
सोमबारको बाढीका कारण अवरुद्ध बिपी राजमार्ग करिब १२ घण्टापछि पुनः सञ्चालनमा आएको छ। हिजो बेलुकी करिब ९ बजेतिर अवरुद्ध भएको राजमार्ग आज दिउँसो साढे १ बजे पुनः सञ्चालन भएको हो।
गत असोज १०, ११ र १२ गते आएको बाढीले बगाएपछि बनाइएको डाइभर्सन हिजो रोशी खोलामा आएको बाढीले बगाएको थियो। इन्जिनियर दुर्गा प्रसादका अनुसार तीन ठाउँमा बाढीले क्षति पुर्याएको थियो। तीन ठाउँमा बगाएको सडक बनाएपछि यातायात सञ्चालन भएको उनले बताए।
असोजको बाढीले राजमार्गको १४ ठाउँमा बगाएपछि डाइभर्सन बनाइएको थियो। उक्त डाइभर्सन १३ ठाउँमा स्तरोन्नति गरिसकेको र एक ठाउँमा स्तरोन्नति गर्न बाँकी थियो। उक्त रोशी गाउँपालिका– १२ माम्तीमा हिजोको बाढीले बढी क्षति भएको इन्जिनियर प्रसादले जानकारी दिए।
हिजो आएको बाढीले अवरुद्ध राजमार्ग नियमित भएको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए। बिपी राजर्मागको तीन ठाउँमा डाइभर्सन बगाएकोमा सडक विभाग, नेपाल प्रहरी, नेपाली सेना, जनप्रतिनिधिहरू र स्थानीयको पहलमा सडक सञ्चालन भएको लामाले बताए। फिल्डमै भेटिएका सडक विभागका डिजी रामहरि पोखरेलले बाढीले बगाएको सडक खुलाएको बताए।
सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार डाइभर्सनका लागि ११ करोडको स्टिमेट भएकोमा साढे दुई करोड खर्च गरेर सडक विभागले नै डाइभर्सन बनाएको हो।