
उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयरकपमा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार गोदावरी– १०, झ्यालुन्टारस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालामा सम्पन्न समूह चरणको अन्तिम खेलमा कीर्तिपुर नगरपालिकाले कोन्ज्योसोम गाउँपालिकाविरुद्ध ३–० को सहज जित दर्ता गर्यो ।
जितसँगै दुई खेलमा चार अंक जोडेको कीर्तिपुर समूह ‘डी’को विजेता बन्यो । यससँगै तारकेश्वर नगरपालिका र कोन्ज्योसोम भने समूह चरणबाटै बाहिरिएका छन् । तारकेश्वरले दुई र कोन्ज्योसोमले एक अंक जोडे । यसअघि कीर्तिपुर र कोन्ज्योसोमले तारकेश्वरसँग क्रमशः १–१ र २–२ को बराबरी खेलेका थिए ।
सेमिफाइनलमा कीर्तिपुरले साबिक विजेता काठमाडौं महानगरपालि तथा आयोजक गोदावरी नगरपालिकाले दक्षिणकाली नगरपालिकाको सामना गर्नेछन् । कीर्तिपुरलाई जित दिलाउन सन्जोग महर्जन, यमन महर्जन र समीर बोहराले गोल गरे । खेलको २९औँ मिनेटमा सन्जोगको गोलमार्फत कीर्तिपुरले अग्रता लिएको थियो ।