
पोखरामा गण्डकी कप महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ गण्डकीको आयोजनामा असार अन्तिम सातादेखि गण्डकी कप महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको हो । अखिल नेपाल फुटबल संघ एन्फाले प्रतियोगिता सञ्चालनका लागि २८ असारदेखि ३ साउनसम्मको मिति दिएको छ ।
प्रतियोगिताको लागी एन्फाको स्विकृतसँगै मिति समेत दिएपछि आयोजकले तयारी तिव्र पारेको आयोजक संघका महासचिव विनोद गुरुङले जानकारी दिए । गुरुङका अनुसार प्रतियोगितामा आठ टोली सहभागी हुने अनुमान छ । उनका अनुसार विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबले सहभागिता जनाउने तय भै सकेको छ भने आयोजकको टोली समेत गरी हाल तीन टोली तय भइ सकेको छ ।
महिला फुटबल गतिविधि कम भै रहेको अवस्थामा प्रतियोगिताले महिला फुटबलको विकासका सहयोग गर्ने अपेक्षा आयोजकको छ । प्रतियोगिता गण्डकी प्रदेशको इतिहासमा पहिलो रहेको बताउँदै गुरुङले दीर्घकालिन सोच राखेर प्रतियोगिता आयोजना गर्न लागेको बताए ।