मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 17 August, 2025
रिसेप तैड्ढयप एर्दोगान
Invalid date format १o:५५:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

गाजामा भइरहेको छ मानवताको परीक्षण

Read Time : > 2 मिनेट
रिसेप तैड्ढयप एर्दोगान
नयाँ पत्रिका
Invalid date format १o:५५:oo

गाजासँग समय नभएकाले अन्तर्राष्ट्रिय समुदायले विश्व चेतनाको आवाज सुन्नैपर्छ र तुरुन्तै पहलकदमी लिनैपर्छ

जापट्टीमा देखिएको मानवीय त्रासदीलाई सानो भूभागमा सीमित द्वन्द्वका रूपमा नभई मानवताको सामूहिक चेतनालाई दिनानुदिन चोटिल पार्ने गम्भीर विपत्तिका रूपमा बुझिनुपर्छ । महिनौँदेखि इजरायलले गरिरहेको बमबारीमा महिला, बालबालिका र वृद्धवृद्धा मारिएका छन्, सहर बस्न अयोग्य बनेका छन् । घर, अस्पताल, विद्यालय र धार्मिकस्थल भग्नावशेषमा परिणत छन् भने खाद्यान्न, पानी, स्वास्थ्य सेवा र विद्युत्जस्ता आधारभूत सुविधा ध्वस्त छन् । भोक, तिर्खा र महामारीको खतराले गाजालाई पूर्ण मानवीय पतनतर्फ धकेलिरहेको छ । हालसम्म ६१ हजारभन्दा बढी प्यालेस्टिनी (अधिकांश महिला र बालबालिका) मारिएका छन् । वास्तवमा यो दृश्य योजनाबद्ध जनउन्मूलन नीतिको कठोर प्रमाण हो ।

यस्तो अवस्थामा अन्तर्राष्ट्रिय समुदायको मौनता वा कमजोर प्रतिक्रियाले पीडालाई गहिरो बनाउँदै दमनलाई निरन्तरता दिइरहेको छ । अन्य संकटमा तुरुन्त सक्रिय हुने पश्चिमा मुलुकको दोहोरो मापदण्डले अन्तर्राष्ट्रिय व्यवस्थाको विश्वसनीयता कमजोर बनाएको छ । युक्रेन संकटमा देखिएको संवेदनशीलता गाजामा पनि देखाइएको भए, आजको परिदृश्य पूर्णत: फरक हुने थियो । कुनै पनि प्रतिबन्धको भयविना इजरायलले गरिरहेका क्रियाकलापले अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारका मान्यताको क्षयलाई तीव्र बनाएको छ । गाजाको संकट अन्तर्राष्ट्रिय समुदाय आधारभूत मानवीय मूल्यको रक्षा गर्न इच्छुक र सक्षम छ कि छैन भन्ने कठोर प्रश्न बनेर उभिएको छ ।

सुरुदेखि नै तुर्किए (टर्कीको परिवर्तित नाम) ले गाजामा भइरहेका अत्याचार र बिग्रँदो मानवीय संकट अन्त्य गर्न दृढ र सैद्धान्तिक अडान देखाउँदै आएको छ । हाम्रो डिजास्टर एन्ड इमर्जेन्सी म्यानेजमेन्ट प्रेसिडेन्सी (एफाड), रेड क्रसेन्ट र नागरिक समाज संगठन सक्रिय छन् । अवरोधका बाबजुद नजिकका राष्ट्रको सहयोगमा खाद्यान्न, औषधि र स्वास्थ्य सामग्री गाजामा पुर्‍याइँदै छ, घाइतेलाई उद्धार गरी तुर्किएमा उपचार गरिँदै छ । यी प्रयासले तत्काल आवश्यकतापूर्तिसँगै गाजावासीलाई उनीहरू एक्ला छैनन् भन्ने सन्देश पनि दिएको छ । कूटनीतिक मोर्चामा राष्ट्र संघ र इस्लामिक सहयोग संगठनमार्फत युद्धविरामका लागि हाम्रो आह्वान जारी छ र हामी प्यालेस्टिनी समूहबिचको मध्यस्थताका लागि पनि अघि बढिरहेका छौँ ।

२५ जुनमा द हेगमा सम्पन्न नेटो शिखर सम्मेलनमा मैले ‘गाजासँग समय छैन’ भन्दै नाजुक युद्धविरामलाई स्थायी शान्तिमा बदल्नुपर्नेमा जोड दिएको थिएँ । मैले इजरायलका आक्रमण र सामूहिक सजायको नीतिले अन्तर्राष्ट्रिय कानुनको बेवास्ता गरिएकाले यसलाई नरसंहारका रूपमा परिभाषित गरेको छु । हामी विशेषत: कतारसँग मानवीय पहुँच, युद्धविराम वार्ता र पुनर्निर्माणका विषयमा नजिकबाट काम गरिरहेका छौँ । यस क्षेत्रमा कतारले खेलेको अग्रणी भूमिकाको हामी उच्च मूल्यांकन गर्छौं । गाजामा भइरहेको हिंसा केवल प्यालेस्टिनी जनताका लागि मात्र होइन, सम्पूर्ण क्षेत्रको स्थायित्वलाई नै खतरा हो । इजरायल–इरान तनावले पूर्वी भूमध्यसागरदेखि खाडीसम्मको सुरक्षा सन्तुलन भंग गर्ने सम्भावना बढाएको छ । संकट चर्किंदै जाँदा विस्थापन, चरमपन्थीकरण र ऊर्जा सुरक्षामा खतरा उत्पन्न भएको छ । त्यसैले गाजाको प्रश्न केवल मानवीय संकट मात्र नभई विश्व शान्ति र सुरक्षाको रणनीतिक विषय हो ।

समाधान स्पष्ट छ, तुरुन्त युद्धविराम घोषणा भई सबै आक्रमण नि:सर्त रोकिनुपर्छ । खाद्यान्न, पानी र औषधि सहजै पुर्‍याउन मानवीय मार्ग खोलिनुपर्छ र नागरिक सुरक्षाका लागि अन्तर्राष्ट्रिय संयन्त्र स्थापना गर्नुपर्छ । तुर्किए यस प्रक्रियामा सक्रिय भूमिका खेल्न तयार छ । युद्ध अपराध र मानव अधिकार उल्लंघनको छानबिन अन्तर्राष्ट्रिय अपराध अदालत (आइसिसी) र अन्तर्राष्ट्रिय न्यायालय (आइसिजे)मार्फत गरी दोषीलाई कानुनी कठघरामा उभ्याइनुपर्छ । गाजाको पुनर्निर्माण केवल भौतिक संरचनामा सीमित नभई शिक्षा, स्वास्थ्य, पूर्वाधार, आर्थिक विकास र राजनीतिक अधिकार सुनिश्चित गर्ने प्रक्रियामा रूपान्तरित हुनुपर्छ । यो कार्य स्थानीय जनताको सहभागिता र राष्ट्र संघ तथा क्षेत्रीय संगठनको निगरानीमा सम्पन्न हुनुपर्छ । दीर्घकालीन शान्तिको आधार स्वतन्त्र र सार्वभौम प्यालेस्टाइन राज्यको मान्यता हो, जसको भौगोलिक अखण्डता सुरक्षित रहोस् । दुई–राज्यीय समाधान नै शान्ति र स्थिरताका लागि एक मात्र उपाय हो ।

गाजाका अत्याचार हेर्दा युद्धले सत्य खोज्नेलाई पनि निसाना बनाउँछ भन्ने फेरि देखाएको छ । पछिल्ला महिनामा थुप्रै पत्रकार आफ्नो कर्तव्य पालनकै कारण मारिएका छन् । विशेषत: अलजजिराले व्यहोरेको क्षति प्रेस स्वतन्त्रता र सूचना अधिकारमाथि भएको क्रूर आक्रमण हो । युद्धको झुट र प्रोपगान्डा भत्काउन प्रयत्न गर्ने साहसी पत्रकारको मृत्यु हामी सबैका लागि गहिरो क्षति हो । म दिवंगतका परिवार, सहकर्मी र सञ्चारकर्मी समुदायप्रति हार्दिक समवेदना प्रकट गर्छु । 

प्यालेस्टाइन र गाजाको मुद्दा सम्पूर्ण मानवताका लागि साझा परीक्षा हो । विश्वले बोस्निया र रुवान्डाको त्रासदीतर्फ आँखा चिम्लिँदा मानवीय गरिमाले चुकाउनुपरेको भारी मूल्य हामीले कहिल्यै बिर्सनुहुँदैन । यही कारणले गर्दा गाजाप्रतिको अडान नै तुर्किएको नैतिक दायित्व र रणनीतिक आवश्यकता दुवै हो । मानवीय कूटनीतिमा विश्वास गर्ने सबै पक्षसँग, विशेषत: कतारसँग, हामी स्थायी, न्यायपूर्ण र गरिमापूर्ण शान्तितर्फका प्रयास निरन्तर अघि बढाउनेछौँ । शान्ति एक अपरिहार्य लक्ष्य हो । शान्ति प्राप्तिका लागि हामी हरेक सम्भव प्रयास गर्नेछौँ र हाम्रो अडानमा निरन्तर रहनेछौँ ।

इतिहासले गाजामा भएको क्रूरताविरुद्ध कदम चाल्नेलाई र मौन बसेर पन्छिनेलाई पनि सम्झिरहनेछ । गाजासँग समय छैन र अन्तर्राष्ट्रिय समुदायले विश्व चेतनाको आवाज सुनेर तुरुन्तै पहलकदमी लिनैपर्छ । आज हामीले चाल्ने साहसी कदमले नै मानवताको भविष्यलाई आकार दिनेछन् ।

(एर्दोगान तुर्किएका राष्ट्रपति हुन्) 
अल जजिराबाट