
गत सोमबारबाट बाढीले बगाएर बेपत्ता महिला अहिलेसम्म फेला परेकी छैनन् । आज बिहीबारदेखि तालिमप्राप्त कुकुरको सहयोगमा खोजीकार्य भएको हो । सोमबार आएको वर्षापछि आएको खोल्साको बाढीले काभ्रेपलाञ्चाेक जिल्लाको पनौती नगरपालिका– ५, सुब्बागाउँकी २८ वर्षीया रेणुका गिरीलाई बगाएको थियो ।
बाढीमा बगेर बेपत्ता भएको आज चार दिन भएको छ। वैशाख २९ गते खेतमा काम गरेर घर फर्किँदै गर्दा उनलाई घरनजिकैको खोल्साजस्तो खहरे खोलाले बगाएको थियो । घटनापछि स्थानीय प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले खोजी जारी राखेका छन्। बुधबार लड्केश्वर, पिपलटारसम्म खोजी गर्दा पनि गिरीको अवस्था पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिए। आज बिहीबार चौथो दिनदेखि प्रहरीले खाेजीकार्यमा तालिमप्राप्त कुकुर पनि परिचालन गरेको जनाएकाे छ ।
काभ्रेमा वैशाख २९ गते मध्यमखालको वर्षापछि आएको बाढीले पनौती र रोशीमा सडक, खानेपानी तथा कृषि क्षेत्र प्रभावित भएको छ ।