१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १४:१६:oo
Read Time : > 3 मिनेट
अर्थ डिजिटल संस्करण

सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण : ४२१ जना चुचुरो चुम्ने प्रतिक्षामा

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १४:१६:oo

'सगरमाथामा बाक्लो हिउँ परेकाले डोरी टाँग्ने (रोप फिक्सिङ) गर्न गाह्रो भयो। खुम्बु आइसफल क्षेत्रमा ठुला रक र कालापत्थरले भर्‍याङ टाँग्न पनि कठिन भयो,' रोप फिक्सिङ गर्ने दक्ष शेर्पा आरोहीलाई जनाउँदै गर्दै आधार शिविरबाट एक्सपिडिसन अगुवा लाक्पा शेर्पाले भने।

एटके एक्सपिडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको ढोका खोलेपछि यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको हो। सोही कम्पनीबाट खटिएका पाँचजना शेर्पाले बिहीबार ल्होत्से र त्यसअघि आमादब्लम हिमालको चुचुरोमा डोरी टाँगेका थिए।

सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ। विभागका निर्देशक लीलाधर अवस्थीले भने, 'सगरमाथाको चुचुरोमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै यस वर्षको सगरमाथा आरोहण औपचारिक रूपमा सुरु भएको छ र अब अन्य आरोही पनि मौसम अनुकूलता हेरेर शिखरतर्फ लाग्नेछन्।' मौसम अनुकूल रहेकाले पहिलो विन्डमा सर्वाधिक आरोहणको अनुमान गरिएको उहाँले बताउनुभयो।

सगरमाथा आरोही संघका महासचिव शिवबहादुर सापकोटाले सगरमाथा आरोहणको सकारात्मक सन्देशले नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने बताउनुभयो। आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन सम्बद्ध निकाय र एक्सपिडिसन कम्पनीले प्रभावकारी व्यवस्थापन गरेको उनले उल्लेख गरे।

एटके एक्सपिडिसन कम्पनीका प्रबन्ध निर्देशकसमेत रहेका आरोही लाक्पा शेर्पाले सगरमाथा आरोहणका लागि अनुकूल मौसम रहेकाले मे ११ देखि १४ तारिखसम्म सर्वाधिक संख्यामा आरोही चुचुरोमा पुग्ने सम्भावना रहेको बताए। उनले भने, 'मौसम अनुकूल छ। आजदेखि विदेशी आरोहीको आरोहण सुरु हुन्छ। अहिले धेरै संख्यामा आरोही सगरमाथाको तेस्रो शिविरबाट चुचुरोतर्फ लागेका छन्।'

सगरमाथाको तेस्रो शिविर र चौथो शिविरमा अक्सिजनलगायत सामग्री व्यवस्थानमा शेर्पा कामदार खटिएका छन् भने आरोहण प्रतिक्षामा रहेका आरोही आरोहण अभ्यासमा व्यस्त छन्। आधार शिविरदेखि तेस्रो शिविरसम्म आरोही आवतजावत गरिरहेका हुन्। मे १२ देखि १५ सम्म ‘समिट विन्डो‘ छ र उक्त अवधिमा धेरै आरोहण हुने एक्सपिडिसन कम्पनीको अनुमान छ।

मे १६ र १७ मा हिमपात हुने मौसम पूर्वानुमान गरिएकाले त्यसअघि आरोहीको चुचुरो पुग्ने योजना अनुरूप यो पकट आरोहणमा जाम हुन सक्ने जनाइएको छ।

सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङको जिम्मेवारी पाएको एटके कम्पनीका प्रबन्ध निर्देशक शेर्पाले भने, 'योपटक सगरमाथामा बाक्लो हिउँले डोरी टाँग्न गाह्रो भएको छ। पहिलो विन्डमा धेरै आरोहण हुने पूर्वानुमान गरिएको छ।'

अशोक लामाको नेतृत्वमा सातजना शेर्पा टोली सगरमाथाको चुचुरामो पुग्न सफल भएको हो । उक्त टोलीमा छिरिङ पेम्बा शेर्पा, पेम नुर्बु शेर्पा, टासी शेर्पा, कर्मा ग्याल्जेन शेर्पा, टासी ग्याल्जेन शेर्पा र पासतेन्जी शेर्पा रहेका छन्। योपटक सगरमाथाको रोप फिक्सिमा १६ जना शेर्पा खटिएकामा सातजना मात्रै चुचुरोमा पुग्न सफल भएको जनाइएको छ।

सगरमाथामा मात्रै नभई ल्होत्से र आमादब्लम हिमालमा पनि बाक्लो हिउँका कारण बाटो बनाउन कठिन भएको जनाइएको छ। जलवायु परिवर्तनको प्रभावले आरोहण क्षेत्रमा बढी रक भेटिएकाले बाटो बनाउने कार्य कठिन भएको शेर्पाले जनाएका छन्। खराब मौसमका कारण सगरमाथाको दोस्रो शिविरदेखि चौथो शिविरसम्म बाटो बनाउन १४ दिन लागेको कम्पनीले जनाएको छ। चौथो शिविरबाट भने दुई दिनमा शेर्पा टोली चुचुरोमा पुगेका थिए।

'बाटो राम्रो छ, मौसम सफा छ। सयौँ आरोही आरोहणका लागि प्रतिक्षारत छन्,' आरोही शेर्पाले भने, 'मे ११ देखि १५ सम्म धेरै समिट हुने सम्भावना छ। अर्को वेवदर विन्डो मे १९ देखि २४ सम्म रहेको छ।'

यो याममा विश्वकीर्तिमानी आरोशी कामीरिता शेर्पा ३१औँपटक सगरमाथा आरोहण गरेर आफ्नै कीतिर्मान तोड्ने तर्खरमा हुनुहुन्छ। टासी ग्याल्जेन शेर्पा २० दिनमा चारपटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने योजनामा सगरमाथा पुगेका छन्।

त्यस्तै, अर्का विश्व कीर्तिमानी आरोही सानु शेर्पा यो सिजनमा अतिविशिष्ट पाहुना लिएर आरोहणमा गएका छन्। आठ हजार मिटरभन्दा माथिका हिमाल दुईपटक सफल आरोहण गरेका उनले तेस्रोपटक आठ हजार मिटरमाथिका हिमाल आरोहण गरेर आफ्नै नामको कीर्तिमान तोड्ने गर्ने योजनामा छन्। भारतकी सबैभन्दा जेष्ठ नागरिकले आरोहण गर्ने तयारीमा छिन्। योपटक एटके कम्पनीबाट सगरमाथा र ल्होत्सेमा गरी ५५ जना आरोही छन्।

समुद्री सतहदेखि पाँच हजार ३६४ मिटरको  उचाइको आधार शिविरमा अध्याधिक चिसो रहेको शेर्पाले जानकारी दिए। माइनस २० डिग्रीको चिसोको प्रवाह नगरी आरोही आरोहण अभ्यासमा तल्लीन छन्। शिविरमा चहलपहल छ। शेर्पा ‘हाइ क्याप्स सेट’ (तेस्रो र चौथो शिविर व्यवस्थापन) मा छन् भने आरोही लुक्ला नाम्चे, बेस क्याम्पमा छन्। आधाजसो आरोही तेस्रो शिविरतिर पुगेका छन् ।

अहिलेसम्मको अवस्था हेर्दा मे १४ र १५ मा सगरमाथामा बढी ट्राफिक जाम हुने सम्भावना रहेको प्रबन्ध निर्देशक शेर्पाले बताए। योपटक धेरै आरोहीलाई सहज होस भनेर चाँडो सगरमाथाको आरोहण खुलाइएको उनको भनाइ छ।

सगरमाथा आरोहण ४० दिनको हुन्छ। आरोही सगरमाथाको चुचुरोमा पुगेपछि दुई दिनभित्र आधारशिविर झर्छन्। उनीहरूले १० देखि १५ दिन तेस्रो शिविरसम्म अभ्यास गर्छन्।

सभेने समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाका चनुसार मौसम अनुकूल रहेकाले योपटक उत्साहवर्द्धक रूपमा सगरमाथा आरोहण हुने अनुमान गरिएको बताए। उनको कम्पनीमार्फत योपटक पनि १०० भन्दा धेरै आरोही सगरमाथा आरोहणमा गएका छन्।

एक्सपिडिसन अपरेटर एसोसिएसनले दोस्रो शिविरदेखि चुचुरोसम्म रोप फिक्सिङ गरेको छ । सपिसिसीले आधार शिविरदेखि दोस्रो शिविरसम्म खुम्बु आइसफल क्षेत्रको बाटो बनाएको थियो।

सगरमाथा चढ्न ४२१ लाई अनुमति

पर्यटन विभागको पर्वतारोहण शाखाको तथ्यांकअनुसार हालसम्म ४४ आरोही समूहका ४२१ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन्। अझै एक/दुई टिम थपिने विभागको अनुमान छ। अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४५ आरोही समूहका ४२१ जनाले अनुमति लिएका थिए। सगरमाथा आरोहणबाट मात्रै ६५ करोड रोयल्टी सरकारी खातामा जम्मा भएको छ । सबै हिमालबाट ७८ करोड संकलन भएको छ।