
राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका झापा उपाध्यक्ष भुवन ढकालले दमक नगरपालिकाको संरचना प्रयोग गरेबापतको भाडा तिरेका छैनन् । ढकालले दमक– ७ स्थित पशुहाट परिसरमा रहेको नगरपालिकाको दुईतले पक्की भवनमा होटेल सञ्चालन गरेका थिए । नगर प्रमुख रामकुमार थापानिकट ढकालले नगरपालिकाको भवन प्रयोग गरेर होटेल सञ्चालन गरेबापत चार लाख ७६ हजार रुपैयाँ भाडा नतिरेका हुन् ।
१ फागुन ०८० मा नगरपालिकाको संरचनामा आनन्द होटेल सञ्चालन गर्ने भनेर ढकालले श्रीमती अम्बिकादेवी पाठकको नाममा नगरपालिकासँग सम्झौता गरेका थिए । सम्झौताअनुसार पहिलो र दोस्रो वर्ष चार लाख आठ हजार पाँच सय रुपैयाँ, तेस्रो वर्ष चार लाख ४९ हजार ३५० रुपैयाँ र प्रत्येक दुई वर्षमा १० प्रतिशत भाडा बढ्ने सर्त थियो । त्यति मात्र होइन, उनले भाडामा लिएपछि नगरपालिकाले दुईतले भवनमा मर्मतसम्भारका लागि नौ लाख ५१ हजार ४२ रुपैयाँसमेत खर्च गरिसकेको छ । ढकालले भने भाडासमेत तिर्न अटेर गरिरहेका छन् । सम्झौताअनुसार उनले ०८३ माघ मसान्तसम्म त्यहाँ होटेल सञ्चालन गर्न पाउने थिए । तर, समयमा भाडा नतिरेपछि दमक नगरपालिकाले १ साउनबाट उनीसँगको सम्झौता रद्द गरिसकेको छ ।
सम्झौताअनुसारको रकम तिर्न पटक–पटक ताकेता गरेर पत्र लेख्दा पनि ढकालले सम्झौताबापतको रकम नतिरेको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले बताए । भाडाबापतको पैसा नतिरेपछि गत असार अन्तिमबाट सम्झौता रद्द गर्ने कार्यपालिकाले निर्णय गरेको उनले बताए । ‘हामीले पाँच–सातवटा पत्र काटेका छौँ । तर, उहाँले भाडा तिर्न अटेर गर्नुभयो । अहिलेसम्म बाँकी रहेको रकम आएको छैन,’ उनले भने, ‘साउन १ गतेदेखि हामीले सम्झौता रद्द गरेका छौँ । उक्त संरचना हामीले नै जिम्मा लिने निर्णय भएको छ । उहाँले भाडा तिर्ने विषयमा लिखित जवाफ दिनुभएको छैन । तर, मौखिकचाहिँ तिर्ने भन्नुभएको छ ।’
ढकालकी श्रीमती अम्बिकादेवीले ११ जेठमा दमक नगरपालिकाले संरचना मर्मत नगरिदिँदा बर्खामा पानी जम्ने, ग्रिल नभएको, झ्याल नलागेको भन्दै सञ्चालनमा कठिनाइ भएको पत्र लेखेकी थिइन् । ढकाल र दमक नगर प्रमुख थापा राप्रपामा छन् । थापा राप्रपा कोशी प्रदेश अध्यक्ष र ढकाल युवक संगठन झापाका उपाध्यक्ष हुन् । स्रोतका अनुसार मेयर थापाको फेसबुक पेज ‘राम थापा मेयर, दमक’ ढकालले नै चलाउने गरेका छन् ।
ढकालले नगरपालिकाले असहयोग गर्दा होटेल सञ्चालन गर्न नसकिएको बताए । उनले सरकारी संरचनामा सञ्चालन भएको होटेलमा दमक नगरपालिकाले कार्यक्रम नगरी बाहिरका अन्य होटेलमा गर्दा होटल सञ्चालनसमेत हुन नसकेको बताए । अहिले अप्ठ्यारो अवस्था भएका कारण भाडा तिर्न नसकिएको उनको भनाइ छ ।
‘मैले गत पुसमै होटेल बन्द गरेको छु । होटेल सञ्चालन गर्न नसक्दा भाडा तिर्न कठिनाइ भयो,’ ढकालले भने, ‘अहिले दिन सक्ने अवस्था छैन । दमक नगरपालिकाले त्यहाँ रहेको सामानबाट असुल्ने भनेर मलाई पत्र पठाएको छ । मैले चाबी जिम्मा लगाइसकेको छु ।’ दमक नगर प्रमुख थापाले भने ढकालबाट भाडाबापतको रकम असुलउपर गरिने बताए ।