
रोयल्स च्यालेन्जर्स बेंग्लोर १८औँ इन्डियन प्रिमियर लिग (आइपिएल)को शीर्ष स्थानमा उक्लेको छ । बेंग्लोरले आइतबार आइपिएलको ४६औँ खेलमा दिल्ली क्यापिटल्समाथि ६ विकेटको जित निकाली शीर्ष स्थानमा उक्लेको हो । पहिलो ब्याटिङ गरेको दिल्लीले २० ओभरमा आठ विकेट गुमाएर एक सय ६२ रन बनायो ।
प्रत्युत्तरमा बेंग्लोरले १८.३ ओभरमा चार विकेटको क्षतिमा एक सय ६५ रन बनायो । बेंग्लोरको ब्याटिङमा विराट कोहलीले अर्धशतकी इनिङ्स खेले । उनले ४७ बलमा ५१ रन जोडे । पन्जाबलाई जित दिलाउन क्रुनाल पाण्ड्याले सर्वाधिक ७३ रनको योगदान दिए । उनले ४७ बलमा पाँच चौका र चार छक्का प्रहार गरेका थिए । टिम डेभिडले अन्तिमतिर पाँच बलमा तीन चौका र एक छक्का प्रहार गरी १९ रन बनाए । बेंग्लोरले १० खेलमा सर्वाधिक १४ अंक जोडेको छ । १२ अंकका साथ दिल्ली चौथो स्थानमा छ ।
यसअघि पहिलो ब्याटिङ गरेको दिल्लीका लागि लोकेश राहुलले ३९ बलमा ४१ रनको योगदान दिएका थिए । स्टुब्सले १८ बलमा पाँच चौका र एक छक्का प्रहार गरी ३४ रनको आक्रामक इनिङ्स खेलेका थिए । ओपनर अभिषेक पारेलले २८ रन तथा फाफ डु प्लेसिसले २२ रनको योगदान दिए । बलिङमा भुवनेश्वर कुमारले ३३ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । यसैगरी, मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्टलाई ५४ रनले हराएको छ ।