मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ७ शनिबार
  • Saturday, 23 August, 2025
पवन बराइली काठमाडाैं
२o८२ भदौ ७ शनिबार o९:४४:oo
Read Time : > 2 मिनेट
फिचर प्रिन्ट संस्करण

हाइप्रोफाइलका ‘हेयरस्टाइलिस्ट’

Read Time : > 2 मिनेट
पवन बराइली, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ ७ शनिबार o९:४४:oo

छोटु ठाकुरसँग २५ वर्षदेखि कपाल काटेको अनुभव छ । उनको खास नाम अमिताभ ठाकुर हो । तर, उनी आफूलाई छोटुकै रूपमा चिनाउन रुचाउँछन् । उनको कैँचीले देशका पूर्वराष्ट्रपति, प्रधानमन्त्री, नेता, धनाढ्य व्यवसायीदेखि चर्चित पत्रकारसम्मका व्यक्तित्वलाई छोएको छ । हेयरकटलाई व्यवसायभन्दा पनि सिर्जनात्मकता र आत्मविश्वासको अभिव्यक्तिको माध्यम मान्ने छोटु ठाकुर आजका पुस्ताका लागि प्रेरणाका स्रोत बनेका छन् ।

रौतहटको गौर नगरपालिका मलाही टोलको सामान्य परिवारमा जन्मिए छोटु । उनको पुस्तैनी पेसा कपाल काट्ने भए पनि गाउँमा कपाल काट्ने काम पाएनन् । २०५७ सालमा रौतहटबाट कपाल काट्ने कामको खोजी गर्दै काठमाडौँ छिरे । काम पाऊँ भन्दै काठमाडौंका सयौँ गल्ली चहारे । झन्डै एक सयभन्दा बढी सैलुनका ढोका ढकढक्याए, तर उनलाई एउटै जवाफ आयो, ‘तिमीले काम गर्न सक्छौँ ? तिमीलाई राख्यो भने ग्राहक नै आउँदैन ।’ यस्तो जवाफले उनको मन भारी हुन्थ्योे । पहाडे समुदायको सैलुनमा काम खोज्दै जाँदा उल्टै गाली खान्थे । तर, उनले हार खाएनन् ।

थुप्रै ठाउँबाट अस्वीकृत भए पनि उनले नक्सालको एउटा सैलुनमा काम गर्ने अवसर पाए । तर, त्यहाँ उनलाई सजिलो थिएन । सैलुन मालिकले उनलाई कपाल काट्न होइन, सैलुन सफा गर्न पो राखे । उनको काम थियो, सैलुन सफा गर्ने, मालिकको घरमा बिहान–साँझ भाँडा माझ्ने । कपाल काट्ने कामभन्दा धेरै टाढा थिए, उनी । तर, उनले बिस्तारै कपाल काट्न सिक्न थाले ।

दिनदिनै ग्राहकको कपाल काटेको हेर्न थाले । कपाल काट्ने तरिकाबाट रंग प्रयोगसम्म, फेसअनुसार हेयरस्टाइल मिलाउने सीपसम्म उनले सैलुनमा सिक्दै गए । त्यसपछि छिटै उनी ग्राहकबिच चिनिन थाले । उनको कपाल काट्ने शैली देखेर खुसी हुँदै टिप्स दिन थाले । त्यसपछि उनको आत्मविश्वास बढ्यो ।

०५७ सालको कुरा हो । एक दिन राजा वीरेन्द्रका पाइलट सैलुनमा आए । छोटुले उनको कपाल काटिदिए । उनको कपाल काट्ने कला मन पराएर छोटुलाई ५० रुपैयाँ टिप्स दिए । जुन त्यो समयमा ठुलो रकम थियो । त्यो वेलामा कपाल काट्ने दर ३० रुपैयाँ मात्रै थियो । त्यो टिप्स छोटुका लागि पैसा मात्र होइन, प्रेरणा बन्यो ।

छोटुको यात्रा यत्तिमा रोकिएन । उनले आफ्नो सीप निखार्दै लगे । सैलुनमा काम सिक्दै, संघर्ष गर्दै उनले आफ्नो काममा कला देखाउन थाले । एक दिन यस्तो समय आयो, उनले व्यवसायी मीनबहादुर गुरुङको कपाल काट्ने अवसर पाए । गुरुङ उनको कलाबाट प्रभावित भए । अहिले पनि २५ वर्षदेखि व्यवसायी गुरुङको पर्सनल हेयरस्टाइलिस बनेका छन् छोटु । आफ्नो पहिलो ग्राहक गुरुङ रहेको उनी सुनाउँछन् । 

कपाल काट्ने कला, शैलीले उच्च वर्गका व्यक्तिसम्म पुगे छोटु । उनी काठमाडौंका राणा परिवारको पनि कपाल काट्न जान थाले । बिस्तारै उनको कलाको सबैले प्रशंसा गर्न थाले । उनले नेतादेखि अर्बपति व्यवसायीसम्मलाई आकर्षित गर्न थाले । नेपालका पहिलो राष्ट्रपति रामवरण यादवको कपाल पनि उनैले काटे । उनले राष्ट्रपति निवास पुगेर सेवा दिन्थे ।

स्वर्गीय शुशील कोइरालाको पर्सनल हेयर स्टाइलिस्ट थिए, उनी । कोइरालाले उनको काट्ने तरिका र मसाज गर्ने शैली खुब मन पराउँथे । सुशील कोइराला हेयरस्टाइलमा सौखिन थिए । छोटुसँग निकै गफिन्थे उनी । कोइरालाको ६ वर्षसम्म उनले नै कपाल काटे ।

स्वर्गीय नेता सुवास नेम्वाङको पर्सनल हेयरस्टाइलिस्ट पनि थिए छोटु । उनको व्यक्तित्वसँग सुहाउँदो कपाल काटिदिन्थे । उनको कलालाई खुबै तारिफ गर्थे । अहिले सुहाङ नेम्बाङको पनि पर्सनल हेयर स्टाइलिस्ट हुन् उनी ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’को ६ वर्षसम्म उनैले कपाल काटे । प्रचण्डले उनको कपाल काट्ने कलाको निकै प्रशंसा गर्थे । प्रचण्ड उनीसँग निकै गफिन्थे । प्रधानमन्त्री केपी शर्मा ओलीको झन्डै १० वर्ष उनैले कपाल काटे । ओली उनको कपाल काट्ने शैली खुब मन पराउँथे ।

व्यवसायी उपेन्द्र महतोको कपाल पनि छोटुले नै काट्छन् । महतोको १५ वर्षदेखि कपाल काट्दै आएका छन् उनले । अर्का अर्बपति शेष घलेको कपाल पनि छोटुले काट्छन् । १५ वर्षयता उनले कपाल काट्दै आइरहेका छन् । माओवादी नेता वर्षमान पुन पनि छोटुका ग्राहक हुन् । १० वर्षअघिदेखि उनले सेवा दिँदै आइरहेका छन् ।

नेताहरूले सामान्य लुक्स देखाउन खोज्ने उनको अनुभव छ । कपालको शैली उनीहरूको व्यक्तित्वसँग गहिरो गरी जोडिने उनको बुझाइ छ । त्यसैले नेताको अनुहारको बनावट, उमेर, पद र व्यक्तित्वअनुसार हेयरडिजाइन गरिदिन्छन् । जसका कारण पनि उनी रोजाइका हेयरस्टाइलिस्ट बनेका छन् । छोटु भन्छन्, ‘मैले देशका ठुला मान्छेहरूको टाउको समात्न पाएको छु, यसैमा खुसी छु । हजारौँ मान्छेहरू उहाँहरूको अगाडि झुक्छन् । तर, मैले उहाँहरूकै टाउको समात्न पाएको छु । यो मेरा लागि भाग्यको कुरा हो ।’

हेयरस्टाइलिस्ट बन्न केवल कपाल काट्ने सीपले मात्र नपुग्ने उनको अनुभव छ । उनी भन्छन्, ‘यो पेसामा विश्वास सबैभन्दा ठुलो कुरा हो । मानिसका लागि कपाल सौन्दर्यको प्रतीक हो । जसले व्यक्तित्व विकासमा ठु्लो भूमिका खेल्छ । अनुहारको सुन्दरता कपालले ल्याउँछ । कपडा मात्रै राम्रो लगाएर हुँदैन । हेयरस्टाइल पनि राम्रो हुनुपर्छ ।’

कुनै वेला काठमाडौंका पसल–पसल काम खोज्दै घुम्ने तिनै ‘सानो’ ठानिएको बालक, आज देशका शक्तिशाली व्यक्तिको हेयरस्टाइलिस्ट बनेका छन् । छोटु ठाकुर सफल हेयरस्टाइलिस्ट मात्र होइनन् । उनी व्यवसायी पनि हुन् । उनले १५ जनालाई रोजगारी दिएका छन् । उनको नक्साल र टोखामा ‘छोटु युनिसेक्स सैलुन’ सञ्चालनमा छ । उनले हेयरआर्टिस्टको रूपमा प्रशिक्षित गरिरहेका छन् । ‘कपाल काट्नु केवल पेसा होइन, यो उत्कृष्ट कला हो । म हेयर कट गर्दा भुइँमा झरेको कपाल खुट्टाले कुल्चिन्नँ,’ उनी भन्छन्, ‘ग्राहक मेरा लागि भगवान हुन् । त्यसैले खुट्टाले कपाल कुल्चनुहुन्न भन्ने मान्यता राख्छु ।’