
चलचित्र ‘राजकुमारी’को औपचारिक निर्माण घोषणा गरिएको छ। चलचित्रको टाइटल सार्वजनिक गर्दै निर्माण टिमले करिब पाँच करोड अनुमानित लागतमा चलचित्र बनाउन लागेको जनाएको छ।
चलचित्रको लेखन तथा निर्देशन रिम विश्वकर्माले गर्दै छन्। निर्देशक विश्वकर्माले यस चलचित्रलाई ‘ड्रिम प्रोजेक्ट’को रूपमा लिएको बताए। उनले भने, ‘मैले यसअघि पनि केही चलचित्र बनाएको थिएँ, तर यो प्रोजेक्ट मेरा लागि डेब्यु निर्देशनजस्तै हुनेछ। यसका पछाडि केही कारण छन्, त्यो म पछि खुलाउनेछु।’
रेडलाइन्स फिल्म प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रलाई पिबी थापाले एकल रूपमा लगानी गर्दै छन्। फिल्मको मुख्य पात्र राजकुमारीको भूमिकाका लागि अभिनेत्रीको छनोट प्रक्रिया जारी रहेको जनाइएको छ। अन्य कलाकार र प्राविधिक टोलीको चयन भने लगभग अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ।
चलचित्रको अधिकांश छायांकन काठमाडौंमा हुनेछ भने अन्य केही दृश्य मुस्ताङ, पोखरालगायतका क्षेत्रमा पनि खिच्ने तयारी गरिएको छ।