
धनकुटाको राजारानीमा जारी १२औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो खेलमा झापाको बिर्तामोड युनाइटेड क्लब विजयी भएको छ।
रारा फुटबल क्लब राजारानीको आयोजनामा भइरहेको प्रतियोगितामा साबिक विजेता सिराहाको सहलेस फुटबल क्लबलाई टाइबेकरमा २–१ गोलअन्तरले पराजित गर्दै बिर्तामोड युनाइटेड सेमिफाइनलमा पुगेको हो।
धनकुटाको चौबिसे गाउँपालिकाको राजारानीको पुण्य माविको खेलमैदानमा भएको प्रतियोगिताको बुधबार सम्पन्न खेलमा दुवै टिमबाट कुनै गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइबेकरमा बिर्तामोडका आशिष चापागाईं र विक्रम तामाङले गोल गरे भने सलहेसका आदित्य शाक्यले गोल गरे।
टाइबेकरमा बिर्तामोड युनाइटेडका गोलकिपर अभिषेक बरालले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षीका दुई पेनाल्टी बचाएपछि बिर्तामोड विजयी बन्न सफल भएको हो। खेलको म्यान अफ द म्याच बिर्तामोडको गोलकिपर अभिषेक बराल घोषित भए। उनले नगद ७ हजार ५ सय पुरस्कार पाए। ११औँ संस्करणमा सहलेससँग पराजित भएको बिर्तामोडले यसपटक एक हारको बदला लिँदै प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
प्रतियोगिताअन्तर्गत खेल बिहीबार ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब काठमाडाैं र बागमती युथ क्लब सर्लाहीबिच हुने आयोजकले जनाएको छ।
४ जेठसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ।
त्यस्तै, हरेक विधाका सर्वोत्कृष्ट खेलाडीले जनही १० हजार नगद हात पार्ने आयोजक समितिका संयोजक मणि चेम्जोङले बताए। धनकुटाको प्रतिष्ठित प्रतियोगिता मानिने रारा गोल्डकप ०५८ सालबाट सञ्चालन गर्न थालिएको हो।