
नवलपुरको कावासोतीमा आज साँझ भएको सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ। आज साँझ करिब ६ः१० बजे कावासोती नगरपालिका–१, लोकहा नजिकैको भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।
नवलपुर प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते उनीहरूको उपचारको क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डन्डामा निधन भएको हो।
मुन्डेबाट लोकहातर्फ आउँदै गरेको लु१३प ७०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा कावासोती नगरपालिका–११, शान्तिटोलका २३/२४ वर्षीय ईश्वर दर्लामी र सोही स्थानका २१/२२ वर्षीय सागर दर्लामीको मृत्यु भएको हो।
मोटरसाइकलचालकले सन्तुलन गुमाई दुर्घटना भएको प्रहरीले जनाएको छ।