१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २७ शनिबार
  • Saturday, 10 May, 2025
रमेश सुवेदी काठमाडाैं
२o८२ बैशाख २७ शनिबार o८:o५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एन्फा साधारणसभा : अदालतको आदेशविपरीत पूर्वअध्यक्ष थापालाई सहभागी गराइएन

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २७ शनिबार o८:o५:oo

अखिल नेपाल फुटबल संघ (एन्फा)को शुक्रबार भएको नियमित साधारणसभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक लगाएपछि स्थिति निकै विवादास्पद बन्यो । साधारणसभामा उपस्थित हुन पाउने उच्च अदालत पाटनको आदेशसहित काभ्रेको धुलिखेल नगरपालिकाको हलभित्र प्रवेश गर्ने योजनामा रहेका थापालाई एन्फाले कार्ड नै उपलब्ध गराएन । हलभित्र प्रवेश गर्न एन्फाले आफूले जारी गरेको कार्ड अनिवार्य गरेको थियो । 

दश वर्ष (१६ अप्रिल २०१५ देखि १५ अप्रिल २०२५) को फिफा प्रतिबन्ध फुकुवापछि थापा सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब आरसी ३२ को प्रतिनिधि बन्दै साधारणसभामा पुगेका थिए । साथमा काठमाडौं जिल्ला फुटबल संघका सदस्य गौरव थापा पनि थिए । गौरवलाई पनि एन्फाले कार्ड नै उपलब्ध गराएन । कार्ड हातमा नपरेपछि थापाले आफूलाई अदालतले साधारणसभामा उपस्थिति हुन गरेको आदेश देखाए । गेटमा थापालाई रोक्न डिएसपीको नेतृत्वमा एक सय प्रहरी परिचालन गरिएको थियो । 

थापाले आफूसँग भएको अदालतको आदेश देखाएपछि गेटमा रहेको प्रहरी टोली हच्किएको थियो । यद्यपि, एन्फाले काभ्रे जिल्लासँग समन्वय गरेर कडा सुरक्षा व्यवस्था गरेपछि थापाले एक घण्टाभन्दा बढी प्रयास गरेँ पनि सभाहलमा प्रवेश गर्न पाएनन् । थापालाई एन्फा कार्यसमितिका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही र सदस्यद्वय रवीन्द्र चन्द र रूपेश अधिकारीले साथ दिएका थिए । उनीहरूले अदालतको आदेश एन्फा नेतृत्वले मान्नुपर्ने र आफूहरू त्यसको भागीदार नबन्ने दाबी गरिरहेका थिए । 

पूर्वअध्यक्ष थापाले भने, ‘कि त मलाई समाहलमा प्रवेश दिनुपर्‍यो, कि त अदालतको आदेश मान्दिन भन्नुपर्‍यो,’ भन्दै नारा लगाएका थिए । उनले अध्यक्ष नेम्वाङविरुद्ध नाराबाजी पनि गरेका थिए । थापाले अदालतको आदेश अवज्ञा भएको भन्दै पुनः उजुरी गर्ने तयारी गरेका छन् । यता, अध्यक्ष नेम्वाङले नयाँ पत्रिकासँग बोल्दै थापालाई फिफाले गरेको फुकुवाको आदेश एन्फालाई हात नपरेका कारण सभाहलमा प्रवेश गर्न रोकेको बताए । 

मुख्य अतिथि लुसुक्क सभाहलमा 
विवादका कारण उद्‍घाटन समारोहका मुख्य अतिथि राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव सभाहलमा लुसुक्क प्रवेश गर्नुपर्ने अवस्था आयो । थापाको समूहले घिसिङलाई मुख्यद्वारमा रोक्ने अवस्था देखेपछि एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले घिसिङलाई सभाहलको पछाडिको गेटबाट लुकाएर कार्यक्रमस्थल पुर्‍याएका थिए । कार्यक्रम उद्घाटन गर्न पानसमा बत्ती बाल्न लागेका सदस्यसचिव घिसिङलाई एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले रोकेका थिए । अध्यक्ष नेम्वाङले वरिष्ठ उपाध्यक्ष खड्कालाई हटाएपछि राखेप अध्यक्ष घिसिङले पानसमा बत्ती बालेर साधारणसभा उद्‍घाटन गरे । तर, खड्का रोकिएनन् । यता, उद्घाटन सत्रपछि सभाहलको पछाडिबाट पार्किङ हुँदै काठमाडौं फर्किँदै गरेका घिसिङलाई पूर्वअध्यक्ष थापाले बाटोमै रोकेरै ज्ञापनपत्र बुझाएका थिए ।

यसअघि एन्फाले साधारणसभामा आफूलाई रोक्ने दाउ पाएपछि पूर्वअध्यक्ष थापाले साधारणसभामा भाग लिन पाउनुपर्ने मागसहित उच्च अदालत पाटनमा रिट दायरा गरेका थिए । २१ वैशाखमा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टको एकल इजलासले थापालाई नरोक्न आदेश थिएको थियो । तर, आदेश रोक्न एन्फाले भ्याकेटको निवेदन दिएको थियो । तर, उच्च अदालतले एन्फालाई भ्याकेट दिन अस्वीकार गरेपछि थापा आदेशसहित धुलिखेल पुगेका थिए । 

एन्फाको वार्षिक बजेट डेढ अर्बमाथि
एन्फाको साधारणसभाले सन् २०२५ का‌ लागि एक अर्ब ५६ करोड ३२ लाख नौ हजार चार सय ५० रुपैयाँ बजेट अनुमोदन गरेको छ । यो गत वर्षको भन्दा बढी हो । अघिल्लो वर्ष फिफाबाट प्राप्त अनुदानमध्ये पूर्वाधारतर्फको ४७ करोड ७६ लाख ७१ हजार पाँच सय ४२ रुपैयाँ बजेट यसपटकलाई सारिएको छ । गत वर्षको फिफा र एएफसीको भौतिक पूर्वाधारको खर्च गर्न नसकेको बजेटलाई यो वर्ष निरन्तरता दिएको र सो बजेटसमेत जोडिँदा बजेटको आकार ठुलो भएको हो ।