
सामसङले आफ्नो प्रमुख सिएसआर पहल ‘सामसङ इनोभेसन क्याम्पस’अन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याच सफलतापूर्वक पूरा गरेका त्रिभुवन विश्वविद्यालयअन्तर्गत पुल्चोक इन्जिनियरिङ क्याम्पसका ५६ विद्यार्थीलाई प्रमाणपत्र वितरण गरेको छ।
त्रिभुवन विश्वविद्यालयका कुलपति प्रा.डा. दीपक अर्याल, पुल्चोक क्याम्पस प्रमुख डा. सञ्जय उप्रेती र इन्जिनियरिङ अध्ययन संस्थाका डिन प्रा.डा. सुशील बी. बज्राचार्यको उपस्थितिमा विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो।
सामसङ नेपाल कार्यालयका मानवस्रोत प्रबन्धक, जयन्तमणि कायस्थले भने, ‘सामसङ इनोभेसन क्याम्पसले नेपाली युवाहरूलाई भविष्यमुखी सिपहरूले सशक्त बनाउँदै आएको छ। त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा हामी एआई, बिग डेटा र आइओटीको तालिमलाई अझ बलियो बनाउने र विद्यार्थीहरूलाई भविष्यको रोजगारीको लागि तयार गर्न लक्ष्य राखेका छौँ।’
डिसेम्बर २०२२ मा त्रिभुवन विश्वविद्यालयमा सुरु भएको सामसङ इनोभेसन क्याम्पसले नेपाली युवाहरूलाई एआई, आइओटी, बिग डेटा र कोडिङ र प्रोग्रामिङमा तालिम दिई एक बलियो प्रविधि र नवीनताको इकोसिस्टम निर्माणमा योगदान दिइरहेको छ। एल्गोरिदम, डाटा स्ट्रक्चर र प्रोग्रामिङको ज्ञानको आधारमा विद्यार्थीहरूको छनोट गरिन्छ।
इन्जिनियरिङ अध्ययन संस्थानका डिन, प्रा.डा. बज्राचार्यले भने, ‘नेपालमा यो प्रतिष्ठित कार्यक्रम सञ्चालन गर्न सामसङसँग सहकार्य गर्न पाउँदा हामी गर्वित छौँ। कोडिङ र प्रोग्रामिङ कोर्सलाई धेरै सराहना मिलेको छ र हामी हाम्रा विद्यार्थीहरूको लागि भविष्यको प्रविधि सिकाइको दायरा अझ विस्तार गर्न चाहन्छौँ।’
यस कार्यक्रममा प्राविधिक सिपको साथै रोजगारी योग्यता, समस्या समाधान र सिर्जनात्मकताजस्ता सफ्ट स्किलको पनि तालिम दिइन्छ। साथै, विद्यार्थीहरूले एआई, बिग डेटा, कोडिङ र प्रोग्रामिङ तथा आइओटी प्रविधिहरू प्रयोग गरी सामाजिक महत्त्वका परियोजनाहरूमा पनि काम गर्छन्।
यसका साथै, अब नयाँ ब्याचको एआई र बिग डेटाको तालिम सुरु हुने बताइएको छ।