
नवलपुरको कावासोतीमा नेटवर्किङ बिजनेसको नाममा ठगीधन्दा बढेको पाइएको छ। कावासोतीमा रहेको शाखा कार्यालय स्थापना गरी युनिभर्सल इन्टरपेनर्स प्रालिको नाममा ठगी गरेको पाइएको नवलपुर प्रहरीले जनाएको छ। ठगी गर्ने पाँचजना नवलपुरको कावासोतीबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए।
पक्राउ पर्नेमा मध्यविन्दु नगरपालिका– ८, चोरमारानिवासी २९ वर्षीय समर्पित पाण्डे, कावासोती– ८ निवासी ३२ वर्षीय जनक देवकोटा, बौदीकाली– १ घर भई कावासोती– ३ मध्यविन्दुटोल निवासी २५ वर्षीय सन्तोष कार्की, कावासोती– १, रिठ्ठेपानी निवासी २४ वर्षीया मनीषा थापामगर र कावासोती– ५ निवासी २३ वर्षीय हरिप्रसाद भुर्तेल रहेका छन्।
कावासाती नगरपालिका– ८ मा रहेको युनिभर्सल इन्टरपेनर्स प्रालि शाखा कार्यालयमा कार्यरत कर्मचारीहरूले विभिन्न व्यक्तिहरूलाई नेटवर्किङ बिजनेसमार्फत प्रशस्त पैसा कमाउन सकिन्छ भन्ने झुटो प्रलोभन देखाउने पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूले विगत दुई वर्षदेखि कावासोती– ८ मा कार्यालय नै स्थापना गरेर बसेको पाइएको उनले बताए । उनका अनुसार अहिलेसम्म चारजनाले मात्र लिखित जाहेरी दिए पनि ठगिएका आठजना प्रहरीको सम्पर्कमा आएकाका छन् भने नवलपुर जिल्लाभित्रकै मात्रै २५ जनाभन्दा बढीलाई ठगी गरेको पाइएको छ ।
प्रहरीका अनुसार उनीहरूले १८ वर्षमुनिका किशोरकिशोरी समूहलाई बढी प्रलोभनमा पार्ने गरेको पाइएको छ। तीमध्ये किशोरी बढी रहेका छन् । घिमिरेका अनुसार उनीहरूले अनलाइन बिजनेस गर्न सिकाउने बहानामा सुरुमा थोरै–थोरै रकम लिने र पछि लगानी गर्नुपर्छ भन्दै धेरै–धेरै रकम उठाउने गरेको पाइएको छ ।
एकजनासँग एक लाख ८० हजारसम्म ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । अहिलेसम्म जाहेरी आएका चाजनालाई चार लाखभन्दा बढी ठगेको पाइएको उनले बताए ।
उनीहरूले काम पनि लगाइदिने भनी रकम लिएर पनि काम नलगाइदिने तथा विभिन्न कम्पनीबाट उत्पादन गरिएका सामानहरू खरिदको रकम हाल्न लगाउने, सामान नदिने र रकम फिर्ता माग्दासमेत फिर्ता नदिएको भनी पीडितहरूले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएकाे हो । उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरी ठगीसम्बन्धी कसुरमा नवलपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक घिमिरेले बताए ।
उनीहरूले सुरुसुरुमा सामाजिक सञ्जालमार्फत आकर्षक आम्दानीको बहानामा किशोरकिशोरीलाई सम्पर्कमा ल्याउने र बिस्तारै ठुलो रकम ठग्ने गरेको पाइएको हो ।