१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
शुरोजंग पाण्डे काठमाडाैं
Invalid date format ११:५९:oo
Read Time : > 8 मिनेट
फिचर प्रिन्ट संस्करण

प्रगतिशील साहित्यमा अग्ला प्रदीप

निष्ठावान् बहुआयामिक जीवनवादी प्रतिभाको देहान्त

Read Time : > 8 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५९:oo

‘मृत्यु पनि मान्छेपिच्छे फरक हुँदोरैछ, 
देशभक्त छोरो मर्दा देशै रुँदो रैछ...’ 

जननेता मदन भण्डारीको निधनका वेला स्व. जेबी टुहुरे सर्जक रहेको गीतका शब्द हुन् यी । योे साता प्रगतिशील साहित्यका नक्षत्र तथा स्पष्टवक्ता राजनीतिज्ञ प्रदीप नेपालको निधनले देश शोकमग्न र स्तब्ध छ । 

जीवनवादी बहुआयामिक प्रतिभा नेपालले चार वर्षअघि नै निबन्धमार्फत आफ्नो मृत्युइच्छापत्र सार्वजनिक गरेका थिए । मार्क्सवादी अध्येताका रूपमा जीवन र जगत्लाई भौतिकवादी दृष्टिकोणबाट गहिराइमा आत्मसात् गरेका नेपालले नर्भिक अस्पतालको मृत्युशय्यामा पनि लर्बराएको बोलीमा परिवारसँग इच्छा मृत्युइच्छापत्रकै शब्द दोहर्‍याए । एक दशकदेखि पार्किन्सन र अलजाइमर रोगबाट पीडित नेपालले ०७८ मा सार्वजनिक गरेको ‘एक मानु हो चाहिने’ निबन्ध संग्रहमा आत्मस्वीकृति शीर्षक दिएर अन्तिम इच्छा लेखेका थिए । ‘म मरेपछि मेरो शवमा पार्टीको झन्डा नराख्नुहोस् ।’ 

त्यही सन्देशको मर्म पछ्याउँदै श्रीमती झुमा देवान, भाइ समीर र भाञ्जा सुरेशसहित परिवारको सल्लाहले अघिल्लो मंगलबार नेपालको सादगी बिदाइ गरियो । उनी सम्बद्ध पार्टी एमालेले पनि श्रद्धाञ्जलीको कुनै औपचारिक कार्यक्रम गरेन । गोठाटार काँडाघारीस्थित निवासमा भाइ समीर आशोचमा बसेका छन् । तर, उनकै इच्छाअनुसार परम्परागत संस्कारलाई ब्रेक गर्दै पाँच दिनमै आज(शनिबार) किरियाकर्म सम्पन्न गरिँदै छ । 

‘निबन्धको सन्देश त हुँदै हो, बिरामीले च्याप्दै गएपछि पनि वेलावेला उहाँले मेरो मृत्युपछि किन दुःख पाउँछौ ? कुनै परम्परागत सांस्कारिक कर्म नगर्नु भनेर सम्झाउनुहुन्थ्यो’ भाइ समीरले नयाँ पत्रिकासँग भने, ‘उहाँ गरुड पुराणको सबभन्दा विरोधी हुनुहुथ्यो, व्यक्तिगत स्वार्थपूर्ति हुने गरी पुराणहरू बनेका हुन् भन्ने गर्नुहुन्थ्यो, त्यसैले दाइले सम्झाएजस्तै सबै नभए पनि सन्देशकै मर्मअनुसार सादगी तरिकाले पाँच दिनभित्रै सांस्कारिक कर्म सम्पन्न गर्दै छौँ ।’

             ०००                           ०००

भोजपुरको गोगनेमा २८ पुस ०१० मा जन्मिएका नेपाल २०२६ सालदेखि विद्यार्थी राजनीतिमा जोडिए । पञ्चायतविरुद्ध मुस्लो संगठनको नामबाट पर्चा छरेको आरोपमा ०३२ मा पक्राउ परेका नेपालले कोकेका नेता घनेन्द्र बस्नेतबाट सेन्ट्रल जेलभित्र तत्कालीन कोअर्डिनेसन केन्द्रको सदस्यता लिए । एउटै जिल्लावासी भएकाले प्रदीप र घनेन्द्रबिच जेलमा भावनात्मक सामीप्य थियो । सेन्ट्रल जेलबाट नख्खु सारिएपछि मृत्युलाई जित्ने क्रान्तिकारी योद्धाका रूपमा घनेन्द्र नेतृत्वकै स्टडी ग्रुपमा रहेर नख्खु जेल ब्रेक योजना निर्माणमा सामेल भए । जेल ब्रेकपछि मकावनपुरको फापरबारीबाट १५ जना तितरबितर भए र केही समय वनारस पुगेर स्वदेश फर्किए । जेल ब्रेकपछि संगठन निर्माणमा सक्रिय उनी कोकेको २०३५ मा सम्पन्न पहिलो सम्मेलनबाट निर्वाचित १० सदस्यीय केन्द्रीय कमिटीमा  निर्वाचित भएका थिए । त्यही कमिटीले नै माले स्थापना गरेकाले उनले पार्टीका संस्थापक नेता बनेर लुम्बिनी क्षेत्रमा रहेर लामो समय काम गरे । 

पूर्वराष्ट्रपति भण्डारीका ‘अंकल’, विष्णु पौडेलका गुरु  
नख्खु जेल ब्रेकपछि मालेको संगठन निर्माणका क्रममा प्रदीप लुम्बिनी खटिए । बुटवलमा मार्क्सवादी अध्येता, दर्शनका ज्ञाता गोपिरमण उपाध्यायको निवासमा उनको बाक्लो आवतजावत थियो । त्यही क्रममा प्रगतिशील सोचसहित अगाडि बढिरहेका उपाध्यायका सालो विष्णु पौडेल भेटिए । छोटो भेटबाटै प्रभावित प्रदीपले नै पारिवारिक सल्लाहमा पौडेललाई तत्कालीन मालेको भूमिगत राजनीतिमा संलग्न बनाउँदै ‘ग्रुम’ गरे । तत्कालीन एमाले–माओवादी एकीकरणबाट नेकपा बन्दा महासचिव बनेका उनै पौडेल ०७४ को निर्वाचनपछि झन्डै दुईतिहाइ मतसहितको कम्युनिस्ट सरकारको पहिलो अर्थमन्त्री बने । राजनीतिक पाठशालाको प्रारम्भिक भूमिगत जीवन सम्झिँदै पौडेलले राष्ट्रपति कार्यालयमा मन्त्रीको शपथ लिएपछि पदबहालीअगावै उनै प्रदीपलाई गोठाटारस्थित निवासमा भेटेर गुरुका रूपमा सम्मान मात्र गरेनन्, पद सम्हाल्नुअघि भलाकुसरीसहित सुझाव पनि लिएका थिए । उनै पौडेललाई सरकारतर्फबाट प्रदीपको अन्तिम बिदाइको संयोग जुर्‍यो । परिवारको अनुमतिमा सरकारको तर्फबाट राष्ट्रिय झन्डा ओढाउँदै पौडेलले भारी मनमा पशुपतिस्थित विद्युतीय शवदहा गृहमा अन्तिम श्रद्धाञ्जली दिएका थिए । पौडेलले पूर्णकालीन राजनीतिमा डोर्‍याउने गुरुका रुपमा सम्झिदैं सामाजिक संजालमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

लुम्बिनी हुँदै पार्टी कामको सिलसिलामा मेची पुगेका प्रदीपको सम्पर्क भूमिगत राजनीति गरिरहेका मदन भण्डारीसँग स्थापित भइसकेको थियो । विराटनगरको महेन्द्र मोरङमा अध्ययन गरिरहेकी विद्या भण्डारी त्यतिवेला प्रदीपका जेठा दाइकी छोरीसँगै सहपाठी थिइन् । त्यसबखतको भेटघाटसँगै प्रदीप विद्याको अंकलका रूपमा चिनिए । विद्याले प्रदीपका दाइलाई ठुलो बुबा र प्रदीपलाई अंकल सम्बोधन गर्थिन् । मदनसँगको बिहेपछि पनि अंकल नै सम्बोधन गर्ने विद्या पार्टीमा क्रमशः सक्रिय बन्दै गएपछि मात्र उनीहरूबिच कमरेडली सम्बन्ध विकास हुँदै गएको हो । 

गायक सिरोज हुँदै स्थापित, साहित्यकार उर्फ सञ्जय थापा
स्थापित प्रगतिशील साहित्यकार उर्फ सञ्जय थापाका रूपमा मात्र धेरैले प्रदीप नेपाललाई चिन्ने गरेका छन् । जबकि, साहित्य सर्जकका रूपमा स्थापित हुनुअघि उनी जेल कस्टडी र भूमिगत जीवनमा मार्क्सवादी चेतका गीतको रचना मात्र होइन, संगीत भरेर आफैँ गाउँथे पनि । माले कालमा जनता जगाउन स्थापित राल्फा समूहमा रहेका दाइ मञ्जुलको सानिध्यमा रहेका उनी त्यही समूहको दोस्रो तहका एक प्रभावशाली संगीतकार र गायकका रूपमा उदाएका थिए ।

‘उहाँले सिरोज सोनभको नाममा दर्जनौँ गीत सिर्जना गर्नुभएको थियो, कतिमा आफैँले संगीत भर्नुभयो, कतिमा स्वर दिनुभयो,’ भाइ समीर सम्झिन्छन्, ‘२०३४/३५ तिर आइपुग्यो प्यारो नेकपा माले जनतालाई जगाउन.... गीत अझै पनि धेरैले सुनेका छन् ।’ त्यसो त, जेल सहकर्मी घनेन्द्र बस्नेत साहित्य सिर्जनाअगावै प्रदीप नेपाल दर्जनाैँ जनवादी गीतको सर्जकका रूपमा स्थापित भएको सम्झिन्छन् । ‘उहाँ लेखक पनि हो, गायक पनि हो, संगीतकार पनि हो,’ जेल सहकर्मी घनेन्द्रले सम्झिए, ‘मैले लेखेका थुप्रै जनवादी गीतमा उहाँले संगीत भर्नुभएको छ ।’

दंगाली समूह तत्कालीन मालेमा समाहित हुने भएपछि झापाली क्रान्तिकारीलाई सम्बोधन गर्दै त्यो समूहले अलग्गै गीत रच्यो– लाल सलाम झापालीलाई हामी दंगालीको ..., प्रत्युतर गीत उनै प्रदीपले फर्काए– लाल सलाम दंगालीलाई हामी झापालीको ...।’ संगीत पनि प्रदीपकै थियो । घनेन्द्र भन्छन्, ‘उहाँ मृत्युलाई पनि जित्न सक्ने दृढ क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो, उहाँको वैचारिक, सैद्धान्तिक पक्षबारे त टिप्पणी गर्नै परेन, उहाँ आफूलाई लागेपछि जसरी पनि स्थापित गर्न लागिरहने योद्धा हुनुहुनथ्यो र मृत्युपछि पनि आफूलाई साँच्चै भौतिकवादी दृष्टिकोणका चिन्तक र जीवनवादी व्यक्तित्वकै रूपमा स्थापित गर्न सफल हुनुभएकाले उहाँको जति प्रशंसा गरे पनि कमै हुन्छ ।’

राल्फाली समूहका रामेश, रायन र मञ्जुलहरूजत्तिकै प्रदीप पनि प्रिय थिए । जेल ब्रेकपछि उनले मुक्त आकाशको खोजी संस्मरण लेखे र सशक्त प्रगतिवादी साहित्यकारका रूपमा उभ्याउँदै गए । मोदनाथको देवासुर संग्राम पढेर थुप्रै युवा कम्युनिस्ट बने, जस्तै– उनको देउमाईको किनार उपन्यास पढेर भूमिगत कालमा थुप्रै कम्युनिस्ट बने । भूमिगतकालमा साहित्यकार सञ्जय थापका नामले चिनिएका उनको मुक्त आकाशको खोजी संस्मरण, देउमाईको किनारसँगै खुइते कडरिया, स्वप्निल सहर, पार्टीकी आमा, सुम्निमा, आकाशगंगाको तिरैतिरलगायत चार दर्जनभन्दा बढी कृति छन् ।

कुशल पत्रकार, प्रखर वक्ता, प्रविधिमा अगुवा 
भूमिगतकालमा प्रदीपले मिसन पत्रकारिताको कमान्ड सम्हालेका थिए । दृष्टि, छलफलजस्ता मालेको योजनामा जन्मिएका पत्रिकाको कमान्डर उनै थिए । त्यति मात्र होइन, पत्रकारिता पृष्ठभूमिबाट उदाएका नेतासमेत थिए नेपाल । मिसन पत्रकारिताका लागि स्थापित छलफल साप्ताहिकको संस्थापक र पूर्वसम्पादकसमेत रहेका नेता नेपालले लामो समयदेखि समसामयिक विषयमा विभिन्न पत्रपत्रिकामा स्तम्भकारकै रूपमा कलमसमेत चलाउँदै आएका थिए । पत्रकारिता पृष्ठभूमि भएका कारण उनी मिडियाको सधैँ हेडलाइन बने । कुनै वेला आफ्नो अन्तर्वार्ता लिनका लागि मिडियाले पैसा दिनुपर्ने नियमसमेत बसाएर चर्चामा आएका थिए नेपाल । भूमिगत कालमा मात्र होइन, ०४६ पछिको खुला परिवेशमा पनि पार्टीभित्र हुर्किएको निम्न पुँजीवादी चिन्तन र अनेकन् गलत प्रवृत्तिविरुद्ध प्रस्ट बोल्न र लेख्न सक्ने समालोचक पत्रकार नेपाल पत्रकारिताको मर्म र सन्देशलाई नजिकबाट बुझ्थे । प्रगतिशील पत्रकारका गुरु मात्र होइन, लामो समयसम्म उनले संरक्षककै भूमिकासमेत निभाएका थिए ।

नेपालमा पहिलोपटक ल्यापटप र कम्प्युटर चलाउने नेताका रूपमा मात्र होइन, पहिलोपटक मोबाइल फोन प्रयोग गर्ने कम्युनिस्ट नेताका रूपमा समेत उनी सधैँ चर्चामा थिए । कम्युनिस्ट नेता भएर उद्योगपति बुर्जुवाले जस्तो मोबाइल फोन प्रयोग गरेकोमा पार्टीभित्र र बाहिर उनको धेरै आलोचनासमेत भएको थियो भने तत्कालीन महासचिव माधवकुमार नेपालले त उनलाई बोलाएर प्रस्टीकरण नै लिएका थिए ।

ओलीले प्रदीपको सात सय पारिश्रमिकमा रोक लगाएपछि ...
दृष्टि, छलफलजस्ता पत्रिकामा मिसन पत्रकारिताका लागि नेतृत्वदायी भूमिकामा रहेर काम गरेका प्रदीप नेपालबारे त्यतिवेलाका सहकर्मी पत्रकार राजेन्द्र स्थापितले २४ वैशाखमा नेपाल प्रेसमा विगतका दिन सम्झिएका छन् । तत्कालीन पार्टी इन्चार्ज केपी ओलीले प्रदीपको पारिश्रमिक रोक लगाएको एउटा प्रसंगलाई उनले यसरी खुलाएका छन् ।

प्रदीप कमरेडले आफ्ना लेख त लेख्नु नै हुन्थ्यो । कहिलेकाहीँ सम्पादकीय, समाचार र अरूका लेख र समाचार पनि सम्पादन गरिदिनुहुन्थ्यो । त्यसैले उहाँलाई हामीले महिनाको सात सय रुपैयाँ दिन थाल्यौँ । दृष्टिका पाठकमाझ मोदनाथ प्रश्रितको ‘जीवनको गारेटो’, प्रदीप नेपालको ‘मुक्त आकाशको खोजीमा’ र अग्निशिखाको ‘विश्वको सेरोफेरो’जस्ता स्तम्भ लोकप्रिय थिए । पत्रिका बिक्री भएर पैसा आउँथ्यो नै । त्यही पैसाले अफिस, टेलिफोन, खाना, नास्तासँगै काम गर्ने स्टाफलाई तलब पनि दिन थालियो । जसका स्तम्भले पत्रिका चलेको छ, ती लेखकलाई पनि केही न केही पैसा दिनुपर्छ भनेर अरूलाई भन्दा पनि प्रदीप कमरेडको सहयोग अलिक बढी भएका कारण दिऔँ भन्ने सल्लाह भएर सात सय रुपैयाँ दिन थाल्यौँ ।

त्यसवेला पार्टीको प्रचार विभाग प्रमुख केपी ओली हुनुहुन्थ्यो । प्रदीप कमरेडलाई सात सय रुपैयाँ दिएको कुरा कसैले उहाँलाई रिपोर्ट गरेको रहेछ । एक दिन केपी कमरेड दृष्टिको अफिसमै आउनुभयो । भित्र नछिरी ‘राजेन्द्र, तिमी यता आऊ’ भन्दै बाहिरैबाट मलाई बोलाउनुभयो । म गएँ । उभिएरै सोध्नुभयो, ‘प्रदीप कमरेडलाई तपाईंहरूले पैसा दिने गरेको हो ?’ मैले ‘हो’ भनेँ । ‘कति पैसा हो ?’, उहाँले सोध्नुभयो । मैले भनेँ, ‘सात सय हो कमरेड ।’ त्यसपछि केपीले ‘अबदेखि नदिनू’ भन्नुभयो । मैलेचाहिँ पैसा दिनैपर्छ भन्नलाई कारण सुनाएँ– ‘उहाँले जे जस्तो सहयोग गर्नुभएको छ, त्यति नै काम गर्ने मान्छे बाहिरबाट राख्दा हजारौँ तलब माग्छन् । त्यसैले उहाँले लेखेजतिको थोरै पारिश्रमिक दिएको हो कमरेड, यसमा केही नगरौँ होला ।’

केपीले मान्नुभएन । ‘इन्चार्जले भनेको हो, तपाईंले कार्यान्वयन गर्ने हो । लेख्ने मान्छे भएन भने भन्नु नि, मै लेखिदिउँला,’ यति भनेर उहाँ फर्किनुभयो । प्रचार विभागको प्रमुख र दृष्टिको इन्चार्ज पनि उहाँ नै हुनुहुन्थ्यो । उहाँले भनेपछि मैले प्रदीपलाई पैसा दिन मिलेन । यो कुरा प्रदीप कमरेडलाई त भन्नुपर्ने भयो । प्रदीप आएको वेला मैले केपी कमरेडले भनेको कुरा सुनाएँ । सबै कुरा सुनेपछि प्रदीपले भन्नुभयो, ‘ठीकै छ, म पैसा नलिउँला । मैले अहिलेसम्म दृष्टिलाई जेजति सहयोग गरेको छु, अबदेखि नगरौँला ।’

यो फेरि अर्को अप्ठेरो कुरा भयो । पार्टीले नै नदिनु भनेपछि मैले दिन मिलेन । मलाई कस्तो अप्ठ्यारो पर्‍यो भने, प्रदीपको मुख हेरौँ कि पार्टी इन्चार्जको ? शम्भुहरूलाई सोधेँ, ‘पार्टीले भनेको त मान्नैपर्छ’ भन्ने कुरा भयो ।

यसपछि केही समय उहाँ दृष्टिमा कम आउन थाल्नुभयो, तर दृष्टि पत्रिकाको अफिस मात्रै थिएन, प्रदीप कमरेडको सम्पर्क कार्यालयजस्तै भइसकेको थियो । बिस्तारै–बिस्तारै लेख्न पनि थाल्नुभयो । केपी कमरेड प्रचार विभागबाट अरू नै जिम्मेवारीमा गएपछि झलनाथ खनाल विभागको प्रमुख हुनुभयो । हामीले प्रदीप कमरेडलाई फेरि पैसा दिन थाल्यौँ, उहाँले पनि सक्रियताका साथ लेख्ने काम गरिरहनुभयो ।

                ०००                         ०००

नेपाल ०५१ सालमा तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको नौमहिने कम्युनिस्ट सरकारमा सञ्चारमन्त्री भए । त्यसअघि ०५० सालमा राष्ट्रिय सभा सदस्य रहेका उनी ०५५ सालमा जलस्रोत र स्वास्थ्यमन्त्री भए । ०५६ सालमा काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी बनेका नेपाल ०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा शिक्षामन्त्री भएका थिए । २०६४ सालको पहिलो संविधानसभा चुनावमा भने उनी नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए । नेतृत्व हस्तान्तरणका मुद्दालाई पार्टीभित्र प्रवेश गराएर ६० वर्षको उमेरमा अवकाश लिने घोषणा गरेका उनले ०७२ पछि निष्क्रिय बनेर वचन पूरा गरे । कोकेकालदेखि निरन्तर केन्द्रीय सदस्य रहेका उनी ०५० को पाँचौँ महाधिवेशनमा तत्कालीन महासचिव मदन भण्डारीको जबजको कार्यक्रमको प्रवक्ताजस्तै थिए । यद्यपि, उनलाई महाधिवेशनबाट केन्द्रीय सदस्य बनाइएन, तर पछि मनोनीत भए ।

०५४ को छैटौँ महाधिवेशनदेखि नवौँ महाधिवेशनसम्म निरन्तर स्थायी कमिटी सदस्य रहेका नेपाल ०६५ को आठौँमा महासचिव र ०७१ को नवौँ महाधिवेशनमा उपाध्यक्षको प्रत्यासी बनेर पराजित भए पनि केपी ओलीलाई अध्यक्ष जिताउन धेरै मिहिनेत गरे । यद्यपि, पछिल्ला दिनमा उनले ओलीबाटै किनाराकृत महसुस गरे । पार्किन्सन रोगले ०७१ मा एमालेको उपाध्यक्षमा पराजित भएपछि राजनीतिबाट उनले करिब–करिब विश्राम लिइसकेका थिए । तर, ०७४ को निर्वाचनमा समानुपातिकबाट सांसद बन्ने इच्छा प्रकट गरे पनि सफल भएनन्  । आफ्नो उपचारमा सहयोग हुने आसमा एमालेले समानुपातिक सांसद बनाइदिओस् भनेर अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रस्ताव गरे पनि दुवैले नपत्याएपछि उनी कर्नरमा परेका थिए । आफ्नो प्रस्तावलाई शीर्ष नेताले लत्याएपछि बिरक्तिएका उनले ‘मैले अरूलाई दोष दिन मिल्दैन, म देशकै लागि असान्दर्भिक भएको छु ।’ भन्दै सार्वजनिक रूपमै भनेका थिए,‘मजस्ता सयौँ कार्यकर्ता छन्, जो समानुपातिकमा परेनन्,’ उनले मिडियामा बोलेका थिए, ‘समानुपातिकमा नेताका आफन्त र ५२/५४/६० मा एमालेमा आएकाहरू परेछन् । तत्कालीन मालेकालका कोही पनि परेनन् । हाम्रो पार्टी हाम्रो सपनाभन्दा बाहिर गइसक्यो ।’

राजनीतिबाट विरक्तिएका उनले ०७४ सालमै आफूलाई एमाले नेता नभन्न आग्रह गरेका थिए । ‘मलाई एमाले नेता नभनी साहित्यकार भनिदिनुभए राम्रो हुन्छ, ।’ 

आखिरी समयमा राजनीतिप्रति दिक्दारी 
परिवारका सदस्यका अनुसार राजनीतिक अस्थिरता, प्रमुख दलका शीर्ष नेताहरूको सरकार ढाल्ने, झुटो बोल्नेजस्ता अनैतिक कार्यशैली र व्यवहारसँगै एमालेको पछिल्लो विभाजनप्रति नेपालले दिक्दारी जनाएर असन्तुष्टि प्रकट गर्दै आएका थिए । ‘अहिले देशको परिस्थिति ठिक भएन, राजनीतिक अस्थिरताले जनतामा असन्तुष्टि बढ्यो, आन्दोलनको लक्ष्यबाट पार्टीहरू विचलित बन्न थाले, नेताहरूको सोच र कार्यशैली पनि ठिक भएन, वेलावेला भन्ने गर्नुहुन्थ्यो,’ नेपाललाई उद्धृत गर्दै भाञ्जा सुरेश निरौलाले नयाँ पत्रिकासँग भने ।

०७८ मा पार्टी फुटपछि कतै नखुलेका उनको नाम नेकपा एसले निर्वाचन आयोगमा दल दर्ता गर्दा राखे पनि हस्ताक्षर गरेनन् । उनलाई माधव नेपाल आफैँले गएर भेटे, फकाउने कोसिस गरे । त्यतिवेला साथमा हुने वचन दिएका उनी अन्तिममा भने खुलेनन् । दल दर्ताका लागि निवेदन दिएको भोलिपल्ट ३ भदौ ०७८ मा नेपालले एकीकृत समाजवादीमा नबस्ने घोषणा गरे । पार्टी विभाजनबाट विरक्तिएकै कारण पनि उनले कुनै पनि पार्टीको झन्डा नओढाउन सन्देश दिएको परिवारका सदस्यहरूको बुझाइ छ । 

नेतृत्वमा युवाको पक्षपोषक 
सानिध्यमा रहने पार्टीको युवा पुस्ताका लागि प्रदीप नेपाल उत्प्रेरकको भूमिका खेल्ने अशल अभिभावकजस्तै थिए । ‘भृकुटीमण्डपमा पार्टीको नवौँ राष्ट्रिय महाधिवेशन चलिरहेको थियो । दोस्रो दिन महाधिवेशन स्थलमा कमरेड प्रदीप नेपालसँग जम्काभेट भयो । उहाँले सदाझैँ ‘अनेरास्ववियुबाट बिदा भएपछि रचना के गर्दै छ’ भनी सोध्नुभो । त्यतिवेला म भर्खर अनेरास्ववियुबाट बिदा भएको थिएँ र पार्टी काम कहाँ रहेर  कसरी गर्ने भन्ने द्विविधामा थिएँ । मैले आफ्नो कुरा बताएँ,’ नेपालको ढाडस पाएर त्यही महाधिवेशनबाट विद्यार्थी राजनीतिहुँदै केन्द्री सदस्यमा ‘डेब्यु’ गरेकी रचना खड्का सम्झिन्छिन्, ‘त्यसपछि प्रदीप कमरेडले भन्नुभो– पार्टीको दीर्घकालीन भविष्यको लागि रचनाको पुस्तालाई पार्टीको  केन्द्रीय कमिटीमा ल्याउनुपर्छ । केन्द्रीय सदस्य उठ्नू । मैले भनेँ छिटो भयो भन्छन् कि, जितिन्छ त कमरेड ? उहाँले भन्नुभो– म हात समाएर तँलाई भोट माग्छु, मलाई दिनुपर्दैन, यो रचनालाई दिनुस् भन्छु, त्यसपछि म महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बनेँ । सबैभन्दा कम उमेरको केन्द्रीय सदस्यको रूपमा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएँ ।’ 

नवौं महाधिवेशनमा तीस टेक्दै गरेकी रचना जस्ता धेरैभन्दा धेरै युवा क्याडरलाई केन्द्रमा देख्न चाहने युवाका उत्प्रेरक, प्रगतिवादी साहित्यका धरोहर, चम्किला तारा अस्ताउँदा सिंगै देश रोएको छ, भावपूर्ण श्रद्धाञ्जली, अलबिदा प्रिय सञ्जय !