Skip This
संघले अधिकार नदिँदा प्रदेशमा औद्योगिक विकास र उद्यमशीलता बढाउन सकिएन : मुख्यमन्त्री लामा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १८:o६:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

संघले अधिकार नदिँदा प्रदेशमा औद्योगिक विकास र उद्यमशीलता बढाउन सकिएन : मुख्यमन्त्री लामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:o६:oo

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले संघीय सरकारबाट आवश्यक अधिकार नपाउँदा प्रदेशमा औद्योगिक विकास र उद्यमशीलता प्रवर्द्धनमा अवरोध भएको बताएका छन्।

हेटौँडामा आयोजना भएको युवा सम्मेलनअन्तर्गत मंगलबार आयोजित ‘मुख्यमन्त्रीसँग युवा संवाद’ कार्यक्रममा लामाले औद्योगिक तथा आर्थिक क्षेत्रमा संघीय सरकारको नियन्त्रणले प्रदेश सरकारलाई नीति निर्माण र कार्यान्वयनमा समस्या भएको बताए।

मुख्यमन्त्री लामाका अनुसार उद्योग, वाणिज्य, आर्थिक विकास तथा उद्यमशीलताजस्ता महत्त्वपूर्ण क्षेत्रहरूमा प्रदेशको अधिकार सीमित हुँदा प्रदेश सरकारले चाहेजस्तो काम गर्न नसकेको हो। ‘हामीले प्रदेशको विकासका लागि नयाँ नयाँ क्षेत्रमा लगानी बढाउनुपर्ने हो, तर हामीसँग स्रोत सीमित छ,’ उनले भने, ‘सँगसँगै संघको स्वीकृतिविना कुनै काम अघि बढाउन नसक्दा पनि हामीलाई कतिपय अवस्थमा काम गर्न समस्या छ।’

‘प्रदेशलाई जिम्मेवारी दिए हेटौँडा सिमेन्ट र कपडा उद्योग नाफामा लैजान सकिन्छ,’ मुख्यमन्त्री लामाले हेटौँडा सिमेन्ट उद्योग र कपडा उद्योगको उदाहरण दिँदै ती उद्योगहरूको स्वामित्व प्रदेशलाई दिए नाफामा चलाउन सकिने दावी गरे।  ‘प्रदेश सरकारलाई ती उद्योग दिइयो भने दुई वर्षमै नाफामा लैजान सक्छौँ। हामीले अध्ययन अनुगमन गरिसकेका छौँ,’ मुख्यमन्त्री लामाले भने।

उनले संघीय सरकारको केन्द्रीय मानसिकताले प्रदेश सरकारको माग अस्वीकार गर्दै आएको आरोपसमेत लगाए। ‘पुँजीको अभावले संघअन्तर्गतका उद्योगहरू रुग्ण अवस्थामा पुगेका छन्। तर, प्रदेशमा उपलब्ध जनशक्ति र स्रोतको भरमा ती उद्योगलाई पुनः सञ्चालन गर्न सक्ने क्षमता हुँदा हुँदै पनि हामीसँग अधिकार भने छैन,’ उनले संघीय सरकारप्रति आक्रोश व्यक्त गरे।

उनले स्थानीय उत्पादन प्रयोग गरी कपडा उद्योग सञ्चालन गर्ने नीति ल्याउन सकिने बताउँदै युवालाई विदेश पलायन हुन नदिने गरी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि नीति र योजना बनाइँदै गरेको जानकारी गराए। विज्ञान, प्रविधि र कृषि क्षेत्रलाई प्राथमिकता दिँदै सीपमूलक तालिम र बीउ पुँजीको व्यवस्था प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए।

युवालाई कृषि क्षेत्रमा प्रोत्साहन गर्नु जरुरी रहेको बताउँदै उनले तालिम प्राप्त युवालाई उद्यमशील बनाउन बागमती प्रदेश सरकारले बीउ पूँजीको व्यवस्था गरिएको जानकारी गराए। बजेट अभावका कारण केही युवा लक्षित कार्यक्रम अघि बढ्न नसकेको स्वीकार गर्दै मुख्यमन्त्री लामाले कार्यान्वयन पक्षलाई प्रभावकारी ढंगबाट लागू गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। उनले युवालाई नकारात्मक सोच नराखी सकारात्मक ऊर्जा लिएर देश निर्माणमा लगाउन आग्रह गरे।