
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले एसिया कप टी–२० का म्याच अम्पायर एन्डी पाइक्राफ्टलाई हटाउने पाकिस्तान क्रिकेट बोर्डको मागलाई अस्वीकार गरेको छ । एसिया कपअन्तर्गत आइतबार राति पाकिस्तान र भारतबिच प्रतिस्पर्धा भएको थियो । खेलमा भारतीयले पाकिस्तानका खेलाडीसँग हात मिलाएनन् । म्याच अम्पायरले खेल भावनाअनुसार भारतीय खेलाडीलाई आचार संहिता पालना नगराएको आरोप पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले लगाएको छ । पिसिबीले मंगलबारै अम्पायर एन्डीलाई आगामी खेलमा राख्न नहुने भनी आइसिसीसमक्ष अपिल गरेको थियो ।
तर, आइसिसीको कानुनी विभागले खेलाडीबिचको विवादमा म्याच अम्पायरको कुनै पनि भूमिका नरहने जनाउँदै पाकिस्तानको माग अस्वीकार गरेको जनाएको छ । ‘भारत–पाकिस्तान खेलमा खेलाडीले हात नमिलाएको विवादमा अम्पायर एन्डीको भूमिका देखिँदैन,’ पिसिबीलाई पठाएको पत्रमा आइसिसीले भनेको छ, ‘यो दुई क्रिकेट बोर्डबिचको विवाद हो । जसको प्रभाव खेलाडीमाथि परेको देखिन्छ ।’ पिसिबीले खेलका अम्पायर एन्डीले भारतकै पक्षमा रहेको दाबी गरेको छ ।
अन्तर्राष्ट्रिय नियमअनुसार जुनसुकै खेलको अन्तिम निर्णयपछि दुई पक्षका खेलाडी र अफिसियलले हात मिलाउनुपर्छ । तर, भारतका कप्तान सूर्यकुमार यादवलगायत अन्य खेलाडीले अन्तर्राष्ट्रिय खेल भावनाविपरीत काम गरेको आरोप पिसिबीले लगाएको छ । ‘हामीले टसअगाडि नै एन्डीको मनोविज्ञान थाहा पाएका थियौँ । सुरुदेखि नै उनी भारतकै पक्षमा उभिएका थिए,’ पिसिबीको भनेको छ, ‘अम्पायरको धर्म नै खेलअगाडि र पछि खेलाडीलाई हात मिलाउनु हो तर उनले यस्तो गर्न सकेनन् ।’
एसिसीलाई घटनाको जानकारी
आइसिसीले एसिसीका अधिकारीहरूलाई एन्डीका बारेमा जानकारी गराएको जनाएको छ । आइसिसीको कानुन विभागको पत्रले म्याच अम्पायर भारतीय टोलीको पक्षमा काम गरेको मुद्दालाई खारेज गरिएको प्रस्ट पारेको छ । यद्यपि, आइसिसीले यस सम्बन्धमा वास्तविक छानबिन गर्न एसिसीलाई आग्रह गरेकोछ । प्रतियोगिताअन्तर्गत बुधबार पाकिस्तान र युएईबिच खेल छ । यस खेलमा पनि एन्डीले अम्पारिङ गर्ने छन् । तर, पिसिबीले जिम्बाब्वेका अम्पायर एन्डीलाई नहटाइएमा टोलीले खेल नखेल्ने चेतावनी दिएको छ । विवादास्पद खेलमा भारतले पाकिस्तानलाई सात विकेटले हराएको थियो ।
एसिया कपबाट हङकङ बाहिरियो
प्रतियोगिताअन्तर्गत सोमबार समूह ‘बी’को खेलमा श्रीलंकाले हङकङलाई चार विकेटले हराएको छ । लगातार दोस्रो हारसँगै हङकङ प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो ब्याटिङ गरेको हङकङले २० ओभरमा चार विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । प्रत्युत्तरमा श्रीलंकाले १८.५ ओभरमा ६ विकेटको क्षतिमा एक सय ५३ रन जोडेको थियो । श्रीलंकाको जितमा ओपनर पथुम निसांकाले सर्वाधिक ६८ रनको योगदान दिएका थिए । उनले ४४ बलमा ६ चौका र दुई छक्का प्रहार गरेका थिए । यसैगरी आठौँ क्रमका ब्याट्सम्यान वानिदु हसरंगाले ९ बलमा दुई चौका र एक छक्का प्रहार गरी २० रनको महत्वपूर्ण योगदान दिए । कुशल परेराले १६ बलमा २० रन तथा कमिल मिश्रराले १८ बलमा १९ रन जोडे । यसअघि पहिलो ब्याटिङ गरेको हङकङका लागि अंश राठले ४६ बलमा चार चौकाको सहयोगमा ४८ रन जोडेका थिए । निजाकत खानले नटआउट ५२ रन जोडे । उनले ३८ बलमा चार चौका र दुई छक्का प्रहार गरेका थिए ।