
जिलेस्पीजंग कार्कीको निर्णायक गोल प्रेरित नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरलाई पहिलोपटक हराएको छ । शुक्रबार सिंगापुरको घरेलु मैदानमा जिलेस्पीले पहिलो हाफमै गरेकाे गोल निर्णायक बन्यो । यसअघि तीन खेलमा १२ गोल व्यहोरेको नेपालले सिंगापुरविरुद्ध चौथो भेटमा भने १२औँ मिनेटमै अग्रता बनायो ।
मनीष डाँगीले मैदानको बायाँ भागबाट मिलाएको सुन्दर पासलाई पेनाल्टी बक्सभित्रबाट जिलेस्पीले उत्कृष्ट गोल गरेका हुन् । जिलेस्पीको प्रहारलाई सिंगापुरका गोलकिपर इजवान मोहबुदले रोक्नै सकेनन् । बाँकी समय सिंगापुरले नेपाललाई दबाबमा राखे पनि नेपालले डिफेन्सिभ गेम खेल्दै जित निकालेको हो । कप्तान किरणकुमार लिम्बूले आधा दर्जनभन्दा बढी प्रहार रोकेका थिए ।
पहिलो खेल खेलाइरहेका मुख्य प्रशिक्षक म्याट रसले सानदार सुरुवात गरेका छन् । उनले आफ्नो पहिलो खेलमा रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरीलाई पनि डेब्यु गराए । अब नेपालले मंगलबार एसियन कप छनोटमा मलेसियासँग खेल्नेछ ।