
त्यो दिल अरूको खातिर, खाली नहोस् सधैँभर
मेरो निमित्त मात्रै, बाँकी बचोस् सधैँभर
हाम्रो पियार देखी, आगो बनोस् न पानी
ईर्ष्या गरोस् त त्यस्तो, पानी बलोस् सधैँभर ।
गजलकार राधा कणेलका यी प्रेमिल शब्दमा संगीतकार सन्तोष श्रेष्ठको धुनले मोहकता थपेकै थियो, त्यसमा सुमधुर स्वरकी धनी जलजला परियारको स्वरले शुक्रबार सर्वनाम थिएटरमा जम्मा भएका स्रोता मन्त्रमुग्ध बने।
शुक्रबार १६०औँ मोतीजयन्तीका अवसरमा आयोजित ‘राधा कणेल सांगीतिक गजल साँझ, ०८२’ मा जलजलाले राधाका पाँचवटा गजल गाइन्। पाँचवटै गजलमा सन्तोषको एकल संगीत थियो।
तिमी रापिलो छौ, बलेको मकलझैँ
यता दिल छ मेरो, सुकेको सिमलझैँ
प्रायः शृंगारिक गजलमा प्रस्तुत भएकी जलजलाले उल्लिखित शेर गाइरहँदा हल तालीले गुन्जिएको थियो ।
समसामयिक विषयलाई पनि सुन्दर ढंगले गजलमा उन्न सिपालु राधाको लेखन परिष्कृत रहेको र परिष्कृत लयमै रचना गर्ने भएकाले राधाका गजल संगीतमैत्री रहेका संगीतकार सन्तोष श्रेष्ठले बताए ।
गायिका जलजला मञ्चमा ‘सागर सुकाइदिन्छु, ढुंगा गलाइदिन्छु, कारण बताउँदा चैँ, तिम्रै बताइदिन्छु’ भन्दै गुञ्जिँदा हलको माहोल हेर्नलायक बनेको थियो ।
गजल अभियन्ता, समालोचक घनेन्द्र ओझाले कार्यक्रम ऐतिहासिक भएको पनि बताए । ‘नेपाली गजल संगीतमा हालसम्म नारी स्रष्टाका गजल, नारीकै स्वरमा एकल गायन भएको देखिँदैन,’ ओझाले भने, ‘यो सम्भवतः पहिलो यस्तो कार्यक्रम हो।’
ओझाले जलजला, राधा र सन्तोष तीनैजनाले नेपाली गजल संगीतमा नयाँ इतिहास रचेको दाबी गरे । समालोचक प्राडा देवी नेपालले नेपाली गजल लेखनसँगै संगीतमा पनि तीव्र र परिष्कृत बन्दै गएको भन्दै खुसी व्यक्त गरे।
गजलकार तथा संगीत मर्मज्ञ रवि प्राञ्जलले नेपाली गजल गायनमा यो कार्यक्रम उत्साहप्रद र स्मर्णयोग्य भएको बताए । नेपाली गजललाई गायनमा ल्याउने प्रयासको प्राञ्जलले सराहना पनि गरे।
वाद्यवादनमा तबलामा शम्भु श्रेष्ठ र बाँसुरीमा निर्मल सिंहले साथ दिएका थिए। अनाममण्डली, नेपाल गजल प्रतिष्ठान र गोल्डेन क्रिएसनको आयोजनामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चले सहकार्य गरेको छ।