मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३० शुक्रबार
  • Friday, 15 August, 2025
२o८२ श्रावण ३० शुक्रबार १७:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुरमा खैरो हेरोइन र तीन लाखभन्दा बढी नगदसहित तीनजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ३० शुक्रबार १७:५४:oo

मकवानपुर प्रहरीले तीन ग्राम ९८० मिलिग्राम लागुऔषध खैरो हेरोइन र तीन लाखभन्दा बढी नगदसहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका– ४, भैरवरोड बस्ने ३० वर्षीय विवेक खड्का, २६ वर्षीय सुशान्त मैनाली र हेटौँडा– १० बस्ने ४२ वर्षीय सन्तोष कार्की रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार बिहान करिब ९ः३५ बजे हेटौँडा उपमहानगरपालिका– ४, नारायणी मलपछाडिको भित्री सडकमा लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बा.प्र. ०३–००६ प २६४५ नम्बरको स्कुटरमा सवार विवेक खड्का र सुशान्त मैनालीलाई पक्राउ गरेको थियो।

खानतलासी गर्दा उनीहरूको साथबाट एक ग्राम ७३० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। प्रारम्भिक सोधपुछका क्रममा विवेक खड्काको मिलनचोकस्थित घरमा थप लागुऔषध रहेको जानकारी पाएपछि प्रहरीले घरको कोठा खोल्दा दुई ग्राम २५० मिलिग्राम खैरो हेरोइन र नगद तीन लाख १७ हजार रुपैयाँ फेला पारेको हो।

सो क्रममा भाग्न खोजेका हेटौँडा– १० बस्ने ४२ वर्षीय सन्तोष कार्कीलाई समेत नियन्त्रणमा लिइएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए। पक्राउ परेका तीनैजनालाई जिल्ला अदालतबाट म्याद अनुमति लिएर लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।