१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३ शनिबार
  • Saturday, 17 May, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ जेठ ३ शनिबार o९:३८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सुक्खा बन्दरगाह निर्माणका लागि रुख कटान तीव्र

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ जेठ ३ शनिबार o९:३८:oo

दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणको लागि दोधारा–चाँदनी नगरपालिका– १, चाँदनी गौरीशंकर मध्यवर्ती सामुदायिक वनमा रुख कटानी सुरु गरिएको छ । 

सुक्खा बन्दरगाह निर्माणस्थलमा संरचना बनाउन नेपाल इन्टरमोडेल यातायात विकास समितिले क्षेत्र खाली गराउन रुख काट्न थालेको हो । समितिका सुपरभाइजर क्षितिज सिंहले हालसम्म एक सय ८० वटा ठुला रुख काटिसकेको बताए । ‘अहिलेसम्म काटिएका सबै रुख पिपरैया घाटगद्दीमा राखिएका छन्, ‘उनले भने, ‘झन्डै ४० हजारभन्दा बढी क्युफिट काठ संकलन हुनेछ ।’ 

बन्दरगाह निर्माणका लागि उक्त सामुदायिक वनकोे ४२ हेक्टर क्षेत्रफलमा रहेका साना–ठुला एक हजार पाँच सय ९३ रुख काटिनेछन । त्यसपछि सुक्खा बन्दरगाह एकीकृत जाँचचौकीका लागि आवश्यक भौतिक संरचना निर्माण सुरु हुनेछन् । 

०६४ मा तत्कालीन् उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका पालामा सुक्खा बन्दरगाह निर्माण गर्ने प्रस्ताव अघि सारिएको थियो । त्यसपछि सरकारले ०६६ मा बन्दरगाह बनाउने निर्णय गरेको थियो । सुरुवातमा दोधारा–चाँदनी– ७, कञ्चनभोजमा निर्माण गर्ने भनिएको सुक्खा बन्दरगाह त्यहाँका स्थानीयबिच विवाद भएपछि चाँदनी– १ मा सारिएको हो ।

रुख कटान र व्यवस्थापनको जिम्मा पाएको रोशन किरण समिल फर्निचर उद्योगका सञ्चालक घनानन्द लेखकले रुख काटेर घाटगद्दीमा राखिने बताए । ‘हामीले यहाँ जिम्मा पाएको काठ काटेर घाटगद्दीमा पठाइरहेका छौँ, ‘उनले भने, ‘नम्बरिङले ढिलासुस्ती भइरहेको छ, यसमा सम्बन्धित निकायबाट पहल गर्नुपर्छ ।’ 

शुक्लाफाँटा राष्ट्रिय कार्यालयका रेन्जर विक्रम चौधरीले स्रोत–साधन वृद्धि गरेर तीव्र गतिमा कटान अघि बढाउनुपर्ने बताए । घोषणा गरिएको १८ र निर्णय गरेको १५ वर्षमा फिल्डमै रुख कटानी सुरु भएपछि स्थानीयसमेत हर्षित भएका छन । गौरीशंकर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष दामोदर भट्टले सुक्खा बन्दरगाह निर्माणका लागि रुख कटानी सुरु भएसँगै बन्दरगाह निर्माणको काम अघि बढेको बताए । ‘पहिले नेताहरू आउँथे जान्थे, अहिले  ठेक्का भएकै काम सुरु भएको छ, ‘उनले भने, ‘अब केही होलाजस्तो आशा पलाएको छ ।’ घाटगद्दीमा राखिएको काठ सामुदायिक वनले पाउनुपर्ने उनको माग छ । 

भारतीय लगानीमा निर्माण हुने गरी दुई वर्षअघि भएको थियो सम्झौता
सुक्खा बन्दरगाह निर्माणका लागि १८ जेठ ०८० मा तत्कालीन् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीसँग समझदारी भएको थियो । भारतले नै एकीकृत चेकजाँच चौकीसमेत निर्माण गरिदिने समझदारी छ । भारतले आफ्नोतर्फ आइसिपीको संरचना निर्माण गरिसकेको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका पदाधिकारी तेजबहादुर चन्दले महाकाली नदीमा चार लेन पक्की पुल निर्माण सम्पन्न भएसँगै अब सुक्खा बन्दरगाह निर्माणको काममा ढिलाइ गर्न नहुने बताए । ‘यो रुख काट्ने काम पनि ढिलाइ गर्नुहुँदैन, काममा देखिएका जटितला अपसी समझदारी गरेर टुंगो लगाउनुपर्छ, ‘उनले भने, ‘समयमै रुख हटाएसँगै माथिल्ला निकायबाट फिल्ड खाली भएको बारेमा स्थलगत अनुगमन हुनुपर्छ, त्यसपछि फिल्डको काम बढाउन सकिन्छ ।’