना पक्राउको बारेमा एसएसबी १८औं  बटालियनका कमाण्डेट दामोदरप्रसाद मीणा, उपकमाण्डेट रामनारायण विश्वाससहित बिओपी आएर चेकजाँच र अनुसन्धानपछि तीनजनालाई लदनिया थाना प्रहरीलाई बुझाइएको उल्लेख छ ।