
सिद्धार्थ बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)को सहकार्यमा कार्डमा आधारित सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे सेवा सुरु गरेको छ।
यो सेवाबाट बैंकमा खाता भएका व्यवसायी (मर्चेन्ट)हरूले अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूबाट जारी भएको भिसा तथा मास्टर कार्डमार्फत नेपाल तथा विदेशमा भएका ग्राहकबाट सजिलै अनलाइन भुक्तानी लिन सक्ने बैंकले जनाएको छ।
सिद्धार्थ अनलाइन पेमेन्ट गेटवेमार्फत अब ई–कमर्स कारोबार गर्ने विद्यालय, अस्पताल, होटेल, ट्राभल एजेन्सी, एनजिओलगायतका संस्थाहरूले देश तथा विदेशबाट सहज रूपमा अनलाइनमार्फत भुक्तानी लिन सक्नेछन्।
यस गेटवेको प्रयोगले भुक्तानी प्रक्रियामा कार्डलाई भौतिक रूपमा प्रस्तुत गर्नुपर्ने झन्झट हटाएको छ। साथै, यस पेमेन्ट गेटवेको प्रयोगले आधुनिक प्रविधिको प्रयोग गर्दै कुनै पनि प्रकारको अनलाइन भुक्तानीलाई छिटो, सुरक्षित र विश्वसनीय बनाउनेछ।