
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानलाई चुनौती दिएर देशलाई वंशवादतिर फर्काउने प्रयास गइरहेको भन्दै माओवादीले जिम्मेवार भएर त्यसको सामना गर्ने बताएका छन् ।
धरानमा आयोजित किराँती राष्ट्रिय मुक्ति मोर्चा र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयुक्त राष्ट्रिय सम्मेलनमा प्रचण्डले राप्रपाका सांसदहरूले यही संविधानअनुसार सदनभित्र बसेर तलबभत्ता र सबै सुविधा लिएर संविधानकै विरोध गरेको भन्दै आलोचना गरे ।
‘देशमा संघीय लोकतान्त्रिक गणतन्त्र छ । त्यही भएर सदनभित्र बसेर यही संविधानअनुसार तलबभत्ता र सबै सुविधा लिने अनि संविधानको विरोध गर्ने अधिकार पाउनुभएको छ । तपाईंको हिजो राजशाहीमा त्यो अधिकार थियो ? जनताले बिर्सेको छैन, बिर्सिने पनि छैन,’ प्रचण्ड’को भनाइ थियो ।
‘प्रचण्ड’ले राप्रपाका सांसदलाई नक्कली राजाको कुरा नगर्न भन्दै रियल राजा (वीरेन्द्र) को वंशनाश भएको विषयमा छानबिन गरौँ भन्ने आँट छ ? भन्दै राप्रपालाई प्रश्न गरेका छन् ।
उनले भने, ‘दरबारभित्रको भयानक सिंगो परिवारको हत्याको छानबिन गर्ने आँट किन गर्नुभएन । मैले गणतन्त्रको पहिलो प्रधानमन्त्रीको हैसियतले प्रस्ताव गरेको थिएँ । दरबारको भयानक हत्याको जिम्मेवार को हो ? जनताको मनमनमा सबैलाई क्लियर छ, यही हो भन्ने । आयोगकै छानबिन नभएकाले भन्न गाह्राे छ । सही छानबिन गर्ने हो भने हाम्रै आँखाअगाडि छन् । प्रमाणित गर्न केही गाह्राे छैन, जनताले बुझ्नुपर्यो फेरि एकपटक जाग्नुपर्यो ।’