
साताव्यापी भारत भ्रमण सकेर सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहसहितको टोली आज गृहनगर आउँदै छ । मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली वैशाख १६ गते भारत प्रस्थान गरेको थियो । टोली आज (सोमबार) लखनउबाट स्थलमार्ग हुँदै गृहनगर आउँदै छ ।
उत्तराखण्डका मुख्यमन्त्रीसँग सुदूरपश्चिमका मुख्यमन्त्रीको भेट
भारत भ्रमणमा रहेका मुख्यमन्त्री शाहले उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामी र गभर्नर ले.ज. गुरमित सिंहसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।भारत भ्रमणको क्रममा मुख्यमन्त्री शाहले उनका समकक्षी धामी र गभर्नर सिंहसँग भेटवार्ता गरेका हुन्।
भेटवार्तामा दुवै देशबिचको पारस्परिक सम्बन्ध, सांस्कृतिक, धार्मिक तथा सामाजिक समानताका विषय छलफलकेन्द्रित रहेको र वर्षौँदेखिको आपसी एकता र विश्वासलाई अझ बलियो बनाउने विषयमा छलफल भएको थियो ।
भेटमा मुख्यमन्त्री शाहले सुदूरपश्चिमको विकासका लागि भारत सरकारसँग सहकार्य गर्न आग्रह गरे। सुदूरपश्चिमको आर्थिक, सामाजिक, ऊर्जा, प्राविधिक, धार्मिक पर्यटन प्रवर्द्धन र विकासका लागि भारत सरकार सकारात्मक रहेको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री धामीले प्रतिक्रिया दिए।
यसैगरी, मुख्यमन्त्री शाहले उत्तराखण्डका पर्यटनमन्त्री सतपाल महराज, वनमन्त्री सुवोध उनियाल र कृषिमन्त्री गणेश जोशीसँग पनि छुट्टाछुट्टै भेट गरेका छन्।