
मुगु जिल्ला सदरमुकाम गमगढीमा ‘स्थानीय सरकारमा वित्तीय अनुशासन पालना, बेरुजु फर्स्याेट र सुशासन प्रवर्द्धन’सम्बन्धी अन्तर्क्रिया सम्पन्न भएको छ। गाउँपालिका राष्ट्रिय महांसघको आयोजनामा आज शुक्रबार अन्तर्क्रिया भएको हो।
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार जिल्लाका चार स्थानीय तहको बेरुजु एक अर्ब ३० करोड १५ लाख २० हजार रहेको छ। मुगुमा एक नगरपालिका र तीन गाउँपालिका छन्। यो बेरुजु स्थानीय तह कार्यान्वयन भएदेखि आर्थिक वर्ष ०७९/८० सम्मको हो।
मुगुका चार स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु सोरु गाउँपालिकाको छ भने सबैभन्दा कम मुगमकार्मारोङ गाउँपालिकाको छ। सोरुको बेरुजु ६१ करोड २२ लाख ९३ हजार रुपैयाँ छ भने मुगुमकार्मारोङको ६ करोड ६६ लाख ३८ हजार रुपैयाँ छ।
यसैगरी, छायानाथ रारा नगरपालिकाको १९ करोड ३५ लाख २३ हजार रुपैयाँ बेरुजु देखिँदा खत्याड गाउँपालिकाको ४२ करोड ९० लाख ६६ हजार रुपैयाँ बेरुजु छ।
गमगढी बजारमा आयोजित कार्यक्रममा महालेखा परीक्षकको कार्यालयका निर्देशक जगनाथ घिमिरेले जिल्लाको बेरुजु अवस्थाबारे जानकारी दिएका हुन्। उनका अनुसार मुगुका स्थानीय तहमा रहेको बेरुजु रकम केही असुली, केही प्रमाण कागजात पेस गर्नुपर्ने र केही नियमित गर्नुपर्नेछ।