मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 15 August, 2025
Invalid date format १४:३९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णालीका २१३ युवालाई मौरी व्यवसाय तालिम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३९:oo

कर्णाली प्रदेशका २१३ जना युवाहरूलाई मौरी व्यवसायसम्बन्धी तालिम प्रदान गरिएको छ । इन इलम परियोजना हेल्भेटास नेपालको सहयोगमा नेपाल मौरीपालक महासंघ कर्णाली प्रदेश सुर्खेतले उक्त तालिम प्रदान गरेको हो । मौरीपालनको सम्भावना रहेको कर्णाली प्रदेशका जाजरकोट, दैलेख र सुर्खेतका युवालाई मौरी बिमा लेख तथा उद्यमशीलता विकास तथा व्यावसायिक योजना निर्माण तालिम प्रदान गरिएको महासंघका संयोजक खगेन्द्र भण्डारीले बताए । ‘मौरी व्यवसायको संरक्षण तथा व्यवसायमा जोखिम कम गर्न मौरीपालन व्यवसायको बिमा गर्ने योजना रहेको छ,’ उनले भने, ‘तीनवटै जिल्लाका एक हजार मौरीका गोलाको बिमा गर्ने योजना रहेको छ ।’

तालिमका सहभागीहरूले मौरी व्यवसायमा आफ्नो महको लागतबारे समेत जानकारी प्राप्त गरेका छन् । उद्यमशीलता तालिममार्फत मौरीपालक उद्यमीले आफ्नो व्यवसाय कस्तो अवस्था छ र अब कसरी अगाडि बढाउने विषयमा जानकारी पाएका छन् । 

उनीहरूले उद्यम व्यवसाय गर्दा हुने जोखिम तथा जोखिम कम गर्ने उपायबारे समेत जानकारी प्राप्त गरेका छन् । व्यावसायिक योजनामार्फत मौरीपालनमा हुने लगानी र त्यसबाट हुने प्रतिफल तथा  लाभ लागतबारे जानकारी पाएर व्यवसायमा भएको नाफा–नोक्सानबारे जानकारी प्राप्त गरेको भण्डारीले बताए । 

मौरीपालन व्यवसाय अगाडि बढाउन तथा व्यवसायबाट फाइदा लिनका लागि व्यावसायिक योजना आवश्यक भएको तालिमकी सहभागी हिरा आचार्यले बताइन् । व्यवसाय सफल बनाउन व्यावसायिक योजना आवश्यक रहेको उनको भनाइ थियो ।

मौरीपालनका व्यवसाय विस्तारका लागि महत्त्वपूर्ण तालिम प्राप्त भएको सुर्खेत वीरेन्द्रनगर– ९ का सुरेन्द्र विसी बताए । ‘व्यवसाय गरेको भए पनि विनायोजनाको भएकाले खासै नाफा लिन सकेको थिइनँ,’ उनले भने, ‘तालिम प्राप्तपछि योजनाअनुसार व्यवसाय सञ्चालन गर्नेछु ।’ तालिममा सहभागीहरूले आफ्नो व्यवसायको व्यावसायिक  योजनासमेत तयार गरेका छन् ।

मौरीपालक किसानहरूको  व्यवसायको संरक्षणका लागि मौरी गोला बिमा गर्ने र क्षतिको दाबी प्रक्रियाबारे समेत उद्यमीहरूले जानकारी प्राप्त गरेका छन् । महको मूल्य निर्धारण तथा व्यवसायीको महको लागत निर्धारणका लागि तालिम आयोजना गरिएको सहभागीहरूले बताएका छन् ।