Skip This
भग्नावशेष नै छन् शीर्ष नेताका निवास
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 17 September, 2025
शुरोजंग पाण्डे काठमाडाैं
प्रेम गौतम काठमाडाैं
Invalid date format o९:o१:oo
Read Time : > 6 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भग्नावशेष नै छन् शीर्ष नेताका निवास

आन्दोलन सकिएको एक साता बित्दासमेत नेताहरू निवास फर्किन सकेनन्, घरको सरसफाइ पनि हुन सकेन

Read Time : > 6 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:o१:oo

मंगलबार मध्याह्न साढे १२ बजे । सशस्त्र प्रहरीको सानो टोली रखबारीमा थियो । गेट र वरिपरि ठुलो रातो अक्षरमा लेखिएका थिए– नो इन्ट्री । गुह्येश्वरी गणबाट सशस्त्र प्रहरी नायब निरीक्षक (सइ) नेतृत्वको ६–७ जनाको टोली सतर्क पोजिसनमा थियो । जेन–जी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाटपछि ध्वस्त भएको पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको बालकोटस्थित निवासबाहिरको दृश्य हो यो । 

ओलीनिवासवरपर थुप्रै घर भए पनि दिउँसै सुनसानजस्तै बनेको छ । २४ भदौ १२ बजेपछि ओलीनिवास परिसरभित्र रहेका दुई ठुला र दुई सानासहित आन्दोलनकारीको आगजानीबाट चार घर पूर्ण रूपमा क्षतिग्रस्त बनेपछि वरपरका छिमेकी त्रासमा छन् । उनीहरू कामविशेषबाहेक बाहिर निस्कँदैनन्, नयाँ मान्छेसँग हतपति बोल्दैनन् । दनदनी बलेको आगोको मुस्लो, दुई दिनसम्मको धुँवा, आन्दोलनकारीका अपशब्द सम्झिएर ओलीका छिमेकीका लागि त्यस दिनको घटना सपनाजस्तै लागेको छ । खण्डहर बनेको निवासमा पुगेको क्षति आकलनका लागि प्रहरीले निषेध गरेसँगै एउटा कामदारको टोली मंगलबारबाट परिसर सफाइमा जुटेको छ ।

एमाले अध्यक्ष केपी ओलीको बालकोटस्थित घर

ओलीसँगै बुढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा, खुमलटारस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास, कोटेश्वरस्थित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, डल्लुस्थित पूर्वप्रधानमन्त्री झलनाथ खनालको निवास, पूर्वराष्ट्रपति विद्या भण्डारीको भंगालस्थित निजी निवाससहित देशैभर सयौँ नेता र जनप्रतिनिधिको निवास आगजनी र तोडफोडले ध्वस्त भएका छन् ।

नेपाल प्रहरी नै स्रोत–साधनविहीन अवस्थामा पुगेपछि शीर्ष तहका नेताहरूकै निवासको क्षति आकलन भइसकेको छैन । ओली नेपाली सेनाको सुरक्षाघेराभित्रै छन् भने अरू नेता सेनाको सुरक्षाघेराबाहिर आइसके पनि आफन्त, निकटस्थ नेता–कार्यकर्ताको आश्रयमा छन् । 

आन्दोलनको उग्र रूपले दलका कार्यालयसँगै र नेताहरूका घरसमेत खरानी भएका छन् । आगजनी र तोडफोडका ती दृश्यले राजनीतिक क्षेत्र मात्र होइन, स्थानीय बस्ती र आममानिसको मन पनि स्तब्ध बनाएको छ । जेन–जीले प्रमुख दलका नेताहरूले भ्रष्टाचार गरेर सम्पत्ति आर्जन गरेको तथा उनका सन्तानले तिरेको करको पैसामा मोजमस्ती गरेको आरोप लगाएर तोडफोड र आगजनी गरेका थिए । तर, अधिकांश प्रत्यक्षदर्शी भने जेन–जीका नाममा ठुलो घुसपैठ भएको बताउँछन् ।

नेतानिवासआसपास रहेका व्यक्तिहरूको निवासदेखि गरिब ज्यालादारी मजदुरको टहरामा समेत आगजनी र तोडफोड भएको छ । गरिब मजदुरको छाप्रामा समेत लगातार लुटपाट भएको छ । यो तहसम्मको अमानवीय निर्दयी व्यवहार जेन–जीबाट होइन, उनीहरूलाई ढाल बनाएर गरिएको घुसपैठ भएको प्रत्यक्षदर्शीले बताए । ‘हुलका हुल मान्छे आए । त्यो हुलमा चिनेका कोही देखिएनन् । युवाभन्दा बढी वयस्क, अनेकन् अनुहारका वृद्ध पनि देखिन्थे । नाराबाजी गर्दै तोडफोड र आगजनी गर्न थालेपछि लुकेर बस्यौँ । हामीलाई पनि मार्लान्जस्तो भयो,’ ओलीका छिमेकी कान्छी श्रेष्ठले नयाँ पत्रिकासँग भनिन्, ‘ढुंगामुढाले हाम्रो घरको झ्याल फुट्यो । छतमा राखेको पानीट्यांकी पनि फुट्यो । धन्न हामीलाई केही भएन ।’ 

ओलीनिवास जलिसकेपछि निवासमा लुटपाट मच्चियो, सुरक्षाकर्मीविहीन भएका कारण दुई रातभरि बाँकी रहेका सामग्री लुटपाट गरेको छिमेकीहरू बताउँछन् । ‘आगोले दिनभरि तनाव भयो, राति पनि सुत्न सकिएन । आगजनीपछि चोरहरू पनि आए । दोस्रो दिन केहीलाई प्रहरीले समात्यो,’ छिमेकी हिरण सिंहले भनिन्, ‘सँगै जोडिएकाले आगजनीबाट जोगाउन बडो मुस्किल पर्‍यो, आगोको मुस्लोको लप्काले भेटेको थियो, छिमेकीहरूको सहयोगमा मुस्किलले घर जोगाउन सकियो ।’ ओलीका छिमेकी हिरणकी दिदी अनिता र बच्चाहरू मात्रै घरमा भएका कारण उनीहरू दुई रात निदाउन सकेनन् । अनिताका श्रीमान् अमरेन्द्र सिंह पेसाले इन्जिनियर र जेठाजु जिनेन्द्र सिंह (डाक्टर) कामको सिलसिलामा बाहिर थिए । 

देउवानिवास जलाउन चारवटा ट्रकमा पुगेका थिए प्रदर्शनकारी

कांग्रेस सभापति देउवाको बुढानीलकण्ठस्थित आगजनी गरिएको घरमा सुरक्षा दिँदै सेना

बुढानीलकण्ठस्थित देउवानिवास जलेर खण्डहर बनेको छ । निवासभित्र पस्न दिइएको छैन । स्थानीय १५–१६ जनाको युवा टोलीले सुरक्षालगायतको काममा रेखदेख गरिहेको छ । परिसरभित्र तीनवटा गाडी जलेर भग्नावशेष देखिएका छन् । परिसरभरि जलेका सामग्री छरपस्ट देखिन्छन् । देउवा र उनकी पत्नी आरजुमाथि आन्दोेलनकारीले अमानवीय व्यवहार गर्दै गम्भीर कुटपिटसमेत गरेका थिए । निकै लामो प्रयासपछि नेपाली सेनाले दुवैलाई घाइते अवस्थामा उद्धार गरेको थियो । दुवैको अहिले सेनाको निगरानीमा उपचार भइरहेको छ ।

देउवाको निवासमा आगजनी र तोडफोडका लागि कफ्र्युकै समयमा चारवटा ट्रकमा चढेका अपरिचित व्यक्तिहरू आएको प्रत्यक्षदर्शी छिमेकीहरू बताउँछन् । उनको निवासमा लागेको आगो तीन दिनसम्म नियन्त्रणमा आएको थिएन । देउवानिवासमा पुगेका कतिपय अनुहार नेपाली नभएर विदेशी मूलको रहेकोसमेत प्रत्यक्षदर्शीले बताए । ‘कफ्र्युको समयमा पनि मानिसहरू एक्कासि ट्रकमा आउन थाले । तीन–चार ट्रक मानिस आएर हुलदंगाजस्तो गर्दै नाराबाजी गरे । नजिकतिरका पनि जम्मा भए । वरिपरिका सडक पूरै मान्छेले भरिएको थियो,’ प्रत्यक्षदर्शी छिमेकी सन्तोष बस्नेतले भने, ‘१२ बजेतिरबाट घरमा लाग्न थालेको आगो तीन दिनमा बल्ल निभ्यो । मेरो घरबेटी विदेशमा हुनुहुन्छ । उहाँले के छ, कस्तो छ भनेर फोन गरिरहनुभयो । हामीलाई हाम्रोतिर पनि आगो आउँछ कि भन्ने चिन्ता थियो । डरले सुत्न सकिएन ।’

नेताको छिमेकी भएकै कारण मजदुरको टहरामा समेत लुटपाट
देउवानिवाससँगै जोडिएको पूर्वतिर एउटा छाप्रो छ । जहाँ ओखलढुंगाबाट आएर २८ हजारमा जग्गा भाडामा लिई छाप्रो बनाएर सोममाया तामाङको परिवार बस्दै आएको छ । देउवाको छिमेकी भएकै कारण गरिब तामाङलाई पनि आन्दोलनकारीले छाडेनन् । त्यो निर्दोष गरिब परिवार पनि अनायसै निसानामा पर्‍यो । सोममाया गलैँचा बुन्छिन्, उनका श्रीमान् पेन्टिङ गर्छन् । बनिबुँतो गरेर बिहानबेलुकी छाक टार्दै आएका उनीहरूको छाप्रोमा तोडफोड मात्र भएन, लुटपाटसमेत भयो । सोममायाले धेरै अनुनय गरिन्, तर नेताको छेउमा किन बसेको ? पक्कै नेताले बनाइदिएको होला भन्दै लछारपछार गरे । ज्यान जोगाउन भागेपछि उनीहरूले ज्याला गरेर जोगाएको २५ हजार रुपैयाँ र केही सामान्य गहना, भाँडावर्तन, ग्यासचुलोसमेत लुटे । 

आगजनी गरिएको प्रचण्डनिवासमा तीन दिनसम्म लुटपाट

माओवादी अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवास

माओवादी अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवास पनि जलेर पूर्ण रूपमा क्षतिग्रस्त छ । दुई–तीन दिनसम्म घरमा लुटपाट भएपछि अहिले चारैतिर तारबारले घेरेर सुरक्षा गरिएको छ । बिहान १०–११ बजेतिर आन्दोलनकारी निवास छिर्न खोज्दा प्रचण्ड त्यहाँ थिएनन् । बुहारी विना मगर पनि छेउमै रहेको प्रहरी बिट जलेको खबरपछि असुरक्षित महसुस गरेर पहिल्यै बाहिरिसकेकी थिइन् । त्यसलगत्तै पुगेको दुई हुल आन्दोलनकारीले तहसनहस हुने गरी निवास तोडफोड गरेर आगजनी गरे । ‘म पसल खोलेर बसेकी थिएँ । एक्कासि सय/डेढ सयजना आएर तोडफोड गर्न थाले । के गरेको भनेर सोधेँ । उनीहरूले तिमीलाई पनि हान्दिउँ भने । तेरो पनि जलाउनुपर्‍यो भने । हाम्रो घरमा पनि आगो लगाउँछन् कि भन्ने डर भयो । त्यसपछि बोल्न सकिनँ । सटर बन्द गरेर माथि कोठामा गएर बसेँ,’ छिमेकी सूर्यमाया महर्जनले भनिन्, ‘सुरुमा पछाडितिरबाट तोडफोड गरेपछि अगाडि आएका थिए । पछि हजारौँ आएर आगजनी गरे । हेर्दाहेर्दै घर जल्यो ।’ प्रचण्डनिवासमा दुई–तीन दिनसम्म मान्छेहरू पसेर लुटपाट गरेका थिए । अहिले टोलवासीले नै गेट बनाएर भित्र कोही पनि छिर्न नमिल्ने बनाइएको श्रेष्ठले बताइन् ।

माधव नेपालको घरमा दुईपटक आगजनी 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको कोटेश्वरस्थित घर

एकीकृत समाजवादीका अध्यक्ष नेपालको निवास मात्र होइन, एउटै कम्पाउन्डभित्र रहेका उनका भाइहरू विनोद र स्वर्गीय सरोजको निवासमा पनि आन्दोलनकारीले आगजनी र तोडफोड गरेका छन् । विनोदको निवासमा व्यापक तोडफोड भएको छ । आगजानीबाट नेपालको निवास, सुरक्षाकर्मीको निवास जलेर पूर्ण रूपमा नष्ट भएको छ भने कान्छा भाइ सरोजको निवास पनि अधिकांश भाग जलेको छ । नेपालको निवासमा रहेका भौतिक सम्पत्ति पूर्ण रूपमा लुटपाट र भाइ विनोदको निवासबाट गरगहना, चार लाखसहित थुप्रै भौतिक सामग्री लुटिएको छ । 

शीर्षसहित देशैभर सयौँ नेताहरूको निवासमा आगजनी र तोडफोड 
कांग्रेस सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मासहित अधिकांश पदाधिकारी र बहुसंख्यक केन्द्रीय सदस्यहरूको निवास आन्दोलनकारीले जलाएका छन् । एमाले अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेलसहित सबैजसो पदाधिकारी, बहुसंख्यक स्थायी समिति र केन्द्रीय कमिटी सदस्यहरूको घर आन्दोलनकारीले जलाइदिएका छन् । प्रचण्डसँगै माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको निवासमा पनि लुटपाट भएको छ । एकीकृत समाजवादीमा अध्यक्ष नेपाल र सम्मानित नेता खनालको घर ध्वस्त भएको छ ।

तोडफोड र आगजनी हुँदा घरभित्रै थिइन् पूर्वराष्ट्रपति भण्डारी 
भंगालस्थित पूर्वराष्ट्रपति विद्या भण्डारीको निवास पनि जलेर पूर्ण रूपमा नष्ट भएको छ । जेन–जीभन्दा पनि घुसपैठियाहरूले उनको निवास जलाएको प्रत्यक्षदर्शी छिमेकी भोला गुरुङको दाबी छ । ‘मान्छेहरू एक्कासि आएर तोडफोड गर्न थाले । त्यतिवेला पूर्वराष्ट्रपति घरभित्रै हुनुहुन्थ्यो । त्यहाँ आएकाहरू कोही सत्ताको विषयमा कुरा गर्दै थिए । कोही अब राजावादी आउँछन्, आजै ल्याउनुपर्छ भन्दै थिए, कोही होइन माओवादी आउँछ भन्दै थिए,’ टाढैबाट उनीहरूको गलफत्ति सुनेपछि धेरै घुसपैठ रहेछ भन्ने लाग्यो,’ उनले भने, ‘सेनाले तोडफोडकै बिचमा पूर्वराष्ट्रपतिलाई बाहिर निकाल्यो । सेनाको गाडीलाई पनि केहीले पछ्याएका थिए । हेर्दाहेर्दै घर जलेर ध्वस्त भयो ।’

सक्रिय बन्दै दलहरू

  • देउवा उपचाररत, ओली सैनिक ब्यारेकमा, प्रचण्ड पुगे पार्टी कार्यालय, नेपाल जलाइएका घर अवलोकनमा 
  • कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले महासचिव शंकर पोखरेल पार्टी समन्वयमा, माओवादी अध्यक्ष प्रचण्ड आफैँ सक्रिय 

जेन–जी आन्दोलन उत्कर्षमा पुगेसँगै २४ भदौदेखि असुरक्षित भएर भर्चुअल माध्यममा सीमित रहेका प्रमुख राजनीतिक दल बिस्तारै सक्रिय भएका छन् । विघटित संसद्का प्रमुख दल कांग्रेस, एमाले, माओवादीका गतिविधि भर्चुअल माध्यमबाट बाहिर आउन थालेको छ । माओवादी अध्यक्ष प्रचण्ड आन्दोलनपछि पहिलोपटक मंगलबार पार्टी कार्यालय पेरिसडाँडा पुगेका छन् । एमाले अध्यक्ष केपी ओली सैनिक सुरक्षाबाट बाहिर आउन सकेका छैनन् । कांग्रेस सभापति शेरबहादुर देउवा सैनिक अस्पतालमा उपचाररत छन् । 

देउवा भर्चुअल रूपमा पनि सक्रिय हुने अवस्थामा छैनन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले २७ भदौमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक भर्चुअल माध्यमबाट बोलाए । प्रदेश सभापति, मुख्यमन्त्रीहरू तथा प्रदेश संसदीय दलका नेताहरू सहभागी बैठकले संसद् विघटन गर्ने राष्ट्रपतिको कदमको विरोध गरेको थियो । कांग्रेसले सबै दलसँग संवाद अघि बढाउने निर्णय गरेको थियो, तर पार्टीको आन्तरिक जीवनबारे निर्णय गरेन । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी कार्यालय सानेपाको भ्रमण गरेका छन्, केन्द्रीय सदस्य प्रदीप पौडेलले जेन–जी आन्दोलनका घाइतेसँग भेट गरेका छन् । तर, कांग्रेसको आन्तरिक पार्टी जीवन सक्रिय हुन सकेको छैन । 

‘हाम्रो पार्टी अहिलेसम्म गम्भीर आघातको अवस्थामा छ,’ कांग्रेस नेता एनपी साउदले भने, ‘कार्यसम्पादन समितिको बैठक बसेको छ । तर, अब जेन–जी आन्दोलनका मागलाई अपनत्व लिने र अन्य दलहरूसँग छलफल गरेर साझा धारणा बनाउन काम गर्नुपर्नेछ ।’ 

प्रधानमन्त्रीबाट राजीनामा दिएसँगै असुरक्षित एमाले अध्यक्ष ओली सेनाको सुरक्षामा छन् । एमालेका महासचिव शंकर पोखरेललगायत सीमित नेतासँग मात्रै उनको सम्पर्क छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महासचिव पोखरेलले अहिले पार्टीमा समन्वय गरिरहेका छन् । ‘पार्टी महासचिव शंकर पोखरेलले अहिले पार्टीमा समन्वय गरिरहनुभएको छ । केन्द्र, प्रदेश र जिल्लासम्म समन्वय भइरहेको छ । संविधान दिवस (३ असोज) भव्य रूपमा आयोजना गरेर पार्टीलाई थप सक्रिय बनाउँदै छौँ,’ गौतमले भने, ‘पार्टी जीवन पहिलेको अवस्था (२३ भदौअघि)मा पुग्न समय लाग्छ । हामी प्रयासरत छौँ ।’ 

माओवादी अध्यक्ष प्रचण्ड जेन–जी आन्दोलनसँगै बढ्दो असुरक्षामाझ सेनाको सुरक्षामा थिए । दुई दिनअघि सैनिक सुरक्षाबाट बाहिर निस्केका प्रचण्डले मंगलबार पार्टी कार्यालय पेरिसडाँडाको भ्रमण गरे । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितका नेता र कार्यकर्तामाझ प्रचण्डले पार्टी कार्यालय भवन निर्माण गर्ने उद्घोष गरे । ‘परिस्थिति सहज हुँदै गएको र अध्यक्ष फर्किसकेपछि अब पार्टीका गतिविधि अगाडि बढ्छन्,’ माओवादीका एक पदाधिकारीले भने । 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयसहित क्षति पुगेका नेताको घरको अवलोकन गरेका छन् । कोटेश्वरस्थित आफ्नै निवास, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेताहरू जीवनराम श्रेष्ठको निवास अवलोकन गरेका छन् । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेलसहित नेताहरू अग्नि खरेल र रघुजी पन्तको घरको पनि नेपालले अवलोकन गरेका छन् । नेपालले नेताहरूसँग छलफलसमेत थालेका छन् ।