मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ७ शनिबार
  • Saturday, 23 August, 2025
शुरोजंग पाण्डे काठमाडाैं
२o८२ भदौ ७ शनिबार o६:o९:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विद्याका गतिविधिमा ओलीका प्रश्नैप्रश्न

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ७ शनिबार o६:o९:oo

एमाले अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टीसँग सम्बन्धित आफ्नो राजनीतिक गतिविधि बढाएको र सम्पर्क कार्यालय खोलेको कदमप्रति आक्रोश व्यक्त गरेका छन् । पार्टी कार्यालयका कर्मचारीलाई झुक्याएर सदस्यता लिएको, पार्टीमा असन्तुष्ट र चुनाव हारेकालाई भेला गरेको तथा आवश्यकै नभएको सम्पर्क कार्यालय खोलेको भन्दै ओलीले विद्याको नियतमा गम्भीर आशंका गरेका छन् । ओली–विद्याबिच केही समययता वाक्युद्ध जारी छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार आयोजित कार्यक्रममा ओलीले पार्टीका असन्तुष्ट र चुनाव हारेकालाई भेला पारेर पूर्वराष्ट्रपति विद्याले आफूलाई अप्ठ्यारो पार्न खोजेको बताए । साथै, ओलीले पार्टी र जनवर्गीय संगठनभित्र आन्तरिक प्रतिस्पर्धामा हार्ने र जिम्मेवारी नपाएर असन्तुष्टि पोख्ने जो–कोही नेता–कार्यकर्तालाई स्थान नरहेको स्पष्ट सन्देशसमेत दिए ।

बिहीबार विद्याले बानेश्वरस्थित थापागाउँमा सम्पर्क कार्यालय उद्घाटन गरेर ओली जबजको नीतिअनुसार पार्टीलाई नेतृत्व गर्न असफल भएकाले नेतृत्व लिन आफू अग्रसर भएको सन्देश दिएकी थिइन् । साथै, उनले एमालेभित्र लोकतन्त्र निम्छरो अवस्थामा पुगेको आरोप लगाउँदै सबैखाले विकृति–विसंगतिविरुद्ध संघर्ष गर्ने बताएकी थिइन् । विद्याको सोही सम्बोधनलाई लक्षित गर्दै अध्यक्ष ओलीले शुक्रबार कठोर र आक्रोशयुक्त जवाफ फर्काएका हुन् ।

‘उहाँलाई दुईपटक पार्टीले राष्ट्रपति बनायो, फर्केर आएर पार्टीमा समस्या खडा गर्नुहुन्छ भन्ने कुरा कल्पना गरेको थिएन । उहाँ आएर पार्टीमा सहयोग गरेर एकतामा बल पुर्‍याउनुपर्ने हो । तर, पार्टीभित्र सधैँ असन्तुष्ट भएका, पार्टीका पक्षमा कहिल्यै नबोल्ने र पार्टी–जनसंगठनमा चुनाव–सुनाव हारेका असन्तुष्ट मान्छेहरू भेला गर्दै हिँड्नुभएको छ,’ विद्यालाई लक्षित गर्दै ओलीले भने ।

उनले मदन जयन्तीका नाममा कार्यालय स्थापना गर्ने विद्याको कामको पनि आलोचना गरे । ‘अर्को वर्ष आउने मदन भण्डारीको जन्मदिन मनाउनका लागि अहिलेदेखि नै पार्टी कार्यालय खोल्नुपर्छ ? अर्को वर्षको जन्मदिन मनाउन अहिले नै कार्यालय खोलेर, पार्टीविरुद्ध भित्रभित्र क्रियाशील भएर र असन्तुष्ट तत्वहरूलाई भेला गरेर हुन्छ ? उहाँहरूको यो तरिका ठिक छैन,’ ओलीले भने । यद्यपि, ठुलो आन्दोलन (एमालेमा)भित्र कहिलेकाहीँ असन्तुष्टिको स्वर सुनिनु स्वाभाविक भएको ओलीको तर्क थियो ।

एमालेले भण्डारीको सदस्यता नखोसेको दाबी गर्दै ओलीले कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा नवीकरण हुन नसक्ने बताए । ओलीले भने, ‘राष्ट्रपति हुने वेला उहाँले सदस्यता परित्याग गर्नुभएको हो । सदस्यता छोडेर नै राष्ट्रपति हुन जानुभएको हो । फर्किएर आएपछि रसिद काट्ने ठाउँमा कर्मचारीलाई झुक्याएर उहाँले रसिद लिनुभयो । राष्ट्रपति भएको मान्छे होला भनेर कर्मचारीले त काटिदिन्छ । त्यसरी लिने होइन । तपाईंहरू सबैलाई थाहा छ– छाडेको सदस्यता नवीकरण हुँदैन । भइरहेको सदस्यता मात्र नवीकरण हुन्छ । कसैको सदस्यता छैन भने नवीकरण हुन्छ र?’

ओलीका अनुसार विद्याले १३ कात्तिक ०७२ मा पार्टी सदस्यता त्यागेको थिइन् । राष्ट्रपति निर्वाचित भएपछि भण्डारीले पार्टीको जिम्मेवारीबाट मात्र अलग भएको भन्दै प्रेस विज्ञप्ति जारी गरेकी थिइन् । सदस्यता त्याग नगरेको र तत्कालका लागि पार्टीले दिएको जिम्मेवारी पूरा गर्न तत्कालीन जिम्मेवारीहरूबाट अलग भएर तटस्थ मात्र भएको भण्डारीले बताउँदै आएकी छिन् । उनले त्यतिवेला जारी गरेको विज्ञप्तिमा पनि जिम्मेवारीबाट अलग भएको विषय उल्लेख छ ।

ओलीले सदस्यता खोसिएको भ्रम नपाल्न आग्रह पनि गरे । ‘अहिले पार्टीभित्र अलिअलि तपाईंहरूले पनि च्यासलले कहाँ कसको सदस्यता खाइदियो, कसको सदस्यता सिद्यायो भन्ने सुनिरहनुभएको होला । यो च्यासलले कसैको सदस्यता खोसेको छैन, खोस्नुपर्ने आवश्यकता पनि छैन । र, पूर्वराष्ट्रपतिजीको बारेमा तपाईंहरूलाई पनि भ्रम नपरोस्–उहाँको सदस्यता पार्टीले खोसेको होइन,’ ओलीले भने । 

भंगालनिवासमा विद्याले गरिन् महिला नेतृहरूको जमघट 

अध्यक्ष ओलीसँग दूरी बढिरहेकै वेला शुक्रबार पूर्वराष्ट्रपति विद्या भण्डारीले निजी निवास भंगालमा पार्टीसम्बद्ध करिब दुई सय महिला नेतृहरूको जमघट गरेकी छिन् । तिज पर्वको अवसर पारेर उनले महिला नेतृहरूलाई दर खुवाउन आमन्त्रण गरेकी थिइन् ।

त्यही क्रममा पार्टीसम्बद्ध महिला नेतृहरू निमन्त्रणा स्विकार्दै भेला भएका हुन् । भण्डारीका स्वकीय सचिव राजकुमार राईका अनुसार काठमाडौंमा उपलब्ध एमाले स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्य, जनप्रतिनिधिसहित करिब दुई सय महिला नेतृहरू दर खाने कार्यक्रममा सहभागी भएका थिए । राष्ट्रपति भएको पहिलो वर्षदेखि सुरु भएको दर खुवाउने कार्यक्रमलाई विद्याले निरन्तरता दिएकी हुन् ।