Skip This
एकैदिन पोखरामा दुई दुर्घटना, तीनजनाको मृत्यु, ३६ घाइते 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १ बिहीबार
  • Thursday, 15 May, 2025
२o८२ जेठ १ बिहीबार o७:५६:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

एकैदिन पोखरामा दुई दुर्घटना, तीनजनाको मृत्यु, ३६ घाइते 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १ बिहीबार o७:५६:oo

पोखरामा बुधबार दुईवटा दुर्घटना भएका छन् । कास्की प्रहरीका अनुसार माइक्रो भ्यान दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । घाइतेमध्ये ६जनाको उपचार भइरहेको छ । 

प्रहरीका अनुसार माइक्रो भ्यान दुर्घटनामा धादिङ नीलकण्ठ नगरपालिका– २, भुलभुलेका १५ वर्षीय आगम गुरुङ, पोखरा महानगरपालिका– २५, हेम्जाकी ५१ वर्षीया झाङमाया गुरुङ र धादिङ खरीकी ४५ वर्षीया तिलकुमारी आचार्यको ज्यान गएको छ । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग.१ज८६३० नम्बरको माइक्रो भ्यान पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका– ३२, लामेआहालमा दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डेले बताइन् । 

दुर्घटनामा घाइते आठमध्ये तीनजनाको डिस्चार्ज भएको छ । पोखरा महानगरपालिका– २५ का २७ वर्षीय आइतसिंह गुरुङ, नीलकण्ठ नगरपालिका– १३ का १९ वर्षीय सुदीप गुरुङ र सोही ठाउँका १९ वर्षीय अनुप गुरुङ डिस्चार्ज भएको प्रहरीले जनाएको छ । घाइते ६ जना पोखरा महानगरपालिका– १४ का ४६ वर्षीय रमेशप्रसाद ढुंगाना, उनकी श्रीमती ४५ वर्षीया पार्वती ढुंगाना, धादिङको नीलकण्ठ नगरपालिका– ४ का २४ वर्षीय राजकुमार परियार, पोखरा महानगरपालिका– २५ का ३२ वर्षीय सानुबाबु गुरुङ र नीलकण्ठ नगरपालिका– १३ का ३५ वर्षीय राजु मगरको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

माइक्रो भ्यान सडकदेखि करिब ३५ मिटर तल खेतमा खसेको थियो । भ्यानमा ११ जना सवार थिए । प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा गुडेको माइक्रो भ्यानका चालकले सन्तुलन गुमाउँदा दुर्घटना भएको हो ।

त्यस्तै, भारतीय पर्यटक बोकेको ग.१ख ३८८६ नम्बरको बस पोखरा महानगरपालिका– २२, पुम्दीकोटमा पल्टिँदा २८ जना घाइते भएका छन् । तीमध्ये ६५ वर्षीया रेखा साहु र ६१ का मेलाराम साहु गम्भीर घाइते भएको र उनीहरूको उपचार भइरहेको कास्की प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले बताए । ४९ जना सवार बस पुम्दीकोटस्थित महादेवको मूर्ति दर्शन गरी फर्कँदै गरेको थियो ।