
अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्ड ६ लेनमा विस्तार भइरहेको छ। भक्तपुर जिल्लामा पर्ने सूर्यविनायक–साँगा र काभ्रेपलाञ्चोक जिल्लामा पर्ने साँगा–धुलिखेल गरी दुई खण्डमा विस्तार भइरहेकोमा साँगा–धुलिखेल खण्डमा सडक कालोपत्रे सुरु भएको हो।
साँगा–धुलिखेल सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार बाँसघारीदेखि धुलिखेल चोकसम्म एक किलोमिटर सडक कालोपत्रे गर्न सुरु भएको छ। ‘एक किलोमिटर सडकको एकातर्फ कालोपत्र गर्न सुरु गरेका छौँ। अर्काे एक किलोमिटर तयार गर्दै छौँ,’ खनालले भने, ‘अहिले आधुनिक प्रविधिबाट कालोपत्रको पहिलो लेयर सकेर दोस्रो लेयरको काम भइरहेको छ।’
इन्जिनियर खनालका अनुसार सडकको मेन भागमा ८० सेन्टिमिटरको कालोपत्र हुनेछ। पहिलो लेयरमा ३०–३५ सेन्टिमिटरको सबबेस, त्यसपछि २० सेन्टिमिटरको सिटिपी, त्यसमाथि १० सेन्टिमिटरको क्रयाक रिलिफ लेयर, त्यसमाथि ११–१३ सेन्टिमिटरको डिबिएम र त्यसमाथि ६ सेन्टिमिटरको आस्पाल्ट कंक्रिट लेयर गरी जम्मा ८० सेन्टिमिटरको आधुनिक प्रविधिबाट पिच हुने उनले जानकारी दिए।
सडकखण्ड दुई सर्भिस लेन र चार मेन लेनसहित ६ लेनको बनाउने ठेक्का सम्झौता छ। हालसम्म साँगा–धुलिखेल सडकखण्डको भौतिक प्रगति ४७ प्रतिशत भएको इन्जिनियर खनालले जानकारी दिए। असार मसान्तभित्र तीन किलोमिटर सडक कालोपत्रे गरेर करिब ६० प्रतिशत भौतिक प्रगति बनाउने उनको भनाइ छ।
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेलखण्ड १६ किलोमिटर छ। जसमा सूर्यविनायक–साँगा ७.५ किलोमिटर र साँगा–धुलिखेल ८.५ किलोमिटर रहेको छ। उक्त ६ लेन सडक विस्तारको काम तीन वर्षमा सम्पन्न गर्ने गरी सूर्यविनायक–साँगासम्मको ठेक्का ०७९ मंसिर र साँगा–धुलिखेलसम्मको ठेक्का ०७९ पुसमा लागेको थियो। पुल निर्माणका लागि ०७९ चैतमा सम्झौता भएको थियो।
साँगा–धुलिखेल सडकखण्डका लागि चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो। उक्त खण्डको ठेक्का लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले पाएको छ। ७.५ किलोमिटरको दोस्रो खण्ड सूर्यविनायक–साँगा सडकका लागि तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का लागेको आयोजनाले जनाएको छ।