मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 17 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३९:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

निजी ऊर्जा उत्पादकलाई पेलेर प्राधिकरणले बहादुरी देखायो : इप्पान उपाध्यक्ष डाँगी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३९:oo

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले निजी क्षेत्रलाई अफ्ठ्यारो पारेर बहादुरी नदेखाउन नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेका छन्। आइतबार विद्युत् प्राधिकरणको ४०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष डाँगीले यस्तो बताएका हुन्।

‘विद्युत् प्राधिकरण र इप्पान मिलेर देशलाई समृद्धिको मार्गमा लैजान योगदान गरी इतिहास रच्ने सुनौलो अवसर पाएको समयमा एक मात्र विद्युत् खरिदकर्ता र वितरणकर्ताको हैसियतमा प्राधिकरण खपत वृद्धि, निर्यात वृद्धि र उत्पादन वृद्धिमा लाग्नुपर्ने हो,’ डाँगीले भने, ‘तर विडम्बना विद्युत् प्राधिकरणको ध्यान विद्युत् उत्पादन कसरी रोक्ने, पिपिए कसरी नगर्ने, आरसिओडीको म्याद कसरी नथप्ने, उत्पादन भएको विद्युत् कसरी नलिने, कन्टिजेन्सी कायम कसरी राख्ने र समग्रमा ऊर्जा उद्यमीहरूलाई कसरी पेलेर बहादुरी देखाउने भन्नेमा रहेको देखिन्छ। यो सोचमा परिवर्तन हुनु जरुरी छ।’

ऊर्जा आयोजनामा सानाठुला लगानीकर्ताहरू गरी करिब ६५ लाख लगानीकर्ता आबद्ध भइसकेकाले ऊर्जा क्षेत्र र सेयर बजारका नीति नियमहरू परिवर्तन गर्दा यी ६५ लाख लगानीकर्ता मात्रै नभएर भोटरहरू पनि हुन भन्ने कुरा सबै राजनीतिक दलहरूले बुझ्नुपर्ने वेला आइसकेको उनको भनाइ छ।

नेपाली भएका नाताले हामी सबैको पहिलो उद्देश्य नेपालकै हितमा हुनुपर्ने भन्दै डाँगीले एकअर्कालाई असहयोग गरेर बहादुरी प्रदर्शन गर्न समय खर्च नगरी उक्त समय देशभित्र खपत बढाउन, प्रसारण लाइन बनाउन, विद्युत् उत्पादन बढाउन र निर्यात बढाउन खर्च गरी भावी सन्ततिलाई सुन्दर र समृद्ध नेपाल हस्तान्तरण गर्न लाग्नुपर्ने बताए।

गत आर्थिक वर्षबाट नेपाल खुद विद्युत् निर्यातकर्ता देश बनेको र ७५३ स्थानीय तहमध्ये ७३४ स्थानीय तह अर्थात् ९७.५ प्रतिशत पालिकामा विद्युतको पहुँच पुर्‍याउन प्राधिकरणको जतिकै योगदान निजी क्षेत्रले उत्पादनमा पुर्‍याएको डाँगीको भनाइ छ।

‘२०५५ सालमा विद्युत् खरिद-बिक्री दर (पिपिए) फाइनल भएपछिका २५ वर्षमा तत्कालीन अवस्थामा २५४ मेगावाट उत्पादन रहेको अवस्थाबाट अहिले ३६०० मेगावाट पुर्‍याउँदै खुद निर्यातकर्ता देश बन्न होस वा ७३४ स्थानीय तहमा विद्युत् पहुँच पुर्‍याउन होस, निजी क्षेत्रको योगदान महत्त्वपूर्ण छ, डाँगीले भने।