
कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले जेन–जी आन्दोलनपछि उत्पन्न अस्थिर परिस्थितिको अन्त्य गरी समाजमा शान्ति र सहकार्य कायम गर्न सबैलाई आह्वान गरेको छ । सुशासनको मागसहित जेन–जी पुस्ताले गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दे घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
बैठकले आन्दोलनकै क्रममा संघीय तथा प्रदेश तहका संरचना, सुरक्षा निकायका कार्यालय, सञ्चारगृह, औद्योगिक प्रतिष्ठान, व्यापारी केन्द्र, विभिन्न राजनीतिक दलका कार्यालय, नेतृत्वको निजी आवास तथा सवारीसाधनमा भएको तोडफोड र आगजनीप्रति बैठकले कडा आपत्ति जनाएको छ ।
प्रदेश सभापति एवं प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु देउवा राणामाथि भएको भौतिक आक्रमणको भर्त्सना गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरेको छ । बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक मूल्य र लोकतान्त्रिक परिपाटीअनुसार देखाएकाे दृढता र मुलुकलाई निकास दिएको भूमिकाप्रति उच्च सम्मान प्रकट गरेको छ।
साथै असोज ३ गते संविधान दिवसलाई संयमित, शान्त र संविधानको महत्त्व दर्शाउने गरी मनाउन सरकारलाई सुझाव दिएको छ । प्रदेश सभामा शान्ति, सुरक्षा र सदभाव कायम राख्न सांसदहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने र सामाजिक अभियन्तासँग सहकार्य गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ । यस्तै, संसद् सञ्चालनका क्रममा अन्य दलहरूसँग संवाद र सहकार्य गर्दै आवश्यक निर्णयहरू गर्ने तथा संसदीय समितिलाई अझ सक्रिय बनाउने निर्णय पनि बैठकले गरेको छ ।