
ब्राजिलियन गोलरक्षक फाबियो डेभसन लोपेसले विश्व फुटबलमा धेरै खेल खेल्ने विश्वकीर्तिमान बनाएका छन् । गोलरक्षक फाबियोले इंग्ल्यान्डका पूर्वगोलरक्षक पिटर सिल्टनको कीर्तिमान तोडेका हुन् । गोलरक्षक फाबियोले कोपा सुडामेरिका फुटबल प्रतियोगिताअन्तर्गत बुधबार कोलम्बियन प्रतिद्वन्द्वी डे कालीविरुद्धको खेलमा रेकर्ड बनाएका हुन् । ब्राजिलियन क्लब फ्लुमिनेन्सबाट प्रतिस्पर्धा गरेका उनले अहिलेसम्म एक हजार ३९१ खेल खेलेका छन् ।
७५ वर्षीय सिल्टनले क्लबस्तरीय करिअरमा एक हजार २४९ खेल खेलेका थिए । उनले इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट १२५ अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गरेका थिए । सिल्टनले इंग्ल्यान्डको यू–२३ टोलीबाट १३ पटक प्रतिस्पर्धा गरेको एजेन्सीले जनाएको छ ।
४४ वर्षीय फाबियो सन् २०२२ देखि फ्लुमिनेन्समा आबद्ध छन् । सिल्टनले ग्रिनिज बुक अफ रेकर्डस्मा एक हजार ३९० खेलको रेकर्ड राखेका थिए ।
अब यो कीर्तिमान फाबियोको नाममा रहनछे । फ्लुमिनेन्सबाट उनले २३५ खेलमा प्रतिस्पर्धा गर्दा एकपटक मात्र ब्राजिलको राष्ट्रिय फुटबल टोलीबाट अवसर पाएका थिए । उनले सन् १९९७ मा व्यावसायिक खेलमा ‘डेब्यु’ गरेका हुन् । उनले अहिलेसम्म ब्राजिलका विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् । उनले लामो समय ब्राजिलियन क्लब क्रुजेइरोबाट खेलेका थिए । फाबियोले सन् २००५ देखि २०२२ सम्म क्रुजेइरोबाट खेले । यस क्लबबाट उनले ९७६ खेल खेलेको रेकर्ड छ । ब्राजिलकै बलियो क्लब भास्को डी गामाबाट फाबियोले १५० खेलमा प्रतिस्पर्धा गरेका छन् । उनले उमेर समूहको राष्ट्रिय टोलीबाट थुप्रै खेल खेलेका छन् । सन् १९९७ मा उनले ब्राजिलको उमेर समूहबाट प्रतिस्पर्धा गर्दै यू–१९ विश्वकप उपाधि जितेका थिए ।
रोनाल्डिन्होसँगै फुटबल खेलेका फाबियो
ब्राजिलको फुटबल इतिहासमा रोनाल्डिन्होको विशेष स्थान छ । सन् २००० ताका ब्राजिलले पाएका उत्कृष्ट युवा खेलाडीमध्ये उनी पनि थिए । फाबियोले रोनाल्डोसँगै सन् १९९७ मा यू–१७ को राष्ट्रिय टोलीबाट प्रतिस्पर्धा गरेका थिए । रोनाल्डिन्होले धेरै अगाडि फुटबलबाट सन्न्यास लिएका थिए । तर, फाबियो अझै सक्रिय रूपमा मैदानमा छन् । सन् २०२४ मा उनले पाँच हजार ८५० मिनेट मैदानमा बिताएका थिए ।