Skip This
यार्सा खोज्न हिमालतिर उक्लिए चिमखोलावासी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १ बिहीबार
  • Thursday, 15 May, 2025
नयाँ पत्रिका म्याग्दी
२o८२ जेठ १ बिहीबार १४:१४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

यार्सा खोज्न हिमालतिर उक्लिए चिमखोलावासी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, म्याग्दी
नयाँ पत्रिका
२o८२ जेठ १ बिहीबार १४:१४:oo

म्याग्दीको हिमाली क्षेत्रमा यार्सागुम्बा संकलन गर्न थालिएको छ ।  धवलागिरि गाउँपालिका– १ गुर्जा, वडा नं– ४ मुदी र रघुगंगा गाउँपालिका– ७, चिमखोलाका बासिन्दा यार्सागुम्बा खोज्न हिमाल फेदीको बुकी पाटनमा पुगेका छन् । गुर्जा, चुरेन र धौलागिरि हिमालको फेदीमा यार्सागुम्बा पाइने गर्छ । 

धवलागिरी गाउँपालिका– १, गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले गुर्जाका अधिकांश घरबाट यार्सा खोज्न हिमाली क्षेत्रमा गएकाे बताए। गुर्जामा गत वैशाखको २६ गतेदेखि यार्सा संकलन गर्न खुला गरिएको थियो । गुर्जामा रहेका २५० घरपरिवारमध्ये एक घरबाट कम्तीमा एकजना यार्सा खोज्न गएकाे वडाध्यक्ष छन्त्यालले बताए। 

रघुगंगा गाउँपालिका– ७, चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजा (रिम)ले हिउँदेबाली भित्र्याउने र बर्खेबाली लगाउने तथा उपभोक्ता समितिमार्फत सञ्चालित विकास आयोजनाको काम सकेर स्थानीयवासीहरू यार्सागुम्बा खोज्न धौलागिरि हिमाल फेदीको कालीबराह बुकीमा गएका बताए । 

चिमखोलाबाट करिब ५० स्थानीयवासी यार्सागुम्बा खोज्न बुकीमा गएका छन् । वैशाखको अन्तिम सातादेखि जेठ महिनाको तेस्रो हप्तासम्मका लागि पुग्ने खाद्यान्न, लत्ताकपडा लिएर यार्सा खोज्न बुकी गएका हुन् । अनुकूल मौसम हुँदा दैनिक एक सय वटासम्म यार्सागुम्बा संकलन हुने र एकजनाले दुई लाखभन्दा बढी आम्दानी गर्ने बताइएको छ ।   

यार्सा संकलकहरू बुकीमा ओडार र त्रिपालको छाप्रो हालेर वास बस्ने गरेका छन् । संकलन भएको यार्सा स्थानीयस्तरमा प्रतिगोटा दुई सयदेखि २५० सम्ममा बिक्री हुने गरेको चिमखोले बुकीमा यार्सा संकलन गर्दै गरेका गमान गर्बुजाले बताए। 

यार्सा संकलन हिमाली क्षेत्रका बासिन्दाका लागि रोजगारी र आयआर्जनको माध्यम बनेको छ । यार्सा टिप्न जानेहरूले देवीदेवताको पूजापाठ गरी काम सुरु गर्छन् । यार्सा संकलन हिमाली भेगका जनताका लागि मौसमी रोजगारी बनेको छ ।

यार्सा संकलन भएपछि ठेकेदारले गाउँमै पुगेर यार्साको खरिद गर्दै आएका छन् । म्याग्दीमा केही वर्षअघि वार्षिक २० किलोभन्दा बढी यार्सा निकासी हुने गरेकोमा पछिल्ला वर्षहरूमा मात्रा घटेको छ । चालू आर्थिक वर्षमा हालसम्म कसैले यार्सागुम्बा संकलनको अनुमति नलिएका डिभिजन वन कार्यालयका सूचना अधिकारी विनयबहादुर अधिकारी खत्रीले जानकारी दिए ।  

यार्सागुम्बा संकलन र निकासीका लागि राजस्व तिरेर संकलन पुर्जी र छोटपुर्जी लिएर मात्रै यार्सागुम्बा बिक्री र निकासी गर्न पाइन्छ । गत वर्ष आधा किलोग्राम यार्सागुम्बाका लागि छोडपुर्जी जारी भएको थियो । प्रतिकिलो यार्सागुम्बा निकासी गर्न १० हजार राजस्व तिर्नुपर्छ । 

हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा न्यून मात्रामा भेटिने भएपछि यार्सा संकलनकर्ताले संकलन भएपछि मात्रै सोहीबमोजिमको संकलन पुर्जी काट्ने चलन छ । सर्वसाधारणबाट व्यवसायीहरूले प्रतिकिलो पाँच लाखदेखि  ६ लाखसम्ममा यार्सा खरिद गर्ने गरेका छन् । हालको बजारमूल्य प्रतिकिलो आठ लाखदेखि १० लाखसम्म रहेको जानकार बताउँछन् ।