
नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरूको समेत लगानी हुने गरी ‘बिमा सूचना केन्द्र’ स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । बिमा क्षेत्रमा हुने ठगीलाई नियन्त्रण गर्नेलगायतका उद्देश्यसहित ‘बिमा सूचना केन्द्र’ स्थापना गरिँदै छ । सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रममा पनि बिमा सूचना केन्द्र कार्यान्वयनमा ल्याउने उल्लेख छ ।
गत माघमा लागू भएको बिमा नियमावलीमा बिमा सूचना केन्द्र स्थापना गर्ने व्यवस्था गरिएको छ । नियामक निकाय नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता सुशीलदेव सुवेदीले पनि बिमा सूचना केन्द्र स्थापना गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । ‘प्राधिकरणले लामो समयदेखि यसको अध्ययन गरेको थियो । नियमावलीमा पनि यसको परिकल्पना गरिएको छ,’ उनले भने, ‘हामी छिट्टै बिमा सूचना केन्द्र स्थापना गर्न सकिने अवस्थामा पुगेका छौँ । केही प्राविधिक प्रक्रिया पूरा भएपछि यसको स्थापना गर्छाैँ ।’
बिमा सूचना केन्द्र सञ्चालनसम्बन्धी निर्देशिकाको मस्यौदा प्राधिकरणको सञ्चालक समितिमा पेस भइसकेको छ । सञ्चालक समितिले उक्त मस्यौदा अध्ययन गरिरहेको छ । बोर्डले पारित गरेपछि सूचना केन्द्र स्थापना गरिनेछ । अहिले नेपालमा १४ जीवन, १४ निर्जीवन, दुई पुनर्बिमा र सात लघुबिमा कम्पनी सञ्चालनमा छन् । उनीहरूको समेत सेयर स्वामित्व हुने गरी बिमा सूचना केन्द्र स्थापना गरिनेछ । त्यसपछि प्राधिकरणले आवश्यक काम–कारबाही गर्न सूचना केन्द्रलाई लिखित आदेश (इजाजत) दिनेछ ।
वित्तीय क्षेत्र हुने ठगीलाई नियन्त्रण गर्न स्थापना गरिएको कर्जा सूचना केन्द्रजस्तै बिमा क्षेत्रमा हुने ठगीलाई पनि नियन्त्रण गर्न ‘बिमा सूचना केन्द्र’ स्थापना गर्न लागिएको हो । कर्जा सूचना केन्द्रले वित्तीय क्षेत्रमा हुने ठगीसम्बन्धी सूचना संकलन गरेर सार्वजनिक गर्दै आएको छ । विशेष गरी ऋण नतिर्ने ग्राहकलाई कर्जा सूचना केन्द्रले अवैधानिक सूची (कालोसूची भनिने)मा राख्नेछ, यस्तो सूचीमा परेको व्यक्ति तथा संस्थालाई वित्तीय संस्थाले थप कर्जा दिँदैनन् । सोही मोडेलमा बिमा क्षेत्रमा हुने ठगीसम्बन्धी तथ्यांक संकलन गरेर प्रकाशन गर्ने उद्देश्यसहित बिमा सूचना केन्द्र स्थापना गर्न लागिएको हो । उक्त सूचना केन्द्रले बिमा क्षेत्रमा ठगी गर्ने व्यक्ति तथा संस्थालाई कालोसूची र शंकास्पद सूचीमा राख्नेछ र उनीहरूलाई बिमा सेवाबाट वञ्चित गराउने योजना रहेको छ ।
बिमा कम्पनीहरूले आफ्ना ग्राहकलगायतका व्यक्तिको शंकास्पद गतिविधि केन्द्रमा पठाउनुपर्ने हुन्छ । त्यसपछि केन्द्रले ठगी गर्ने व्यक्ति वा संस्था अर्थात् बिमितको पहिचान गरेर कालोसूची र शंकास्पद सूचीमा राखी प्रकाशन गर्न सक्ने बिमा नियमावलीको नियम १०८ मा उल्लेख छ । बिमा ऐन २०७९ को दफा १४३ को उपदफा ४ मा ठगी गर्ने बिमित तथा अन्य व्यक्तिलाई सम्बन्धित निकाय (प्रस्तावित सूचना केन्द्र)को सिफारिसमा अवैधानिक सूचीमा राख्ने र ५ वर्षसम्म बिमा सेवामा प्रतिबन्ध लगाउने व्यवस्था छ ।
यस्तै, केन्द्रले बिमासम्बन्धी सूचनाको संकलन, भण्डारण तथा वितरण गर्न, बिमासम्बन्धी आवधिक प्रतिवेदन तयार गर्ने, बिमासम्बन्धी अन्य आवश्यक तथ्यांक संकलन गर्नेलगायतका काम पनि गर्नेछ । साढे सात दशकको इतिहास भएको नेपाली बिमा क्षेत्रमा ठगीका घटना पहिलेदेखि नै हुँदै आएका छन् । तर, त्यसबारे सूचना संकलन गर्ने र जानकारी दिने निकाय भने अहिलेसम्म छैन ।
सुशीलदेव सुवेदी, कार्यकारी निर्देशक तथा प्रवक्ता, नेपाल बिमा प्राधिकरण
प्राधिकरणले लामो समयदेखि यसको अध्ययन गरेको थियो । नियमावलीमा पनि यसको परिकल्पना गरिएको छ । हामी छिट्टै बिमा सूचना केन्द्र स्थापना गर्न सकिने अवस्थामा पुगेका छौँ । केही प्राविधिक प्रक्रिया पूरा भएपछि यसको स्थापना गर्छाैँ । विभिन्न घटनाक्रमले बिमा क्षेत्रमा ठगीका घटना भइरहेका देखिन्छन् । सूचना केन्द्र स्थापना गरेपछि त्यस्ता ठगीका घटना नियन्त्रण गर्न सहज हुनेछ ।
यस्ता छन् बिमा दाबीका लागि गरिएका केही अपराध