
एक राजा अर्कालाई पीडा दिन पाउँदा निकै रमाउँथे । उनले हरेक दिन आफ्नो देशमा कसै न कसैलाई फाँसीमा चढाउनैपर्ने आदेश दिएका थिए । राजाको यस्तो अत्याचारका कारण जनता दुःखी थिए । उनीहरू राजाको यस्तो अत्याचारबाट मुक्ति चाहन्थे । एकदिन केही अगुवा यसको समाधान खोज्न राज्यका एक प्रसिद्ध सन्तकहाँ गए । उनीहरूमध्ये एकले भने– सन्त महाराज, राजाको अत्याचारबारे त पक्कै हजुर पनि जानकार हुनुहुन्छ । हामी उनको अत्याचारबाट मुक्ति चाहन्छौँ । अब हजुरले नै यसको समाधान खोज्नुपर्यो ।
सन्त पनि राजाको अत्याचारबाट परिचित थिए । उनले भने– तपाईंहरूले भनेको ठिक हो । म पनि यो सब देखिरहेको छु । यस विषयमा म केही न केही पक्कै गर्नेछु ।
भोलिपल्ट सन्त दरबारमा पुगे । राजाले उनको स्वागत गरे र त्यसरी आउनुको कारण सोधे । सन्तले भने– महाराज म तपाईंलाई केही प्रश्न सोधौँ भनेर यहाँ उपस्थित भएको छु । के अनुमति पाउन सक्छु ? राजाले भने– अवश्य, सोध्नुहोस्, जे सोध्न मन छ । सन्तले प्रश्न गरे– मानिलिऊँ, सिकार खेल्न जाँदा बाटो भुलेर तपाईं एक्लै अनकन्टार जंगलमा हराउनुभयो । साथमा खानेकुरा र पिउने पानी पनि छैन । भोक र तिर्खाका कारण तपाईंको प्राण जानै लागिसक्यो । यस्तो समयमा कसैले तपाईंलाई आधा राज्य दिने सर्तमा पानी पिउन दिने भयो भने के गर्नुहुन्छ ?
राजाले भने– आफ्नो प्राण बचाउन म आधा राज्य दिनेछु । आखिर प्राण त बचाउनैपर्यो होइन र ? सन्तले पुनः प्रश्न गरे– यदि सोही पानीका कारण तपाईं गम्भीर बिरामी हुनुभयो र तपाईंको ज्यान जान लाग्यो । यस्तो अवस्थामा कुनै वैद्यले तपाईंलाई बचाइदिएबापत बाँकी बचेको आधा राज्य मागे भने के गर्नुहुन्छ ? राजाले तत्काल जवाफ दिए– प्राण बचाउन म बाँकी राज्य पनि दिन्छु । आखिर जीवन नै रहेन भने केको राज्य ? राजाको जवाफ सुनेपछि सन्तले मन्द मुस्कानसाथ प्रश्न गरे– तपाईं आफ्नो जीवन बचाउन राज्य नै लुटाउन सक्नुहुन्छ भने अरूको जीवनचाहिँ कि लिनुहुन्छ ? सन्तको प्रश्नले राजाका आँखा खुले । उनले त्यस दिनदेखि आफ्ना नागरिकमाथि अत्याचार गर्न छाडे ।