
भारतले २७ वैशाखमा पाकिस्तानको प्रस्तावमा युद्धविराम भएको भन्दै यसका लागि अन्य देशको भूमिका नरहेको प्रस्टीकरण दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियोलगायतले युद्धविराममा मध्यस्थता गरेको दाबी गरिरहेका वेला भारतले यसलाई अस्वीकार गरेको हो।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा कूटनीतिक च्यानलबाट पाकिस्तानले सुरुमा सम्पर्क गरेको पनि जिकिर गरेका छन्।
‘मे १० (२७ वैशाख) दिउँसो १२ः३७ मा दिल्लीस्थित पाकिस्तानी उच्चायोगबाट भारतीय विदेश मन्त्रालयमा अनुरोध पठाइएको थियो। भारतीय सेनाको युद्धकार्य महानिर्देशकसँग कुराकानी गर्न खोजिएको, तर सम्पर्कमा प्राविधिक कठिनाइ भएको भनियो। हामीले महानिर्देशकको उपलब्ध समयअनुसार ३ः३५ बजेको समय दियौँ,’ विदेश मन्त्रालयका प्रवक्ता जैसवालले भने, ‘त्यसपछि पाकिस्तानी युद्धकार्य महानिर्देशकले अनुरोध गरे, हाम्रो पक्षले युद्धविरामका लागि स्वीकार गरेको हो। त्यस दिन बिहान भारतीय सेनाले पाकिस्तानी हवाई फोर्सको बेसमा भीषण जवाफी हमला गरेपछि उसले बाध्य भएर युद्ध रोक्न आग्रह गर्यो।’
पाकिस्तानी सेनाका युद्धकार्य महानिर्देशक मेजर जनरल कासिब अब्दुल्लाहले भारतीय समकक्षी लेफ्टिनेन्ट जनरल राजीव घईलाई फोन गरेपछि युद्धविरामका लागि दुईपक्षीय सहमति भएको सोही दिन विदेशसचिव विक्रम मिश्रीले बताएका थिए। भारत र पाकिस्तानले क्रमैसँग युद्धविराम भएको सार्वजनिक हुनुअघि अमेरिकी राष्ट्रपति, उपराष्ट्रपति र विदेशमन्त्रीले युद्धविरामपूर्व नेताहरूसँग कुराकानी गरेर माहौल बनाएको सार्वजनिक गरेका थिए। पाकिस्तानी पक्षले अमेरिकी भूमिका स्वीकार गर्दै यसका लागि धन्यवाद दिएको छ। यद्यपि, २७ वैशाखमा भारतीय र अमेरिकी नेताहरूबिच कुराकानी भएको जैसवालले जानकारी दिएका छन्।
‘भारतको केन्द्र शासित जम्मु-कस्मिरसँग सम्बन्धित विषय दुईपक्षीय रूपमा टुंग्याउनुपर्छ भन्ने भारतको स्पष्ट अडान छ। पाकिस्तानले अवैध रूपमा कब्जा गरेको भारतीय भूमि खाली गर्नुपर्छ भन्ने हाम्रो स्पष्ट मत छ,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता जैसवालले भने। अपरेसन सिन्दूर नामक सैन्य अपरेसनले आतंकवादी पूर्वाधार र आधारहरू समाप्त पारेको पनि जैसवालले बताए।