Skip This
ताप्लेजुङमा पहिरोबाट ११ परिवार विस्थापित, १२ घर उच्च जोखिममा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज १ बुधबार
  • Wednesday, 17 September, 2025
२o८२ असोज १ बुधबार १४:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ताप्लेजुङमा पहिरोबाट ११ परिवार विस्थापित, १२ घर उच्च जोखिममा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असोज १ बुधबार १४:२६:oo

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा निरन्तरको वर्षापछि आएको पहिरोका कारण ११ परिवार विस्थापित भएका छन्। अन्य १२ घर उच्च जोखिममा परेका छन्।

लगातारको वर्षाले विभिन्न वडामा पहिरो जाँदा स्थानीय बासिन्दा घरबारविहीन हुनुका साथै ठुलो संख्यामा घरहरू जोखिममा परेका हुन्। गाउँपालिका अध्यक्ष विजयप्रकाश बनेमका अनुसार वडा नम्बर २ ढुंगेसाँघु, वडा नम्बर ४ साँघु तथा वडा नम्बर ५ र ६ फाकुम्बा पहिरोबाट प्रत्यक्ष प्रभावित भएका क्षेत्रहरू हुन्।

ढुंगेसाँघुमा दुई घरपरिवार पहिरोका कारण विस्थापित भएका छन्। साँघुमा पाँच घर उच्च जोखिममा छन् भने वडा नम्बर ५ मा एक घर विस्थापित र सात घर पहिरोको जोखिममा छन्। सबैभन्दा बढी क्षति वडा नम्बर ६ फाकुम्बामा भएको छ। यहाँ आठ घरपरिवार विस्थापित भएका छन्।

यसअघि गत बुधबार वडा नम्बर ६ कै फाकुम्बाको भित्ते बस्तीमा पहिरोमा परेर दुईजनाको ज्यान गएको थियो। मुढेडाँडाबाट झरेको पहिरोले ६० वर्षीय लाक्पाखाङ्डु शेर्पाको घर बगाउँदा उनी र छिमेकी ५५ वर्षीया मिङ्मालाकी शेर्पाको मृत्यु भएको छ। अध्यक्ष बनेमले घटनाबारे जानकारी दिँदै गहिरो दुःख व्यक्त गरेका छन्।

यस्तै, पहिरोले पालिकाभित्रका विभिन्न ग्रामीण सडकहरू पनि पूर्ण रूपमा अवरुद्ध पारेका छन्।  गाउँपालिका अध्यक्ष बनेमसहितको टोलीले पहिरोपीडित क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमन गरेको छ। टोलीमा सुरक्षा निकायका प्रतिनिधिहरू पनि सहभागी थिए। अनुगमनका क्रममा पीडित परिवारलाई भेटी धैर्य र संयम अपनाउन अध्यक्ष बनेमले आग्रह गरेका छन्।

गाउँपालिकाका अनुसार हाल सडकहरू तत्काल सञ्चालनमा ल्याउने अवस्था छैन। निरन्तर वर्षा जारी रहेकाले पहिरोको सम्भावना अझै कायमै रहेको भन्दै सबै पालिकावासीलाई सतर्क र सुरक्षित रहनसमेत आग्रह गरेको छ।