१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका स्याङ्जा
Invalid date format १o:१९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरियाको कमाइ र सीप भैँसीपालनमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, स्याङ्जा
नयाँ पत्रिका
Invalid date format १o:१९:oo

दक्षिण कोरियामा १० वर्ष बिताएका स्याङ्जा चापकोटका दुई दाजुभाइले गाउँ फर्केर कृषि उद्यम सुरु गरेका छन्। यहाँका उत्तम आचार्य र वीरेन्द्र आचार्यले विदेशमा कमाएको धन आफ्नै गाउँमा भैँसीपालनमा खर्चिएका छन्। ०७३ देखि सुरु गरेको सिद्धबाबा एग्रो फार्म एन्ड रिसर्च सेन्टर प्रालिले हाल गण्डकी प्रदेशमै ठुलोमध्येको एक भैँसी फार्मको पहिचान बनाएको छ। १० वर्ष कोरियामा सिकेको सीप र कमाएको पैसा लगानी गरेको उक्त फर्ममा ६७ वटा गुजराती र मुर्रा जातका भैँसी छन्। हाल फर्मबाट दैनिक १८५ देखि  दुई सय लिटरसम्म दुध उत्पादन भइरहेको छ। यसका साथै गोबर र मूत्रलाई जैविक मलका रूपमा बिक्री गरेर आम्दानी भइरहेको छ। 

आचार्य दाजुभाइ कोरियामा रहँदा सिकेको आधुनिक पशुपालन प्रविधिलाई नेपालमै प्रयोग गरिरहेको बताउँछन्। कोरियाबाट फर्किएपछि सुरुमा काठमाडौंमा होटेल व्यवसायमा लागे पनि पछि गाउँमै आएर हार्डवेयर व्यवसाय र भैँसीपालन सुरु गरेको दाइ उत्तमको भनाइ छ। ‘फार्म सञ्चालनका क्रममा हालसम्म तीन करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। सञ्चालनको सुरुवातमा २५ प्रतिशत विश्व बैंक, २५ प्रतिशत नेपाल सरकार र बाँकी ५० प्रतिशत लगानी आफैँले गरेका थियौँ,’ उनीहरूले भने, ‘फार्ममा प्रत्यक्ष रूपमा १० जनाले रोजगारी पाएका छन् भने अप्रत्यक्ष रूपमा थप धेरैलाई कामको अवसर सिर्जना भएको छ ।’

भाइ वीरेन्द्र फार्ममा दिनहुँ आफैँ खट्ने गरेको बताउँछन्। बिहानै फार्ममा पुगेर दुध प्याक गर्ने, क्यानमा राख्ने, होम डेलिभरी गर्ने र बिक्री नभएको दुधबाट पनिर उत्पादन गर्ने काम दिनहुँ भइरहेको उनको भनाइ छ। अब हरेक युवाले आफ्नै देशमा भविष्य खोज्नुपर्छ भनेर आफूहरू यस कार्यमा लागेको आचार्यले बताए। ‘कुनै समय कोरियामा राम्रो जीवन बिताएका थियौँ। विदेश गएर अनुभव हासिल गर्नु राम्रो हो, तर उतै बसेर हुँदैन । आफ्नो देश र माटो आफ्नै हुन्छ । त्यसैले विदेशबाट फर्किएर हामीले आफ्नै गाउँठाउँमा लगानी गर्‍याैँ। कृषि क्षेत्रमा लगानी गर्न सके देशमै राम्रो गर्न सकिन्छ,’ आचार्य दाजुभाइले एकै स्वरमा भने।

हाल यस कार्यबाट चापाकोटका धेरै युवा कृषिप्रति आकर्षित भइरहेका छन्। स्थानीय निकाय र राज्यले कृषि उद्यमलाई सम्मानित तथा प्रोत्साहन बनाउन सहयोग गरे धेरैले यसैमा भविष्य खोज्ने उनीहरूको विश्वास छ। ‘देशमै भविष्य खोजेका कृषकलाई राज्यबाट पर्याप्त सुविधा नभएको महसुस हुन्छ। कहिलेकाहीँ भैँसीलाई मिल्क फिभरजस्ता रोग लाग्छन्, भैँसीको बिमा र स्वास्थ्य उपचार निःशुल्क छैन। अन्य धेरै पालिकाहरूमा प्रतिलिटर दुधमा रु. दुईदेखि १५ सम्म अनुदान दिइए पनि चापाकोट नगरपालिकाले कुनै अनुदान दिएको छैन । यसबारे सोच्नुपर्छ,’ सञ्चालक आचार्य दाजुभाइले भने।