
ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रमा अत्याधुनिक शौचालय निर्माण गरेको छ। महानगरले एक करोड २६ लाख ५१ हजारमा स्मार्ट शौचालय निर्माण गरेको हो।
पाटन दरबार क्षेत्रमा आउने पर्यटकलाई शौचालयको अभाव थियो। पर्यटकीय आकषर्णलाई ध्यानमा राख्दै शौचालय निर्माण भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले बताइन्। उनका अनुसार शौचालय निर्माणमा चुना, सुर्की, काठ, इँटा र झिँगटी प्रयोग भएको छ।
ऐतिहासिक स्थल भएका कारण पनि ऐतिहासिक शैली अपनाइएको महानगरले जनाएको छ। शौचालयमा स्तनपान कक्षसमेत राखिएको छ। महानगरका मेयर चिरिबाबु महर्जनले यो शौचालयलाई अपांगतामैत्री र्याम्पिङ गर्न सकिने बताए।
‘ललितपुर महानगरले धेरैवटा स्मार्ट शौचालय निर्माण गरेको छ, पाटन दरबारभित्र निर्माण भएको यो शौचालय पर्याप्त हुनेछ,’ उनले भने, ‘शौचालय पर्यटकलक्षित भएकाले पनि अत्याधुनिक छ, यसलाई रेखदेख पनि महानगरले गर्छ।’
निःशुल्क रूपमा प्रयोग गर्न पाइने उक्त शौचालय सरसफाइका लागि महानगरले दुई कर्मचारी राखेको छ। शौचालय पाटन दरबार क्षेत्रको हेरिटेज गार्डेन होटेलनजिकै छ।