
सिराहाको कर्जन्हा नगरपालिका–१, बल्टिया गाउँका १० घरधुरी मुसहर तथा विपन्न परिवारलाई पक्की घर हस्तान्तरण गरिएको छ।
बल्टिया गाउँमा मंगलबार आयोजित समारोहबिच कर्जन्हा नगरपालिकाका प्रमुख भोलाप्रसाद पोखरेल, उपप्रमुख लक्ष्मीकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सुनीलकुमार पासवान र वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेलले संयुक्त रूपमा घरहरू हस्तान्तरण गरेका हुन्।
बर्खा लाग्नुअगावै पक्की घर पाएपछि मुसहरसहित विपन्न परिवारले व्यक्त गरेका छन्। पक्की घर पाएपछि खुसी हुँदै स्थानीय करिब ४१ वर्षीया ककुलतीदेवी सदायले भनिन् ‘बर्खा होस् वा हिउँद बालबच्चासहित आफू कसरी सुरक्षित हुने भन्ने चिन्ताबाट अब मुक्त भएकी छु।’ उनकी छिमेकी सबरीदेवी सदायले पक्की घर पाएपछि सपना जस्तैै लागेको सुनाइन। ‘मजदुरी गरेर पेट पाल्नुपर्ने आफूहरूजस्ता विपन्नका लागि पालिकाको समेत लगानीमा पक्की घर पाएपछि सुरक्षित महसुस गरेका छौँ,’ उनले भनिन्, ‘सुरक्षित घरमा बस्न पाएपछि पेट त जसरी पनि पाल्छौँ।’
कर्जन्हा नगरपालिकाको २४ लाख ९६ हजार ६ सय २८ रुपैयाँ ३५ पैसा, ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको २४ लाख ८५ हजार आठ सय १८ रुपैयाँ ७५ पैसा र लाभग्राहीको श्रमदानबाट आठ लाख ८० हजार चार सय ४६ रुपैयाँ ८९ पैसा गरी ९८ लाख ६२ हजार आठ सय ९३ रुपैयाँ ८९ पैसा लगानीमा घर निर्माण गरी हस्तान्तरण गरिएको प्रमुख प्रशासकीय अधिकृत पासवानले बताए।
घर निर्माणका लागि धनगढीमाई नगरपालिका–२, भवानीपुरस्थित भवानी एकीकृत विकास केन्द्रको प्राविधिक तथा सहजीकरण सहयोग रहेको वडाध्यक्ष पोखरेलले जानकारी दिए । उनका अनुसार बल्टिया गाउँका सात घर मुसहर र बाँकी अन्य गरी १० घर अति विपन्न दलितलाई घर हस्तान्तरण गरिएको हो।
त्यसअघि ह्याबिट्याट फर ह्युम्यानिटी नेपालसँगको साझेदारीमा कर्जन्हा ३, ५, ८, ९, १० र ११ नं. वडामा १०–१० वटाको दरले ७० वटा घर निर्माण गरी हस्तान्तरण गरिसकेको नगर प्रमुख पोखरेलले जानकारी दिए । ‘घर हस्तान्तरणले स्थानीय सरकार रसाझेदारहरूको कमजोर परिवारहरूलाई सुरक्षित आवासको दृढ प्रतिबद्धता पूरा भएको छ’ उनले भने ।