मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
गुल्मीका सनद प्रधान
नवराज मैनाली काठमाडाैं
Invalid date format o६:१७:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नक्कली नोट कारोबारमा जेल परेर छुटेपछि सुन तस्करी 

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:१७:oo

न्युरोडमा ट्राभल एजेन्सी चलाउने गुल्मीका सनद प्रधानको सम्बन्ध नक्कली नोट कारोबार गर्ने गिरोहसँग जोडियो । ०७२ मा प्रहरीले १९ लाख ८७ हजार नक्कली भारतीय रुपैयाँ तथा १९ हजार पाँच सय नक्कली अमेरिकी डलरसहित उनलाई पक्राउ गर्‍यो । सोही मुद्दामा प्रधान जेल नै बसे । 

तर, जेलबाट छुटेपछि पनि उनी सुध्रिएनन् । छिटो पैसा कमाउने आदत भएका प्रधान हाल सुन तस्करीको आरोपमा पक्राउ परेका छन् । दोलखामा बरामद भएको साढे ११ किलो सुन तस्करीको आरोपमा पक्राउ परेका हुन् । प्रहरीका अनुसार चिनियाँ गिरोहले ल्याउने तस्करीको सुन बिक्री गर्न उनले सघाउँदै आएका थिए । साथै, हुन्डी र क्रिप्टो कारोबारको आशंकामा पनि उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

९ जेठ ०७२ मा प्रहरीको विशेष ब्युरोले उनीसहित आठजनालाई नक्कली नोटसहित पक्राउ गरेको थियो । जसमा एक पाकिस्तानी महिला पनि थिइन् । उनीहरूले पाकिस्तानबाट नक्कली भारु र डलर ल्याएर कारोबार गर्थे । जसमा अदालतबाट समेत दोषी ठहर भई प्रधान छुटेका थिए । 

चिनियाँ गिरोहसँग मिलेर उनले सुन तस्करी थालेको प्रहरीले जनाएको छ । सो समूहले क्रिप्टोमार्फत करिब चार खर्र्ब रुपैयाँबराबरको कारोबार गरेको खुलेको छ । यसरी कारोबार गर्ने गिरोहका नाइकेहरू हङकङमा छन् । सो समूहसँग प्रधानको निकटता देखिएको छ । सागर थापालगायतका व्यक्तिहरू क्रिप्टो कारोबारका नाइके भएको प्रहरी स्रोत बताउँछ । उनलाई फरार प्रतिवादी बनाएर मुद्दा चलाउन लागिएको छ । 

दोलखाको लामाबगर नाका हुँदै चिनियाँ समूहले कम्तीमा ३३ किलो सुन तस्करी गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । जसमा १५ जना पक्राउ परेका छन् भने १२ लाई फरार प्रतिवादी बनाएर जिल्ला प्रहरी कार्यालय दोलखाले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । सरकारी वकिल कार्यालयले आइतबारसम्म अदालतमा अभियोग दायर गर्ने तयारी गरेको छ । 

प्रधानसहित यो मुद्दामा टासी दावा भनिने आगर लामा, गेङ राउ, लालबहादुर तामाङ, महिला माझी, नुर्बुछिरिङ शेर्पा, सुनमाला तामाङ, पेम्बा तामाङ, च्याङ्बा भनिने चसमान तामाङ, केसर तामाङ, माधव मगर, चेतनाथ न्यौपाने पनि प्रहरी हिरासतमा छन् । तस्करीको सुन किन्ने काठमाडौंका सुन पसले दीपेन्द्र शाक्य र तिलक विक पनि पक्राउ परिसकेका छन् । क्रिप्टोमार्फत सुन तस्करीको भुक्तानी गर्ने कार्गाे व्यवसायी महिमालाई पनि सनदले नै यो गिरोहसँग सम्पर्क गराएका थिए । पक्राउ परेकाविरुद्ध भन्सार ऐन, संगठित अपराध निवारण ऐन, नेपाल राष्ट्र बैंक ऐनअनुसार मुद्दा दायरको तयारी छ । 

हुन्डी र क्रिप्टोमा संलग्न ९९ लाखसहित पक्राउ
हुन्डी, अनलाइन जुवा, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको आरोपमा ४८ वर्षीय रूपेश श्रेष्ठ करिब ९९ लाख रुपैयाँसहित पक्राउ परेका छन् । बागबजार बस्ने श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको हो ।

उनको घरबाट ८९ लाख ६९ हजार नेपाली रुपैयाँ र अमेरिकी डलर सात हजार २६ बरामद भएको छ । उनको घरबाट पैसा गन्ने मेसिनसमेत बरामद भएको छ । आठ थान मोबाइल, तीन थान ल्यापटपलगायतका सामान र चेक पनि बरामद गरेको छ । उनको मोबाइल तथा ल्यापटपबाट क्रिप्टो कारोबारको विषयमा थप अनुसन्धान हुने सिआइबीले जनाएको छ ।