
ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई बर्खास्त गर्ने निर्णयको कांग्रेस बैठकमा आलोचना भएको छ।
शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले पार्टीभित्र सल्लाह नगरी सीधै प्रधानमन्त्रीले बर्खास्त गर्नु आपत्तिजनक रहेको टिप्पणी गरेका हुन्। कुलमान घिसिङलाई साथ दिएको भन्दै प्रधानमन्त्री केपी ओलीले तामाङलाई ऊर्जाराज्यमन्त्रीबाट बर्खास्त गरेका थिए।
संसदीय दलमा सांसद एवं पूर्वमन्त्री डिगबहादुर लिम्बूले पार्टीभित्र छलफल नगरी सीधै प्रधानमन्त्रीबाट बर्खास्त गरिनु उचित नभएको बताए।
‘कान्छारामको विषयमा पार्टीभित्रै छलफल हुनुपर्ने थियो। पार्टीले नै उनलाई बोलाएर स्पष्ट पार्नुपर्ने हो। अनि फिर्ता बोलाउने भए पनि पार्टीले भन्नुपर्ने थियो, प्रधानमन्त्री कार्यालयबाट होइन। असन्तुष्टि पनि भित्रै राख्ने हो अनि बोलावट पनि पार्टीभित्रैबाट हुनुपर्नेमा त्यो नहुनु दुःखद छ,’ उनले भने।
बैठकमा लिम्बूले ऊर्जामन्त्री दीपक खड्काले नबुझी टीकाटिप्पणी गरेको भन्दै आलोचना पनि गरेका थिए।